प्रहरीले नियन्त्रणमा लिएको छैन

शिक्षकलाई लाग्यो छात्रा बलात्कारको आरोप

शिक्षकमाथि आफ्नै विद्यालयमा अध्ययनरत एक छात्रालाई बलात्कार गरी गर्भवती बनाएको आरोप लागेको छ । जिल्लाको दुर्गम सिगास गाउँपालिकाका शिक्षकले नै आफ्नै विद्यालयकी छात्रालाई बलात्कार गरेको आरोप लागेको हो । पीडित किशोरी बलात्कार भएपछि अर्कैसँग भागेर बिहे गरेको र छ महिनामै छोरी जन्मिएपछि बलात्कार गरेको कुरा बाहिर आएको हो ।

सिगासको एक विद्यालयमा कक्षा ८ मा अध्ययन गर्ने १७ वर्षीया ती छात्रालाई सोही विद्यालयमा पढाउने शिक्षकहरुले बलात्कार गरेको आरोप लागेको हो । ती छात्रामाथि पटकपटक बलात्कार गरेपछि भागेर बिहे गर्न बाध्य बनाएको छात्राका आफन्तले आरोप लगाएका छन् ।

छ महिनामै छोरी जन्मिएपछि किशोरीलाई घरका मानिसले सोधपुछ गर्दा आफूलाई ती व्यक्तिहरुले बलात्कार गरेको किशोरीले बताएको एक आफन्तले जानकारी दिए । उनले भने, ‘घटना पहिलेको भए पनि गाउँमै मिलाउने भन्दै धेरै प्रयास गरे । अहिले कुरा बाहिर आएको छ, अहिले पनि विभिन्न प्रकारका खेल भइरहेका छन् ।’

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले पीडित किशोरीलाई जिल्ला सदरमुकाममा ल्याउने तयारी भएको र किशोरीसँगको वयानपछि मात्रै घटनाका बारेमा थाहा हुने बताए । उनले भने, ‘यो कुरा बाहिर आइसकेपछि हामीले घटनालाई सूक्ष्मरूपमा अध्ययन गरिरहेका छौँ । सुरक्षाका लागि पनि किशोरीलाई हामी जिल्लामा ल्याउने तयारी गरेका छौँ । संलग्न भनिएका मान्छेको पनि खोजी गरिरहेका छौँ ।’ किशोरीलाई ललाइफकाई गरेर करणी भएको भए पनि कानूनअनुसार कारवाही हुने प्रहरी नायब उपरीक्षक अधिकारीले बताए ।

मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १८ मा १८ वर्षभन्दा कम उमेरका महिलालाई ललाइफकाई वा महिलाको मञ्जुरी लिएर करणी गरेमा समेत कानूनी कारबाही हुने उल्लेख छ । कानूनअनुसार १६ वर्ष वा सोभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिलामाथि करणी गरेमा १० देखि १२ वर्षसम्म कैद सजाय हुने उल्लेख छ ।

यद्यपि बलात्कारको आरोप लागेकाहरुलाई भने अहिलेसम्म प्रहरीले नियन्त्रणमा लिएको छैन । आरोप लागेकाहरुलाई हालसम्म पनि सोधपुछसमेत नगरेको बताइएको छ ।

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

नयाँ मिडिया

नयाँ मिडिया डट कम वाचडग मिडिया एण्ड डेप्थ रिपार्टिङ प्रालिद्वारा सञ्चालित नेपाली भाषाको मल्टिमिडिया समाचार पोर्टल हो। यस प्रालि द्वारा चाैविसै घण्टा लाइभ प्रसारण हुने नयाँ रेडियाे र नयाँ टिभी पनि सञ्चालनमा छन । साथै हाम्रा भिडियाे सामाग्रीहरू युट्युव च्यानल नयाँ मिडिया (Naya Media) मा पनि हेर्न सकिन्छ ।

View all articles by
मङ्ल, भदौ २३, २०७७ (September 8, 2020, 8:54 am) मा द्वारा अदालत / कानुन अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया