बंगलादेश एसिया कपको फाइनलमा प्रवेश गरेको छ । सुपर फोरअन्तर्गतको अन्तिम खेलमा पाकिस्तानलाई ३७ रनले पराजित गर्दै बंगलादेशले फाइनलमा भातसँगको भेट पक्का गरेको हो ।
बुधबार राति भएको खेलमा बंगलादेशले दिएको २४० रनको लक्ष्य पछ्याएको पाकिस्तानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २०२ रन मात्र बनाउन सक्यो । खराब सुरुवात गरेको पाकिस्तानका लागि मध्यक्रमका ब्याट्सम्यानले राम्रो प्रदर्शन गरे पनि पाकिस्तानले हार टार्न सकेन ।
इमान उल हकले सर्वाधिक ८३ रन जोडे । असिफ अली ३१ तथा सोएब मल्लिकले ३० रन बनाए । शाहिन शाह अफ्रिदीले १४ तथा सरफाज अहमदले १० रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन् । बंगलादेशका मुसफिजुर रहमानले ४ विकेट लिए भने हसन मिराजले २ विकेट लिए ।
यसअघि अबुधावीस्थित शेखजायद स्टेडियममा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेश ४८ ओभर ५ बलमा अल आउट हुँदै २३९ रन बनाउन सकेको थियो । उसका लागि मुसफिकर रहिम शतक बनाउनबाट १ रनले चुके । मोहम्मद मिथुनले ६० रन जोडे । ममुदुल्लाह २५ रनमा आउट भए । इमरुल कायेस ९, मेहन्दी हसन मिराज १२ र कप्तान मसरफी मुर्तजाले १३ रन बनाउन सके । जुनैद खानले ४ विकेट लिए । त्यस्तै, शाहिन शाह अफ्रिदी र हसन अलीले समान २ विकेट लिँदा सादव खानले १ विकेट लिएका थिए । बंगलादेशले अब उपाधिका लागि शुक्रबार भारतसँग फाइनल खेल खेल्नेछ ।