Kanoon Post
शुक्रबार, चैत्र १६, २०८०/ March 29, 2024,
शुक्रबार, चैत्र १६, २०८०

Trending :

No tags found.

१५ गतेदेखि सुपथ पसल, २१ गतेदेखि नयाँ नोट

दसैँ नजिकिएसँगै बजारमा चहलपहल बढेको छ । बसपार्कमा अग्रिम टिकट बुकिङ गर्नेहरुको घुईंचो बढ्दैछ ।

दसैँको लागि अग्रिम टिकट बुकिङ खुलेपछि सुपथ मूल्य पसल सञ्चालन गर्ने तयारी पनि भैरहेको छ । दसैँको बेला १० प्रतिशत गाडीभाडा बढाएको सरकारले खाद्यान्नमा भने छुट दिने बताएको छ ।

१५ गतेदेखि सुपथ मूल्य पसल

नेपाल खाद्य संस्थानले चाडपर्वलाई लक्षित गर्दै आउँदो १५ गतेदेखि सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ । १२ गतेदेखि सञ्चालन गर्ने भनिए पनि संस्थानको बुधबार बसेको बैठकले १५ गतेदेखि मात्रै सुपथ मूल्य पसल खुलाउने निर्णय गरेको हो ।

चाडपर्वमा उपभोक्तालाई दैनिक उपभोग्य वस्तुमा राहत दिन असोज १५ गतेदेखि कात्तिक २७ गतेसम्म यस्तो पसल सञ्चालन गरिने निर्णय भएको संस्थानका सूचना अधिकारी शंकर सापकोटाले जानकारी दिनुभयो ।

संस्थानले आफ्नो शाखा रामशाहपथ, थापाथली र नख्खुबाट दैनिक उपभोग्य सामग्री बिक्री वितरण गर्ने छ । बुधबार बसेको बैठकले संस्थानले बिक्री गर्ने खाद्यान्नको मूल्य समेत निर्धारण गरेको छ ।

संस्थानले सोना मन्सुली चामलमा प्रतिकिलो ५ रुपैयाँ छुट दिएर ४० रुपैयाँ प्रतिकिलो मूल्य निर्धाण गरेको छ ।

यस्तै जीरा मसिनो चामलमा पनि प्रतिकिलो ५ रुपैयाँ छुट दिएर ५५ रुपैयाँ, जापानी चामलमा प्रतिकिलो ५ रुपैयाँ छुट दिएर ७५ रुपैयाँ ७५ पैसा बनाइएको छ ।

यस्तै बास्मती चामलमा र गोरखनाथ चामलमा प्रतिकिलो १० रुपैयाँ छुट दिएर क्रमशः ८१ रुपैयाँ र ३८ रुपैयाँ कायम गरिएको छ । यस्तै संस्थानले जुम्ली सिमी र जुम्ली फापरमा पनि प्रतिकिलो १० रुपैयाँ छुट दिएर क्रमशः १ सय २० रुपैयाँ र ७० रुपैयाँ मूल्य निर्धारण गरेको छ ।

यस्तै साल्ट ट्रेडिङले पनि आफ्ना वस्तुमा छुट दिएको छ । साल्ट ट्रेडिङले नुनमा २ रुपैयाँ छुट गरेर प्रतिकिलो १८ रुपैयाँ, चिनीमा प्रतिकिलो ५ रुपैयाँ छुट दिने भएको छ ।

यस्तै दुग्ध विकास संस्थानले पनि आफ्ना उत्पादनमा छुट दिने भएको छ । दुग्ध संस्थानबाट उत्पादित घ्यूमा ५० रुपैयाँ छुट दिँदै ८ सय ५० रुपैयाँ प्रतिकिलो मूलय कायम गरिएको छ । यसअघि घ्यूको प्रतिकिलो मूल्य ९ सय रुपैयाँ थियो । यस्तै पनिरमा पनि १० रुपैयाँ छुट दिँदै ६ सय १० रुपैयाँ प्रतिकिलो मूल्य कायम गरिएको छ । बटर, दही, चिज, लस्सी, आइसक्रिमलगायतका उत्पादनमा पनि छुटको व्यवस्था गरिएको संस्थानले जनाएको छ ।

बुधबार बसेको बैठकले सहकारीमार्फत बिक्री वितरण गर्ने भनिए पनि सहकारीको छनौट भने गर्न नसकेको सापकोटाले बताउनुभयो ।

काठमाडौँ उपत्यकामा झण्डै १२ सहकारी संस्थालाई संस्थानबाट खाद्यान्न उपलब्ध गराई पसल सञ्चालनको जिम्मा दिइने तयारी भए पनि अझैसम्म छनोट भने भइनसकेको उहाँको भनाई छ ।

२१ गतेदेखि नयाँ नोट

नेपाल राष्ट्र बैंकले असोज २१ गतेदेखि नयाँ नोट साट्ने भएको छ । ५, १०, २० र ५० र एक सय दरका गरी प्रतिव्यक्ति २७ हजार रुपैयाँसम्म नोट साटिदिने राष्ट्र बैंकले जनाएको छ । बैंक तथा वित्तीय संस्थालाई भने राष्ट्र बैंकले बिहीबारदेखि नयाँ नोट वितरण गर्दै छ । बैंक तथा वित्तीय संस्थालाई पहिले नयाँ नोट दिए पनि ती संस्थाले पनि २१ गतेदेखि मात्र सर्वसाधारणलाई वितरण सुरु गर्नेछन् ।

असोज २१ देखि २९ गतेसम्म ५, १०, २० र ५० का दुई/दुई तथा १ सय दरका एक पाकेट सटही गर्न पाउने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले आफूलाई पायक पर्ने नजिकको बैंकबाट सटही गर्न अनुरोध पनि छ ।

काठमाडौं उपत्यकाभित्र नेपाल बैंकको न्युरोड, कीर्तिपुर, महाराजगन्ज, जोरपाटी, पाटन औद्योगिक क्षेत्र, लाजिम्पाट र भक्तपुर शाखाबाट सर्वसाधारणले नयाँ नोट सटही गर्न सक्नेछन् । यस्तै राष्ट्रिय वाणिज्य बैंकको सिहदरबार, टेकु, नयाँ बानेश्वर, सानो थिमी, विशालबजार, नक्सान, कलंकी र बालाजु शाखाबाट र कृषि विकास बैंकको गौशाला, कोटेश्वर, रामशाहपथ, रत्नपार्क, स्वयम्भू र मंगलबजार शाखाबाट नोट वितरण हुने राष्ट्र बैंकले जनाएको छ ।

यसैगरी उपत्यका बाहिरका उपभोक्ताले पनि असोज २१ देखि नै नयाँ नोट सटही सुविधा पाउनेछन् । काठमाडौं बाहिर राष्ट्र बैंकका विराटनगर, जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढीस्थित क्षेत्रीय कार्यालयहरूबाट तथा राष्ट्र बैंकबाट नोट कोष सुविधा लिएका सरकारी स्वामित्वका बैंकहरूको शाखाबाट नयाँ नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

अनावश्यक रूपमा नयाँ नोट नलिन र लिएका नोटहरू पनि हिफाजत गर्न राष्ट्र बैंकले सबैसँग अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट


Naya Media

सञ्चालक
एक्टिभ प्रेस प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

nayamedia.com@gmail.com

© 2016 - 2024 Active Press Pvt.Ltd. All Rights Reserved.

Discover more from NayaMedia

Subscribe now to keep reading and get access to the full archive.

Continue reading