बंगलादेशको अनलाईन मिडिया दि रनर न्यूज डट नेटले नेपालका शिक्षित वर्गमाथि भारतीय गुप्तचर निकाय ‘रअ’ (रिसर्च एण्ड एनालिस्ट विंग) ले लगानी गरिरहेको दाबी गरेको छ । उक्त मिडियाले नेपाली पत्रकार मुकुन्द सुवेदीलाई उदृत गर्दै सबैजसो पेशामा संलग्न नेपाली शिक्षित वर्गमाथि रअले लगानी गरेको उल्लेख गरेको छ ।
समाचारमा नेपालमा रअको नेटवर्कबारे उल्लेख गर्दै शैक्षिक, सामाजिक र धार्मीक संस्थाहरु रअका एजेन्टमार्फत सञ्चालन भएको दाबी गरिएको छ । नेपालमा रहेको हिन्दुहरुको मुख्य मन्दिर पशुपतिनाथ देखि अन्य महत्वपूर्ण मन्दिरमा रहेका पुजारीलाई समेत रअले चलाईरहेको दाबी गरिएको छ ।
पत्रकार सुवेदीलाई उदृढ गर्दै अनलाइनले नेपाललाई रअले कन्ट्रोल गरिरहेको जनाएको छ । समाचारमा नेपालका मिडियादेखि शिक्षक, सुरक्षाकर्मी, सामाजिक कार्यकर्ता, गैरसरकारी संस्था देखि सबैजसो राजनीतिज्ञलाई समेत रअले लगानी गरेको जनाइएको छ ।
समाचारमा पछिल्लो समय विभिन्न शीर्षकमा भारत सरकारले आफ्नो प्रभाव स्थापित गर्न खुल्ला रुपमै आर्थिक तथा अन्य सहयोग गरिरहेको जनाइएको छ । भारतीयय सेनामा कार्यरत अवकाश प्राप्त नेपालीहरुमार्फत पनि रअले नेपालबाट सूचना संकलनको काम गरिरहेको दाबी गरिएको छ ।
