पछिल्ला केहि दिनयता तापक्रम ह्वात्तै बढेको छ। उपत्यकाबासीहरु यत्तिको गर्मि पहिले महशुस नभएको बताउछन। मौसम पूर्वानुमान महाशाखाका अनुसार यो गर्मि अब धेरै दिन टिक्ने छैन।
पूर्वका केही भागमा गर्मी कम भए पनि काठमाडौंसँगै पश्चिम क्षेत्रमा मौसमी गतिविधि नभएकाले गर्मी बढेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार चारदिन यता पश्चिम तराईको औसत तापक्रम ४२ डिग्रीसम्म पुगेको छ।
मौसमविद् मञ्जु वासीले अहिले भइरहेको भन्दा बढी गर्मी नहुने र दुई तिन दिनभित्र पूर्वी तथा पश्चिम भागमा मुसलधारे पानी पर्ने सम्भावना रहेको बताइन्। ‘पूर्वी भेगमा मौसमी गतिविधि भएपनि पश्चिमी क्षेत्रमा मौसमी गतिविधि ठप्प छ,’ उनले भनिन्, ‘बादल लाग्ने, गड्याङगुडुङ गर्ने, हावाहुरी चल्ने लगायतका गतिविधि नभएका कारण पूर्वमा भन्दा पश्चिममा गर्मी बढेको हो।’ उनका अनुसार औसत नियम अनुसार नेपालमा जुन १० सम्मको अवधीमा मनसुन सुरु हुनुपर्छ।
यसवर्ष जुन १० सम्म मनसुन नभित्रिएको र टन्टलापुर घाम लागेका कारण गर्मी बढेको हो। सोमबार र मंगलबार उपत्यकालगायत देशभरको मौसम आंशिक बदली भई छिटफुट वर्षा हुने सम्भावना छ। मंगलबार पूर्वी भूभागमा बढी वर्षा हुने सम्भावना छ। नेपालको पूर्वी भेगबाट केही दिनमा मनसुन भित्रने अनुमान छ।
