सिन्धुपाल्चोकको जुगल गाउँपालिका ३ गुम्बा बस्तीमा ८४ जना बिरामी भएका छन् । उनीहरुमाथि चीनको वुहान प्रान्तबाट सुरु भएको कोरोना भाइरसको आशंका गरिएको छ।
साबिकको गुम्बा गाविसमा वडा नम्बर ८ को गुम्बा बस्तीमा कोरोना भाइरससँग मिल्ने रुघाखोकी, टाउको दुख्ने र अत्याधिक ज्वरो आउने लक्षण देखिएपछि गाउँपालिकाले आवश्यक सहयोगका लागि स्वास्थ्य मन्त्रालयलाई पत्र लेखेको छ । चार दिनदेखि फैलिएको रुघाखोकी, टाउको दुख्ने र अत्याधिक ज्वरो आउने तथा वान्तासमेत हुने भएपछि गाउँपालिकाबासीमा त्रास फैलिएको छ ।
गाउँपालिकाकी उपाध्यक्ष सृजना तामाङले गुम्बा बस्तीमा चार दिनदेखि ८४ जनालाई संक्रमण देखिएको बताएकी छन् । तामाङका अनुसार ‘विगत चार दिनदेखि गुम्बा बस्तीमा ज्वरो आउने, टाउको दुख्ने, रुघाखोकीको संक्रमण फैलिएको र बस्तीमै रहेको आधारभूत स्वास्थ्य चौकीले पनि रोग नियन्त्रण गर्न नसकेको बताएकी छन् । उनका अनुसार यो कतै कोरोना भाइरसकै संक्रमण त होईन भन्ने चिन्ता थपिएको बताएकी छन् ।
आज जिल्लाबाट स्वास्थ्य टोली बस्तीतर्फ पठाउने तयारी भएको तथा विशेषज्ञसहितको स्वास्थ्य टोली माग गर्दै स्वास्थ्य मन्त्रालयलाई पत्र पठाईएको पनि जानकारी गरेकी छन् । जिल्लाकै दुर्गम क्षेत्र पर्ने जुगल गाउँपालिका गुम्बा बस्तीसम्म सामान्य यातायातको मात्र सुविधा छ ।

