

नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाले शितलहरबाट प्रभावितहरुलाई हिजो ( शुक्रबार ) दुई सय थान कम्बल वितरण गरेको छ ।
रेडक्रसले अत्यधिक चिसो र शितलहरबाट प्रभावित कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर २ बौनियामा रहेको असहायहरुका लागि सहयोगी हातहरु नेपालद्वारा संचालित सहारा घरलाई एकसय थान र कैलाली कारागारमा रहेका कैदीहरुका लागि एकसय थान गरि दुई सय थान कम्बल वितरण गरेको हो ।
सहारा घरमा आयोजित कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचीव सुशील वैद्यले सहारा घरका संचालक बलबहादुर बिष्टलाई एकसय थान कम्बल वितरण गर्नुभएको हो ।
कम्बल वितरण कार्यक्रममा बोल्दै सचिव वैद्यले लोककल्याणकारी राज्यमा कुनैपनी जनताले दु:ख पाउनु हुँदैन र कुनैपनी मानव सडकमा हुनुहुदैन भन्ने कुरालाई सहारा घरले कार्यन्वयन गरेर महान काम गरेको बताउनुभयो ।
कार्यक्रममा मन्तव्य राख्नुहुदै आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव तथा विपद सम्पर्क व्यक्ति लक्ष्मीराज जोशीले सहारा घरले सडक मानव, ज्येष्ठ नागरिक, बालबालिका तथा समग्र असाहायहरुको सहारा भएर पुर्याउनु भएको योगदानको प्रसंशा गर्दै यस वर्ष सुदूरपश्चिम प्रदेश सरकारबाट उत्कृष्ट कर्मचारीका रुपमा छनौट भएर आफुले प्राप्त गरेको पाँच हजार पुरस्कर रकममा पाँच हजार थपेर दस हजार रुपैयाँ सहारा घरलाई हस्तान्तरण गर्नुभएको थियो ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाका मन्त्री एवं सुदूरपश्चिम प्रदेश विपद व्यवस्थापन परिषदको निर्देशन कार्यन्वयन तथा व्यवस्थापन कार्यलाई प्रभावकारी रुपमा सञ्चालन गर्न गठित उपसमितिका विज्ञ सदस्य लोकराज जोशीले विगतदेखी नै कैलाली रेडक्रसले सहारा घरलाई सहयोग पुर्याउदै आएको र यस वर्ष समेत शितलहरका कारण चिसो बढेपछि सहारा घरमा रहेका असहायहरुलाई थोरै भएपनी राहत पुगोस् भन्ने उद्देश्यले कम्बल वितरण गरिएको बताउनुभयो ।
कम्बल वितरण कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाका उपमन्त्री राकेश हमाल, कैलाली जिल्ला शाखाका सदस्य एवं बलिया उपशाखा सभापति रंगप्रसाद तिमिल्सैना, दोदोधरा उपशाखाका सभापति लक्ष्मीराज जोशी, बलिया उपशाखाका सचिव बिनोद आचार्य , दोदोधरा उपशाखाका पुर्व सचीव लिलाराम बिक, प्राक्टिकल एक्सनका वरिष्ठ परियोजना कार्यक्रम अधिकृत चक्रबहादुर बम, हेमन्त जोशी, एकराज भट्ट लगायतकाको उपस्थिति रहेको थियो ।
सहारा घरमा सडक मानव, ज्येष्ठ नागरिक तथा बालबालिकाहरु गरि करिब एकसय जना बस्दै आएका छन।
त्यसैगरी हिजो शुक्रवार नै आयोजित एक कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाका सभापति बासुदेव बिनाडीले कैलाली जिल्ला कारागारमा रहेका कैदीहरुका लागि समेत एकसय थान कम्बल बितरण गर्नुभएको छ ।