जनताको हकमा सरकार एक उत्तरदायी संस्था हो यसलाई नकार्न सकिदैन, तर नेपाली जनजविनमा उठेका सरोकारका विषयहरु पुर्ण रुपमा सरकार प्रति अश्रित देखिन्छन् ।
अहिले जनताले सरकारको नेतृत्वलाई हेर्ने दृष्ट्रिकोण फेरिएको छ । जनताको नजरमा नेतृत्वले लगनशिल, सयंमित र जनचाहाना अनुसारको काम गर्न सकेनन भन्ने ब्यापकता मौलाएको देखिन्छ । हुन त हो, सरकारले आईडीया नपायर हो की, सरकारी नेतृत्व कमजोर भएर हो, सरकारी नीति नियम, प्रविधि शैक्षिक गुणस्तर र व्यवसायिक पद्धति पुरानै तवरले चलिरहेका देखिन्छन् ।
सरकार एउटा उत्तरदायी संस्था हो । जसले राष्ट्रमा रहेका नागरिकहरुलाई हरेक चिजमा सहजिकरण गर्ने हो । तर नेपालमा नागरिकहरु सरकार संग पुर्ण आश्रित देखिन्छन् । बाटोघाटो, पुलपुलेसा, शैक्षिक भवन, नितीनियम र कानुन बनाउनु , युवालाई प्रविधिमैत्री तवरले प्रोत्साहन गर्नु सरकारको दायित्व हो, तर राष्ट्र विकसित हुनको लागि राष्ट्र र नागरिक दुवै देशका सम्पुर्ण नीतिनियम र संरचानहरुमा बराबर उत्तरदायी भयो भने मात्रै देश उभो लाग्छ । देशमा भएका सम्पुर्ण गतिविधिहरुको सम्पुर्ण जिम्मा सरकारले नै लिनुपर्छ भन्ने हाम्रो धारणा गलत हो । हामी सबैले संविधानले बनाएका ऐन नियमहरुलाई पालना गर्नुपर्छ, आफूले सक्ने सहयोग राज्यलाई गर्नुपर्छ ।
“ व्यवसायमा व्यवसायी र सरकारको उत्तरदायित्व”
व्यवसाय नागरिक तथा सरकारलाई समृद्ध बनाउने एक पाटो हो । व्यवसायमा १००% जिम्मेवार व्यवसायीले नै हुनुपर्छ । किनकी व्यवसायको सम्पुर्ण संरचना व्यवसायीले तय गरेको हुन्छ । राज्यले सहजिकरण गरिदिने हो । नेपालका व्यवसायीहरुलाई राज्यले सहजिकरण नगरिदिनु राज्यको कमजोरी हो । तर व्यवसायीले उत्पादन गरेका वस्तुहरु सरकारले हामीलाई केही गरेन भनी कुवाउनु , सडकमा फाल्नु र उत्पादन गरेको दुध सडकमा पोख्नुले उल्टै व्यवसायी नै धरासय हुनु हो । राज्यले व्यवसायिक सहजिकरण र प्रोत्साहन गरे व्यवसायीले कर तिर्छन ,राज्यको ढुकुटी मजवुत हुन्छ ।व्यवसायीले सरकारलाई जिम्मेवारीको दोस्रो पक्षमा राखेर आफ्नै वर्गतले काम गरेमा व्यवसायलाई अहिलेको युग अनुसार कसरी संचालन गर्न सकिन्छ भनेर अन्वेषण गरेमा व्यवसाय राम्रो तवरले चल्छन् । अल्प विकसित एवम् अविकसित मुलुकहरुको अर्थतन्त्रलाई चलाएमान बनाईराख्ने मुल आधार व्यवसाय नै हुन् । यसर्थः– सरकार र व्यवसायी दुवै पक्षले सकरात्मक तवरले अगाडी बढेमा नेपालमा व्यवसायीक चुनौतीहरुको सामना हुन सक्छ ।
गरिबी र भोकमरीको अन्त्य कुनै पुँजीपतिले पुँजी बाँड्दैमा हुने होइन । तर हाम्रो दिमागमा हालियो कि हाम्रो गरिबीको कारण पुँजीपति हुन् । नेपाललाई धनी र समृद्ध बनाउनु छ भने सबभन्दा पहिला समाजको अन्तस्करणमा रहेको पुँजी, पुँजीवाद र यसप्रतिको घृणा हटाउनुपर्छ । विशाल पुँजीको अपेक्षा गर्ने अनि पुँजीवाद र पुँजीपतिसँग शत्रुता गर्नु सही हुन सक्दैन । हामीले उपभोक्तामुखी वा दलाल पुँजीवाद तथा वित्तीय पुँजीवादको विरोध गर्नैपर्छ, तर उत्पादनमुखी पुँजीलाई नअँगालेर राष्ट्रिय पुँजी निर्माण हुन सक्दैन ।
राजनीतिक आडमा र शीर्ष नेताको संरक्षणमा जे गरे पनि हुने भन्ने प्रवृत्ति छ । विद्यालयको शुल्क तिर्नुछ– आन्दोलन वा तोडफोड गरे तिर्नु पर्दैन । अस्पतालमा तोडफोड गरेर पनि उम्किन सक्ने । कतिपय उद्योगीहरू पार्टीसँग मिलेर राज्यको करमा लुट मचाउँछन् भने कामदारले पनि जतिखेर आन्दोलन गरेर उद्योग नै बन्द गर्न सक्छन् । यस्तो माहोलमा शिक्षा, स्वास्थ्य, रोजगारी, सार्वजनिक सेवासँग सम्बद्ध संस्था निर्धक्क भएर स्थापित हुन सक्दैनन् र सेवाप्रवाह गर्न सक्दैनन् । लगानीकर्तालाई सुरक्षित महसुस हुँदैन र रोजगारी सिर्जना हुने अवसर हराउँदै गएका छन् ।
नेपालको सत्ता प्रजातन्त्र आएपछि कहिले पनि स्थिर भएन । स्थिर नभएपछि यसका नीति तथा कार्यक्रम, रणनीति र योजना केही स्थिर हुने भएनन् । एउटा सरकारले गर्न खोजेको कुरा केही महिनापछि सरकार परिवर्तनपछि थन्किन्छ । एउटा कार्यालय प्रमुखले थिति बसाउन खोजे पनि अर्को आएपछि सकिन्छ । एउटा सरकारले मन्त्रिपरिषद्को निर्णयद्वारा नै दिएको अनुमति अर्को सरकार आएपछि खोसिन्छ । सरकारी तवरबाटै पनि कतिखेर कुन नीति आइदिने हो त्रास बनिराख्छ । लगानीमैत्री वातावरण बन्दैन र रोजगारी सिर्जना हुँदैन ।
नेपालमा थुप्रै किसिमका सम्भावनाहरु छन् ।सरकार र नागरिक दुवै सकारात्मक ढङ्गले अगाडी बढेमा नेपाललाई आत्मसवालम्बी बनाउन सकिन्छ भन्नेकुरा अवलम्बन गर्न जरुरी छ । विगतको तुलनामा देश धेरै अगाडी बढिरहेको छ । तर जतिको सरकार गैरजिम्मेवार छ, त्यो भन्दा धेरै नागरिक गैरजिम्मेवार छ । एक परिवारको एक जनाको कमाउँछ, ७ जनाले केही नगरी एक जनाको कमाई खान्छ । परिवार समृद्ध बन्नको लागि परिवारका सबै सदस्यहरु आत्मसवालम्बी बन्न आवश्यक हुन्छ । परिवार समृद्ध भए समाज समृद्ध बन्छ, समाज समृद्ध भए देश समृद्ध बन्छ भन्ने कुरालाई आत्मसात गर्दै सरकार र नागरिक दुबै पक्षले अल्छीपन बाट मुक्त भई नेपाल भित्रका सम्भावनाहरुको खोजी कार्यका लागि अग्रसर हुनुपर्छ, र सरकारले पनि प्रोत्साहन र सहयोग गरेमा नागरिक सहित देश पनि समृद्ध बन्न सक्छ ।
