Naya Media
बुधबार, जेष्ठ १३, २०८३
| | May 27, 2026
बुधबार, जेष्ठ १३, २०८३

नेपाली भूमिमा हतियारसहित पसेर भारतीय सुरक्षाकर्मीले भत्काए सडक

सिडिओले नै सडक भत्काउन आदेश

User Photo शुक्रबार, जेष्ठ १६, २०७७
काठमाण्डाै ।

नेपाली भूमिमै निर्माण गरिएको पर्साको ठोरीस्थित ठुटे खोलाको पुल सञ्चालनमा भारतले फेरि अवरोध गरेको छ ।

भारतीय सुरक्षा फौजकै बल मिच्याइँका कारण निर्माण भएको २ वर्ष सम्म पनि सञ्चालनमा आउन नसकेको ठुटे खोलाको पुल, जनप्रतिनिधिको पहलमा बुधबारदेखि मात्रै सन्चालनमा ल्याइएको थियो ।

तर पुल सञ्चालनमा आएको एक दिन पनि नबित्दै बिहीबार साँझ भारतबाट हतियार सहित बर्दीमा नेपाली भूमिमा छिरेका भारतीय सुरक्षाकर्मीले पुल सञ्चालनमा अवरोध गरेका हुन् । पुल र हुलाकी सडक बीचमा रहेको नेपालको खोलाबाट भारततर्फ बग्ने कुलो पुरेर बुधबारदेखि पुल सञ्चालनमा ल्याइएको थियो ।

तर बिहीबार साँझ ५ बजे भारतबाट डिएम, एसएसबीका डिएसपी र बिहार प्रहरीका अधिकारी सहित आएका सुरक्षाकर्मी र भारतीयले कुलेर पुरेर बनाइएको सडक भत्काइदिएका थिए ।पुल सञ्चालनका लागि कुलो पुरिएको सडक भारतीयले भत्काउन थालेको खबर पाएर ठोरीका जनप्रतिनिधि र स्थानीयवासी पुगेर प्रतिवाद गरेपछि भारतीय सुरक्षाकर्मी र मजदुरहरु फर्किएको ठोरी गाउँपालिका २ का वडा अध्यक्ष किशोर तमाङले बताए ।

‘पुलमा पुग्दा भारतका डिएमका साथै हतियार र बर्दीमा रहेका २५÷३० जना जति भारतीय प्रहरी र एसबएसबीले पुलमा बसेर मजदुर लगाएर कुलो भत्काइरहेका थिए । हामीले यो नेपाली भूमि हो, यस्तो गर्न पाइँदैन भनेर प्रतिवाद गर्यौँ, केही बेर भनाभन पनि भयो, पछि उनीहरु भारततिर लागे,’ अध्यक्ष तमाङले बताए ।

वडाध्यक्ष तमाङका अनुसार भनाभनका क्रममा भारतीय डिएमले पर्साका प्रमुख जिल्ला अधिकारीले भनेर नै कुलो सञ्चालनका लागि सडक भत्काउन आएको बताएका थिए । तर करिब २ सयको सख्यामा भेला ठोरीवासीले पुल सञ्चालनमा अवरोध गरिए यसले झन ठूलो दुर्घटना निम्त्याउने धम्की दिएपछि उनीहरु पछाडि हट्न बाध्य भएको स्थानीयहरु बताउँछन् ।

ठोरीस्थित सशस्त्र प्रहरी बेस क्याम्पका सशस्त्र प्रहरी निरीक्षक दीपक दाहालले बिहीबार साँझ भारतीय सुरक्षाकर्मी सहित आएका भारतीय पक्षले कसलो पुरेर बनाइएको पुलको सडक भत्काउन खोजे पछि जनप्रतिनिधि र सुरक्षाकर्मीले भत्काउन नदिएपछि भारतीय पक्ष फर्किएको बताए ।

‘माथिको आदेश’ भन्दै कुलो भत्काउन आएका भारतीय पक्ष र ठोरीका स्थानीयबीच केहीबेर भनाभन समेत भएको उनले बताए । ‘बिहीबार साँझ पुलमा पुग्दा भारतका डिएएम, एसएसबी र भारतीय प्रहरीका अधिकारीहरुको उपस्थितिमा १५÷१६ जना भारतीय कामदारले पुरिएको कुलो कोदालो र बेल्चाले खनिरहेका थिए । नेपाली भूमिमा यस्तो गर्न मिल्दैन भनेपछि ठोरीका स्थानीय र भारतीय बीच केही बेर भनाभन पनि भयो । हामीले पनि अनुरोध गरेपछि उनीहरु भारत तिरै फर्किए,’ दाहालले भने ।

भारतीयहरु फर्किएपछि ठोरीका स्थानीयले भारतीयले खनेको कुलो फेरि पुरेर पुल सञ्चालनमा ल्याएको सशस्त्र प्रहरी निरीक्षक दाहालले बताए

वडाध्यक्ष तमाङले भारत पर्साका प्रमुख जिल्ला अधिकारी विष्णु कार्कीलाई नै सडक भत्काउन पुल निर्माण गर्ने ठेकेदार कम्पनीलाई आदेश दिएको आरोप लगाएका छन् ।

जनप्रतिनिधिको निर्णय अनुसार ठेकेदारले पुल र हुलाकी सडक बीचको कुलो पुरेर बुधबारदेखि पुल सञ्चालनमा आएपछि ठोरीका जनता धेरै खुसी थिए । वडाध्यक्ष तमाङले भने, ‘तर सिडिओ साबले नै ठेकेदार कम्पनीका प्रतिनिधि उद्धव न्यौपानेलाई फोन गरेर पुरिएको भारत बग्ने कुलो तत्कालै जस्ताको त्यस्तै सञ्चालनमा ल्याउन आदेश दिएछन् ।’

पर्साका प्रमुख जिल्ला अधिकारी विष्णु कार्कीले भने दुइ देश बीचको कुरा भएकाले दुवै देशको सहमतिमा अगाडि बढ्नुपर्ने बताएका छन् । दुई देशका स्थानीय बीच वर्षाैँदेखि विवादित विषय भए पनि सहमति बिना एकपक्षीय रुपमा कुलो पुरिएकाले आफुले ठेकेदारका प्रतिनिधिलाई भारत बग्ने कुलो यथावत अवस्थामा सञ्चालनमा राख्न भनेको कार्कीले जानकारी दिए ।

हुलाकी राजमार्गमा पर्ने ठोरी गापाको वडा नम्बर २ र ३ लाई जोड्ने ठुटे खोलामा ६ करोड ९७ लाख २१ हजार रुपैयाँको लागतमा एक सय दुई मिटर लम्बाइको पुल निर्माण गरिएको थियो ।

तर पुल निर्माण भएको २ वर्ष बितिसक्दा पनि आफ्नै भूमिमा बनाइएको पुल पनि भारतीयको बल मिच्याइँ र अवरोधका कारण नेपालीले प्रयोग गर्न पाएका थिएनन् । तर ३ दिनअघि जिल्ला समन्वय समिति पर्साका उपसभापति ठाकुर न्यौपाने र गाउँपालिकाका जनप्रतिनिधि सहित बसेको सर्वदलीय बैठकले पुल सञ्चालनमा ल्याउने सहमति गरेपछि बुधबारदेखि कुलो पुरेर पुल सञ्चालनमा ल्याइएको थियो ।

भारतीयकै अवरोधका कारण ७ वर्ष रोकिएको थियो निर्माण

भारतीयको अवरोधका कारण ठुटे खोलामा पुलको निर्माण कार्य नै सात वर्षसम्म रोकिएको थियो । नेपाल भारत सीमामा अवस्थित ठुटे खोलामा पुल निर्माणका लागि २०६७ सालमा सर्वे गरिएको नेपाली भूमि, भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले भारतीय भूमि भन्दै अवरोध गरेपछि सात वर्षसम्म पुलको निर्माण कार्य नै सुरु हुन सकेको थिएन ।

२०७४ साल बैशाखमा नेपाल र भारतका सीमा अधिकारी बीच भएको वार्तामा, सीमा विवादका बारेमा सहमति भएपछि मात्र पहिले सर्वे गरिएकै स्थानमा पुल निर्माणको काम सुरु गरिएको थियो । पुल निर्माण कार्य २०७५ जेठमा सकिएको थियो ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.