Naya Media
बुधबार, जेष्ठ १३, २०८३
| | May 26, 2026
बुधबार, जेष्ठ १३, २०८३

आजदेखि होटल खुल्दै

User Photo बिहिबार, साउन १५, २०७७
काठमाण्डाै ।

काठमाडौं, पोखरा र चितवनका होटल साउन १५ गतेबाट आंशिक रूपमा सञ्चालनमा आउने भएका छन्। कोरोना जोखिमबीच होटल सञ्चालनमा आउन पाउने भएपछि व्यवसायी उत्साहित देखिएका छन्। स्वास्थ्यसम्बन्धी मापदण्डको पूर्ण पालना गर्ने गरी होटल सञ्चालनमा ल्याइने होटल व्यवसायीले बताए।

लकडाउनका कारण करिब साढे ४ महिनापछि होटल सञ्चालनमा आउने भएका छन्। गत साउन ६ गतेबाट लकडाउन अन्त्यसँगै साउन १५ बाट होटल व्यवसाय सञ्चालनमा ल्याउने सरकारको निर्णयपछि होटल पुनः सुचारु गर्ने तयारीमा व्यवसायी जुटेका हुन्।

पर्यटकीय हिसाबले अहिले अफ सिजन भएको र कोरोना जोखिम बढी रहेकाले पनि होटल आंशिक मात्रै खोलिने र आगामी सिजनको तयारी गरिने होटल संघ नेपाल(हान) का अध्यक्ष विनायक शाहले जानकारी दिए। बिहीबारबाट प्रायः ठूला तारे होटल सञ्चालनमा नआए पनि साना तथा मझौला र पर्यटकस्तरीय होटल खुल्ने तयारी भइरहेको छ।

आगामी २ महिना होटल खोलेर आम्दानी हुनेभन्दा पनि सञ्चालन खर्च मात्र बढ्ने भएको भन्दै शाहले ठूला होटलको सञ्चालन खर्च बढी हुने हुँदा तत्काल खोली हाल्ने अवस्था नरहेको बताए। पाँचचारे होटलमा सांग्रिला खुल्ने भएको छ भने सोल्टी, मेरियटलगायत होटल लकडाउनमा पनि खुला थिए। भदौ १ गतेबाट उडान खुलेपछि तारे होटल सञ्चालन आउने तयारी भइरहेको बताइएको छ।

‘अहिले उडान पनि बन्द छन्, सिजन पनि छैन, अहिले खोल्दै गरेर एउटा लयमा ल्याउने र सेप्टेम्बर, अक्टुबरको पर्यटकीय सिजन तथा दसैं तिहारबाट आन्तरिक तथा बाह्य पर्यटक आउने अपेक्षा अनुरूप होटल सञ्चालनमा आउनेछन्’, शाह भन्छन्। अहिलेलाई केही कर्मचारी बोलाएर होटलको सरसफाइ, सरकारले जारी गरेको स्वास्थ्यसम्बन्धी मापदण्ड पालनाका ओरेन्टेसन कार्यक्रम सञ्चालन गरिने शाहले जानकारी दिए।

पर्यटकीय प्रमुख गन्तव्यको रूपमा रहेको पोखराका होटल व्यवसाय आन्तरिक पर्यटकलाई लक्ष्य गर्दै खुल्ने तयारीमा रहेको पश्चिमाञ्चल होटल संघ पोखराका अध्यक्ष विकल तुलाचनले जानकारी दिए। कोरोनाको महामारी कम भइनसकेकाले विदेशी पर्यटक नआउने निश्चित हुँदा आन्तरिक पर्यटकलाई लक्ष्य गर्नुको विकल्प नभएको उनी भन्छन्। अहिलेलाई व्यापार भन्दा पनि सजग भएर होटल खोल्न लागिएको भन्दै तुलाचनले पूर्वतायारीका काम सञ्चालन गर्ने जानकारी दिए। पोखरामा करिब ७ सय साना तथा ठूला होटल रहेकोमा बिहीबारबाट करिब १० प्रतिशत मात्रै होटल सञ्चालनमा आउने उनको भनाइ छ।

चितवन तथा सौराहाका होटल व्यवसायी पनि व्यवसाय खुल्ने भएपछि उत्साहित बनेका छन्। बन्द गरेर घरमा बस्नुभन्दा होटल खुल्ने वातावरण बन्दा केही समयपछि व्यापारले गति लिने अपेक्षा चितवनका व्यवसायीको छ। अफ सिजन भएकाले पनि तत्काल नै व्यवसायले गति नलिएपछि हवाई उडान खुलेपछि परिस्थिति सहज बन्दै जाने आशा रहेको क्षेत्रीय होटल संघ चितवनका निवर्तमान अध्यक्ष सुमन घिमिरेले बताए। लकडाउनका कारण व्यवसाय बन्द हुँदा आम्दानी ऋणात्मक हुँदै गएका कारण पनि होटल पुनः सञ्चालनमा आउनुलाई राहतको रूपमा हेरिएको छ।

होटल सञ्चालनमा आएपछि कोभिड १९ सम्बन्धी सरकारले जारी गरेको स्वास्थ्य सम्बन्धित मापदण्डअनुरूप काम भए÷नभएको चेकजाँच गरिने र व्यवसायीलाई सतर्क बनाइने नेपाल पर्यटन बोर्डका प्रवक्ता मणिराज लामिछानेले बताए।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.