Naya Media
शनिबार, बैशाख १९, २०८३
| | May 2, 2026
शनिबार, बैशाख १९, २०८३

आज चैते दसैँ मनाइँदै, हनुमानढोकामा बलिसहित पूजा

User Photo मङ्लबार, बैशाख ७, २०७८
काठमाण्डाै ।

नेपालीहरुले आज चैते दसैँ पर्व मनाउँदैछन् । प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन नवदुर्गा भगवतीको पूजा गरी चैते दसैँ मनाइन्छ ।

चैते दसैँमा अष्टमी र नवमीलाई विशेष रुपमा मनाउने गरिन्छ । अष्टमीको दिनलाई चैते दसैँ र नवमीलाई त्रेता युगमा अयोध्याका राजा दशरथ र रानी कौशल्यावतीको ज्येष्ठ सुपुत्रका रुपमा श्रीरामको जन्म भएकाले रामनवमीका रुपमा मनाउने गरिन्छ ।

काठमाडौं उपत्यकाका गुहृयेश्वरी, जगबागेश्वरी, मैतीदेवी, नक्साल भगवती, भद्रकाली, शोभा भगवती, कालिकास्थान, बज्रयोगिनी, इन्द्रायणी, बिजेश्वरी, सुन्दरीमाई, चामुण्डादेवीलगायत पीठमा चैते दसैँका अवसरमा विशेष पूजा हुन्छ ।

यसैगरी उपत्यका बाहिरका पलाञ्चोक भगवती, चण्डेश्वरी, नाला भगवती, पाल्चोक भगवती, शैलेश्वरी, वागेश्वरी, गहवामाई, मनकामना, कालिकादेवीलगायत शक्तिपीठमा पनि चैत्र नवरात्रका अवसरमा विशेष पूजा गरिन्छ । यस अवसरमा शक्तिपीठमा गई पूजा आराधना एवं दर्शन गरेमा शक्ति प्राप्त हुने र मनोकामना पूरा हुने धार्मिक विश्वास छ ।

आश्विन शुक्ल पक्षको नवरात्रमा प्रतिपदाका दिनदेखि नै घटस्थापना गरेर जमरा राखिन्छ । दशमीका दिन मान्यजनबाट टीका जमरा लगाएर आशिर्वाद ग्रहण गरिन्छ । चैते दसैँमा भने त्यो परम्परा धेरै परिवारमा छैन । हनुमानढोकाको दसैँघरमा भने घटस्थापना गरेर विधिवत् पूजा आराधनाका साथ अष्टमीका दिन बलि दिने चलन पनि छ ।

प्राचीनकालदेखि नै हनुमानढोका दरबारको दसैँ घरमा चैते दसैँका दिन पनि बलिसहित पूजा गरिन्छ । पूजासँगै चैत्र शुक्ल अष्टमीका दिन राज्य सञ्चालनका लागि शक्ति प्राप्त होस् भन्ने कामनाले बलि दिइन्छ ।

यस वर्ष पनि मंगलबार बिहान पूजा आराधना गरी ५४ बोका र ५४ राँगाको बलि दिने तयारी भएको हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले जानकारी दिए । बडा दसैँमा भने १०८ बोका र १०८ राँगाको बलि दिई पूजा हुन्छ ।

गत वर्ष चैते दसैँमा भने कोरोना भाइरसको सन्त्रासका कारण पशु चौपाया ढुवानीमा रोक लगाइएका कारण बलि नदिइ पूजामात्र गरिएको थियो । चैते दसैँमा कोरोना भाइरसको महामारीका कारण पहिलोपटक बलि पूजा रोकिएको थियो ।

चैत्र शुक्ल प्रतिपदादेखि नै दसैँ घरमा विशेष पूजा र दुर्गा सप्तशती (चण्डी) पाठ पनि भइरहेको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.