निर्वाचन आयोगले मौन अवधिमा सबै सरोकारवालाले निर्वाचन आचारसंहिता पूर्णरूपमा पालना गर्ने विश्वास व्यक्त गरेको छ। आचारसंहिताविपरीत कुनै गतिविधि भएमा कडाभन्दा कडा कारबाही गरिने आयोगले स्पष्ट पारेको छ।
आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले मौन अवधिमा झ्याल वा जस्केलाबाट अनियमित गतिविधि हुनसक्ने चर्चा भइरहेकाले त्यस्ता कार्यमा संलग्न व्यक्तिहरूको पहिचान गरी कानुनी प्रक्रियामा लैजाने बताए। “अनियमित काम गर्न उद्यत जोसुकै भए पनि वस्तुगत प्रमाणका आधारमा कारबाही हुन्छ,” उनले भने।
भण्डारीका अनुसार आयोगले पटक–पटक सबै राजनीतिक दल, उम्मेदवार र सरोकारवालालाई आचारसंहिता पालना गर्न आग्रह गर्दै आएको छ। यदि कानुनले निषेध गरेको काम भएको प्रमाणित भएमा सम्बन्धित उम्मेदवारको मनोनयनपत्र नै खारेज गरिने उनले चेतावनी दिए। “विजयी वा पराजित जे भए पनि उम्मेदवारी खारेज हुन्छ, र त्यस्ता व्यक्तिलाई आगामी ६ वर्षसम्म कुनै पनि निर्वाचन प्रक्रियामा सहभागी हुन नपाउने व्यवस्था हुन्छ,” उनले बताए।
उनले आचारसंहिताविपरीत गतिविधिप्रति आयोग ‘शून्य सहनशीलता’को नीतिमा रहेको उल्लेख गर्दै जहाँसुकै देखिएका उल्लङ्घनबारे आयोगलाई जानकारी गराउन सर्वसाधारणलाई आग्रह गरे। “सूचना पाएलगत्तै आवश्यक कारबाही गर्न आयोग पछि हट्दैन,” उनले थपे।
यसैबीच, राजनीतिक दल तथा उम्मेदवारले मतदान स्थलको ३०० मिटर वरिपरि राखिएका प्रचार सामग्री तत्काल हटाउनुपर्ने आयोगको निर्देशन छ। पोस्टर, पर्चा, ब्यानर, तुल लगायतका प्रचार सामग्री मात्रै होइन, सामाजिक सञ्जालमार्फत कसैको पक्षमा मत माग्ने वा कसैको विपक्षमा प्रचार गर्ने सामग्रीसमेत मौन अवधिमा हटाउनुपर्ने आयोगले जनाएको छ।
