काठमाडौं । नेकपाले मन्त्रीहरूमाथि निगरानी सुरु गरेको छ । सरकार र मन्त्रीहरूका काम कारवाहीमाथि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले निगरानी सुरु गरेका हुन् ।
सरकारका काम कारवाहीप्रति जनतामा देखिएको निराशा र मन्त्रीहरूका प्रस्तुतीमा दुई अध्यक्ष (ओली-दाहाल) गम्भीर समीक्षामा जुटेका छन् । आवश्यक पर्दा नेकपाका पूर्वघटकको सुविधा नछाडी जुनसुकै मन्त्रीलाई पनि कारवाहीको दायरामा ल्याउने गरी छलफल भएको अध्यक्ष पुष्पकमल दाहालले खुलासा गरेका छन् ।
खुमलटारस्थित निवासमा मंगलबार सीमित सञ्चारकर्मीसँग दाहालले पछिल्ला दिन सरकारका काम कारवाहीप्रति जनतामा निराशा ल्याउने काम देखिएको र मन्त्रीहरूको काम प्रभावकारी बन्न नसकेकोमा छलफल नै सुरु भई कडा कदम चाल्ने तयारी भइरहेको बताएका थिए । ‘दुई अध्यक्षबीच अहिले गम्भीर छलफल गर्ने प्रक्रिया सुरु भएको छ । स्थिति अलिक गम्भीर बन्न खोजेको छ । जनतामा फ्रस्ट्रेसन बढ्ने संकेत देखिएका छन् । मिडियामा समाचारहरू जसरी आइरहेका छन्, त्यसबारे नेगेटिभली होइन, यसको अर्जेन्सी (विषयको गम्भीरता)लाई अध्ययन गरेर हामीले समीक्षा सुरु गरेका छौं’, उनले भने ।
सरकार गठनको तीन÷चार महिनासम्म सरकार र मन्त्रीका काम कारवाही सम्बन्धमा दुई अध्यक्षबीच कुनै समीक्षा नभए पनि डा.गोविन्द केसी प्रकरणयता भने समीक्षा सुरु भएको दाहालले खुलाए । उनले भने, ‘गोविन्द केसी प्रकरण, ठाउँ ठाउँमा भएका महिला हिंसाका घटनासँग सम्बन्धित वा अन्य विषयहरूमा दुई अध्यक्षबीच गम्भीर छलफल सुरु भएको छ ।’
उनले सरकारको कामकाज, पार्टी एकतासम्बन्धी कामको समीक्षा गरी दुई अध्यक्षले प्रस्ताव तयार पारी सचिवालयमा अन्तिम रूप दिने र स्थायी समिति बैठकमा उक्त प्रस्ताव छलफलमा लगेर आवश्यक कदम चाल्ने तयारी भएको जानकारी दिए ।
नेकपाले २६ भदौमा पार्टी स्थायी समिति बैठक बोलाएको छ । ‘सरकार, पार्टीलगायत विषयमा समीक्षा गरेर एउटा प्रस्ताव तयार पार्ने भनिएको छ दुई अध्यक्षबीच । त्यो प्रस्तावलाई सचिवालयले अन्तिम प्रस्ताव बनाउने, स्थायी समिति बैठकमा लगेर छलफल गराउने र हामीले केही न केही स्टेप चाल्नुपर्छ भन्ने दिशातिर नै अहिले हामीले छलफल केन्द्रित गरेका छौं’,
मंगलबार साँझ पनि प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच बालुवाटारमा सरकारका काम कारवाही र पार्टी एकतासँग सम्बन्धित प्रस्ताव तयार पार्ने विषयमा छलफल भएको थियो । उनले सरकार र मन्त्रीहरूका सम्बन्धमा के गर्ने भन्ने तहमै दुई अध्यक्षबीच छलफल भएको पनि बताए । ‘कुन विधिबाट लैजाने भन्नेमा आवश्यक परे हामीले स्ट्रङ (बलियो) कदम नै चाल्नुपर्छ, सरकारका सम्बन्धमा, मन्त्रीहरूका सम्बन्धमा भन्ने तहसम्म पनि छलफल भएका छन्’,
जनताको हितमा काम नगर्ने जुनसुकै मन्त्री पार्टीको निसानामा पर्ने संकेत गर्दै उनले पूर्ववत् पार्टीका आधारमा यो पक्ष, ऊ पक्षका मन्त्री भनेर कसैलाई नछाडिने दाबी पनि गरे । ‘यो मन्त्रीलाई नचलाऊ, ऊ मन्त्रीलाई चलाऊ भन्ने छलफल गर्ने स्थितिमा हामी छैनौं’, उनले भने, ‘जो सुकै परुन्, सरकार असफल हुने, पार्टीलाई असफल पार्ने र जनता निराश पार्ने गतिविधि देखिएको छ भने हामी बेलैमा नै स्ट्रङ स्टेप चाल्नुपर्ने गरी छलफलमा छौं ।’
उनले व्यक्तिभन्दा देश ठूलो भएकाले व्यक्ति, पूर्वसमूह नभनी कोही रिसाउला भनेर नसोचिएको बताए । ‘एउटा पक्षको मन्त्री चलाउँदा त्यो पक्ष रिसाउँछ कि भन्ने ढंगले अहिले सोचिएको छैन । जनतामा बढ्न थालेको फ्रस्टेसनको स्थिति हेर्दा हामीले जो सुकै होस् कडा कदम चाल्नुपर्छ भन्ने सोचेका र छलफल गरेका छौं,’ उनले थपे ।
सरकारले पूरक बजेट ल्याउने संकेत पनि दाहालले गरे । निर्वाचनताका जनतामाझ गरेका प्रतिबद्धता, जनताको अपेक्षा र आवश्यकता सम्बोधन गर्ने गरी पूरक बजेट आउन सक्नेतर्फ उनले संकेत गरे । तर उनले त्यसबारे खुलस्त नबताए पनि वृद्धभत्ता वृद्धिको चुनावी घोषणा व्याख्या गर्दै पूरक बजेट ल्याउने तयारीको संकेत गरेका हुन् ।
‘पूरक बजेट आउने बित्तिकै छुमन्तर हुन्छ भनेर सोचिएको छैन’, उनले भने, ‘ जनतामाझ हिजो गरेका कमिटमेन्ट पूरा गर्नका लागि के गर्न सकिन्छ ? वृद्धभत्ता रकम बढाउनु ठूलो कुरा होइन तर मायामा बाँधिने भएकाले थपिदिन पाए राम्रो हुने थियो ।’
दाहालले आफू दुई छिमेकी देशसँगको सम्बन्धमा सकारात्मक वातावरण बनाउन भ्रमणमा जान लागेको र भ्रमण सरकार सफल बनाउने उपायहरूको खोजीमा केन्द्रित हुने बताए । नेपालको राष्ट्रिय हित, विकासप्रति जनताको आकांक्षा सम्बोधन गर्ने र विगतका सहमति-सम्झौता कार्यान्वयनमा केन्द्रित रहेर छलफल गर्न भारत र चीन भ्रमणमा जान लागेको उनको भनाइ थियो ।
दाहाल बिहीबार भारत र भदौ ३० मा चीन भ्रमणमा जाँदै छन् । ‘भारत र चाइना जान्छु नै । सबै सेड्डुल तयार भइसकेको छ । पर्सी इन्डिया जान्छु । त्यताबाट फर्केको ६ दिनपछि चाइना जान्छु’, उनले भने, ‘नेपालको राष्ट्रिय हित, विकासप्रति जनताको आकांक्षालाई सम्बोधन गर्ने गरी मैले भारतसँग पनि गम्भीर ढंगमा छलफल गर्नुपर्छ, चीनसँग पनि गम्भीर रूपमा केही कुरा गर्नुपर्छ भन्ने लागेर म छिमेकी मुलुकको भ्रमणमा जान लागेको हुँ ।’
दुवै देशबाट भ्रमणको निम्तो पाएपछि जान लागेको भन्दै दाहालले भ्रमणमा सरकार वा कुनै विशेष उद्देश्यले जान नखोजेको बताए । ‘हामीले पार्टी एकता गरेको र प्रधानमन्त्री तथा एउटा अध्यक्ष भ्रमणमा गइसकेको र अर्काे अध्यक्ष पनि आइदिए हुन्थ्यो भन्ने उहाँहरूको चाहना र चासो स्वाभाविक हो’, , ‘ अहिले म यता अथवा उता या सरकार भनेर जान लागेको होइन ।’
बिहीबार भारत पुगेपछि दाहाल नेपाली राजदूतावासको सामान्य भेटघाट कार्यक्रममा सहभागी हुनेछन् । भोलिपल्ट उनले आईसीडब्लूएले आयोजना गर्ने कार्यक्रममा सम्बोधन गर्नेछन् । सोही दिन उनले भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग भेटवार्ता गर्नेछन् । त्यसपछि उनले राजनीतिक भेटघाट गर्नेछन् । उनले भारतीय प्रधानमन्त्री र अन्य राजनीतिक दलका नेताहरूसँग पनि भेटघाट गर्ने छन् । उनले त्यहाँका बुद्धिजीवी र पत्रकारसँग पनि भेटघाट गर्ने तय भएको छ । उनी भदौ ३० मा चीन जानेछन् । चीनमा उनको कार्यक्रमको तालिका भने बनिनसकेको उनले जानकारी दिए ।