सोमवार, भदौ २५, २०७५, ।
भारत पुणेमा आजदेखि सुरू भएको बिमस्टेक राष्ट्रका सेनाको अभ्यासमा नेपाली सेना पर्यवेक्षकका रूपमा सहभागी भएको छ।
यसअघि नेपाली सेना पनि सैन्य अभ्यासमा सहभागी हुने निर्णय भए पनि अन्तिम समयमा रोकिएको थियो।
सैन्य अभ्यासका लागि तीन जनाको एडभान्स टोली पहिले नै भारत गइसकेकाले उनीहरू त्यहाँ पर्यवेक्षकका रूपमा सहभागी हुने नेपाली सेनाले जनाएको छ।
‘एडभान्स गएका तीन जना उतै छन्, उनीहरू सैन्य अभ्यास सकिएपछि मात्र फर्किन्छन् होला,’ सैनिक प्रवक्ता सहायक रथि गोकुल भण्डारीले सेतोपाटीसँग भने।
यसअघि सो सैन्य अभ्यासमा नेपाली सेनाका ३० जनाको टोली सहभागी हुने तय भए पनि शनिबार सरकारले सैन्य अभ्यासमा नजाने निर्णय गरेको थियो।