महिला हिंसा नियन्त्रणका लागि गृहमन्त्री रामबहादुर थापालाई ध्यानाकर्षण गराइएको छ। ध्यानाकर्षण तथा मागपत्रमा महिलाहरुको बाँच्न पाउने अधिकार खोसिएको उल्लेख गरिएको छ।
बोक्सीको आरोप, प्रेम प्रस्ताव अस्वीकार गर्दा मारिनु तथा पोलिनु लोकतन्त्रको नियति जस्तै भएको भन्दै गृहमन्त्रीलाई ध्यानाकर्षण गरिएको हाे। कतिपय दोषीको पहिचान भए पनि अपराध अनुसारको कारबाही नभएको भन्दै कारबाही गर्न माग गरिएको छ।
बालबालिका, किशोरी र महिला हिंसाका विरुद्ध कठोर कानुन बनाउन र पीडितलाई समयमै न्याय दिन सरकार चुकेमा लोकतन्त्र नै खतरामा पर्ने ध्यानाकर्षणपत्रमा जनाइएको छ।
महिला हिंसाका अपराधीलाई पक्रन तथा पीडितलाई न्याय दिलाउनका लागि गृहमन्त्रीलाई मागपत्र बुझाइएको नेकपा केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले बताइन्। ध्यानाकर्षणपत्रमा पाँच दर्जन बढी सहभागी भएको उनले बताइन्।
नेकपा एमालेकी प्रदेश ३ की इन्चार्ज अष्टअक्ष्मी शाक्यको नेतृत्वमा गृहमन्त्रीलाई मागपत्र बुझाइएको हो।
