Naya Media
बिहिबार, फाल्गुन २१, २०८२
| | March 5, 2026
बिहिबार, फाल्गुन २१, २०८२

एक रूपैयाँ बढी भाडा लिए पनि पाँच हजार जरिवाना

User Photo मङ्लबार, अशोज १६, २०७५

सार्वजनिक यातायातमा सरकारले तोकेभन्दा बढी भाडा लिए गाडी नम्बरसहित उजुरी गर्न यातायात व्यवस्था विभागले आह्वान गरेको छ ।

विभागले गत असोज ७ गते सार्वजनिक यातायातमा १० प्रतिशत भाडा बढाएको थियो । बढेको भाडाअनुसार काठमाडौं उपत्यकामा चार किमिसम्मको भाडा १४ रुपैयाँ तोकिएको छ । पाँच किमीसम्म १६, छ किमिसम्म १७, आठ किमिसम्म १८, १९ किमिसम्म २६ र १९ किमीभन्दामाथि २७ रुपैयँ भाडा निर्धारण गरिएको छ ।

विभागले उपत्यका र स्थानीय ‘रुट’ मा यो भाडादर निर्धारण गरी लागू गरेको प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले राससलाई जानकारी दिए । तोकिएको भाडादर भन्दा बढी भाडा लिनेलाई अनुगमन गरी कारवाही गरिने उनले बताए ।

‘अनुगमनका लागि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ र उपभोक्तावादी सङ्घ संस्थाका प्रतिनिधि रहेको समूह परिचालन गरिनेछ, अनुगमनका क्रममा बढी भाडा लिएको पाइएमा कानून बमोजिम कारवाही हुनेछ’ प्रवक्ता उपाध्यायले भने ।

‘उजुरी त  हात्तीको देखाउने दाँतमात्रै’

तोकेभन्दा एक रुपैयाँ मात्र बढी भाडा लिए पनि पाँच हजार रुपैयाँ जरिवाना गरिने विभागले जनाएको छ । सार्वजनिक यातायातको सुधार अभियन्ता रामबहादुर थापा विभागले बढी भाडा लिनेका विरुद्ध निस्सासहित उजुरी गर्ने व्यवस्था गरेको तर टिकट नदिने भएकाले कारवाहीको कुरा हात्तीको देखाउने दाँतमात्र हुने बताए ।

‘विभागका कर्मचारी यातायात व्यवसायीको प्रभावमा परी भाडा बढाउन मात्र लाग्छन्, सवारी तथा यातायात व्यवस्था ऐन एवं नियमावलीमा भएको प्रावधान अनुसार टिकट दिनुपर्ने कानूनी व्यवस्थालाई कार्यान्वयन गराउन ध्यान दिँदैनन्, विभाग यात्रु भन्दा व्यवसायीका पक्षमा काम गर्छन्, परिचालकलाई अनुमति पत्र एवं परिचय पत्र दिनेतर्फ पनि विभागको ध्यान जान सकेको छैन’ उनले भने ।

विभागका प्रवक्ता उपाध्याय भने परिचालकले टिकट नदिए पनि सवारी नं सहित विभागको फ्याक्स नं सहित ४४७४९२२, फोन नं ४४७९६९० मा उजुरी गर्न सकिने बताउँछन् । यसैगरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको हेलो सरकार कक्षको टोल फ्रि नं ११११ फोन सम्पर्क र सन्देश पठाएर पनि उजुरी गर्न सकिनेछ ।

यसैगरी ७७ वटै जिल्ला प्रशासन कार्यालय, नजिकको प्रहरी कार्यालय वा ट्राफिक प्रहरी कार्यालयमा समेत उजुरी गर्न सकिने विभागले जनाएको छ ।

प्रहरीको टोल फ्रि नं १०१ र १०३ मा पनि बढी भाडा लिएको, दशैँमा अग्रिम टिकट बुकिङमा कालोबजारी, बढी भाडा लिएको आदि गुनासाको उजुरी मौखिक वा लिखित रुपमा गर्न सकिने जनाइएको छ । यसैगरी नजिकको यातायात व्यवस्था कार्यालयमा यससम्बन्धी उजुरी गर्न सकिन्छ ।

उजुरी गर्दा सुनुवाई गरेको गुनासो

नेपाल मेडिकल कलेजबाट गौशाला हुँदै पुरानो बसपार्कतर्फ आइरहेको बा १ ज ५७६२ नं. को माइक्रो बसले यात्रु गिरेन्द्रप्रसाद शर्मासँग सोमबार बिहान बढी भाडा लियो । विभागको वेवसाइटमा उल्लेख गरिएको सूचनाआनुसार शर्माले ट्राफिक प्रहरीको १०३ नं. मा फोन गरे । फोन उठाएका विशाल खत्रीले रुखो स्वरमा कुरा गरी उजुरी दिन हतोत्साहित बनाएको उनले गुनासो गरे ।

‘विभागको वेभसाइटमा राखिएको सूचना अनुसार चार किमिसम्मको भाडा १४  रुपैयाँ हो, गौशालाबाट म चढेँ, कमलपोखरी आइपुगेपछि परिचालकले भाडा मागे, मैलै १४ दिएँ, भाडा १८ रुपैयाँ हो भन्दै दुर्व्यवहार गरे’–उनले भने ।

सार्वजनिक यातायातमा हुने ठगीको यो त प्रतिनिधि घटना मात्र हो । यस्ता घटना दैनिक हजारौँ हुन्छन् । भाडा बढाउन अग्रसर हुने विभागले सवारी तथा यातायात व्यवस्था ऐन एवं नियमावलीमा गरिएको व्यवस्था बमोजिम टिकट दिनुपर्ने प्रावधानलाई भने कार्यान्वयन नगराएको यात्रुको गुनासो छ ।

गुनासो सम्बोधन गर्न विभागले सरोकार भएका निकायको संलग्नतामा १२ वटा अनुगमन समूह र उपत्यकाका विभिन्न स्थानमा १३ वटा नागरिक सहायता कक्ष स्थापना गरेको छ । यसका लागि उपत्काका छ वटै यातायात व्यवस्था कार्यालयका अधिकारीलाई खटाइएको जनाइएको छ ।

विद्यार्थी, वृद्धवृद्धा, अपाङ्ग लगायतको सहुलियत परिचालकले नदिए पनि उजुरी गर्न सार्वजनिक रुपमा आह्वान गरिएको छ । विभागले यसपछिको भाडा समायोजन भने इन्धनको मूल्यमा पाँच रुपैयाँले घटबढ भएपछि गर्ने जनाएको छ । यसअघि सरकारले २०७२ माघ २४ गते लागू गरेको भाडादर पनि लागू भएको थिएन ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.