काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले संविधानप्रति प्रधानमन्त्रीको प्रतिवद्धतामाथि प्रश्न उठाएको छ ।
बजेट अधिवेशनको पहिलो दिन सोमबार संसदलाई सम्बोधन गर्दै विपक्षी दलका दलका नेता शेरबहादुर देउवाले सरकार संविधानले स्थापित गरेको संघीय, लोकतान्त्रिक, गणतन्त्र र समावेशिताका संरचनालाई भत्काउने दिशा उद्यत भएको आरोप लगाए ।
सेना परिचालनको निर्णय संवैधानिक परिषदबाट खोसेर प्रधानमन्त्रीमा ल्याउन खोजेको भन्दै उनले यो प्रत्युपादक हुने बताए । ‘सबै तहका राज्य संरचनाको अधिकार आफूमा केन्द्रीत गरेर चाडै विकास गर्न सक्छु भन्ने भ्रमबाट मुक्त हुन प्रधानमन्त्रीलाई आग्रह गर्दछु ।’
न्याय, समृद्धि र विकासका लागि लोकतान्त्रिक व्यवस्थाको विकल्प नभएको भन्दै देउवाले भने, प्रधानमन्त्री संविधानप्रतिको तपाईको प्रतिबद्धता विगतको इतिहास देखाएर होइन, वर्तमानको कामबाट प्रमाणित गर्नुस् । मेरो तपाईलाई यही शुभकामना छ ।’
