Naya Media
बुधबार, असार १०, २०८३
| | June 24, 2026
बुधबार, असार १०, २०८३

सीमामा सतर्कता

User Photo बुधबार, चैत्र ११, २०७७
काठमाण्डाै ।

काँकडभिट्टा–पानीट्यांकीमा रहेको मेची पुलमा बिहानदेखि घुइँचो लाग्ने गरेको छ। भारतीय पक्षले आफ्नो मुलुकमा आउनेलाई बिहान ९ बजेपछि मात्र प्रवेश दिने गरेको छ। भारतीय पक्षले आउनेको स्वास्थ्य परीक्षण गर्ने भए पनि नेपाल प्रवेश गर्नेलाई कुनै परीक्षण गरिँदैन। काँकडभिट्टा नाका भएर विभिन्न जिल्लाका नेपाली भारतबाट भित्रिन्छन्।

सरकारले एक महिनाअघि अनलाइन फारम भरेपछि भारतीयलाई प्रवेश गर्न दिने नियम बनाएको थियो। रानी–जोगबनीबाट सोही नियममा रही दैनिक १०–१२ जना मात्र आवतजावत गर्छन्। तर, हजारौंले चोरबाटो रोज्ने गरेका छन्। पुरानो रानी गेट यात्रु आवतजावत गर्ने नाका मात्र भएकाले ताला लगाए पनि जोगबनी किनमेल गर्न जानेहरू अन्य ठाउँबाट दैनिक ओहोरदोहोर गर्छन्।

भारतमा फेरि कोरोना संक्रमण बढेपछि मुख्य नाकामा हेल्थ डेस्क राख्न प्रशासनले चासो देखाए पनि अन्य ठाउँबाट आवतजावत हुने क्रम रोक्न कुनै निर्णय छैन। रानी–जोगबनी नाकामा सोमबारदेखि हेल्थ डेस्क सक्रिय गराइएको छ। डेस्कमार्फत नेपाल प्रवेश गर्न चाहनेको परीक्षण तत्कालै गर्ने व्यवस्था मिलाइएको छ। परीक्षणपछि नेपाल आउनेमा कोरोना संक्रमण भए/नभएको यकिन हुने मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले बताए। भारतबाट आउनेहरू कोरोना परीक्षणपछि मात्रै प्रवेश गर्न पाउने निरौलाको भनाइ छ।

जिल्ला प्रशासन कार्यालय मोरङमा सोमबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले कोरोना नियन्त्रण गर्न र संक्रमण थप फैलन नदिन बेलैमा सतर्कता आवश्यक रहेको निष्कर्ष निकालेको छ।

मोरङमा पनि संक्रमण बढ्न थालेकाले सतर्कता अपनाउने निर्णय बैठकले गरेको छ। निरौलाका अनुसार शंकास्पद व्यक्तिको नाकामै एन्टिजेन परीक्षण गरिनेछ। एन्टिजेन जाँच गर्दा कोरोना भए/नभएको तत्कालै रिपोर्ट आउने निरौलाले बताए। रिपोर्ट पोजिटिभ आए थप परीक्षण तथा उपचारका लागि पठाइने, नेगेटिभ आउनेलाई गन्तव्यतर्फ जान दिइने उनको भनाइ छ।

महोत्तरीको भिठ्ठामोड भारतबाट भित्रिने प्रमुख नाकामध्ये एक हो। यो नाका एक वर्षदेखि बन्द छ। नेपाल पक्षले तारबार हटाएर आउजाउ खुला गरे पनि भारतीय सीमा सुरक्षा बलले भारत प्रवेशमा रोक लगाएको छ। तर, मुख्य प्रवेशद्वारको छेउबाटै खेतको बाटो भएर निर्बाध आउजाउ चलिरहेको छ। धनुषाका जटही, मधवापुरलगायत अन्य नाकाबाहेक पनि वैकल्पिक बाटो प्रयोग गरी आउजाउ हुने गरेको छ।

‘सीमाहरूमा न हेल्थ डेस्क छ न त कुनै प्रकारको सुरक्षा सतर्कता अपनाइएको छ। यसले महामारीको जोखिम अझ उच्च हुन्छ’, स्वास्थ्य क्षेत्रमा कार्यरत शिवशंकर मिश्रले भने, ‘यसअघि पनि भारतबाटै आएकाहरूका कारण कोरोना बढी फैलिएको थियो। पहिला सावधानी नअपनाउने र पछि पछुताउने बानी फेरि पनि दोहिरिँदै छ।’

४ सय ३१ किलोमिटर खुला सिमाना रहेको प्रदेश २ मा दुई देश पस्न अनेकौं चोरबाटा छन्। यी चोरबाटामा निरन्तर निगरानी गाह्रो रहेको सुरक्षा अधिकारी बताउँछन्। सीमा क्षेत्रमा बस्नेहरूले आफैं सुरक्षा सतर्कता अपनाएर जोखिम न्यूनीकरण गर्नुपर्ने सुझाव सुरक्षा अधिकारीको छ।

रूपन्देहीस्थित बेलहिया नाका नाका भएर दैनिक हजारौंको आउजाउ हुन्छ। तर, मास्कसमेत लगाएको देखिँदैन। हेल्थ डेस्कमा दुई दिनदेखि शरीरको तापक्रम जाँच गर्न थालिएको छ। हेल्थ डेस्कमा सिद्धार्थनगर नगरपालिकाबाट तीन अहेव र एक ल्याब प्राविधिक खटिएका छन्। तर, जनशक्ति अभावमा स्वास्थ्यकर्मीले एक जनाको शरीरको तापक्रम जाँच गर्दा २०–२५ जना बिनाजाँच प्रवेश गर्ने गरेका छन्।‘हामीले उता (भारत)बाट आउनेको शरीरको तापक्रम जाँच गर्ने गरेका छौं’, हेल्थ डेस्कमा खटिएका स्वास्थ्यकर्मी लालमोहन चौधरीले भने, ‘शंकास्पद लागेको अवस्थामा एन्टिजन किटमार्फत कोरोना परीक्षण सुरु गरेका छौं।’

भारतका विभिन्न स्थानबाट झिटीगुन्टा बोकेर आउनेको नाम, ठेगानासहितको अभिलेख राख्ने गरिए पनि स्थानीयको अभिलेख राख्ने गरिएको छैन। नगरपालिकाको सहायतामा यूएसएआईडीअन्तर्गत स्वास्थ्यका लागि सक्षम प्रणाली परियोजनाले नाकामा कोरोना परीक्षणको व्यवस्था मिलाएको छ।

भारतमा कोरोना बढे पनि कैलाली र कञ्चनपुर भन्सार कार्यालयमा त्यसको असर देखिएको छैन। कञ्चनपुर भन्सार कार्यालयले भारतबाट निर्बाध रूपमा आयात भइरहेको जनाएको छ।
कार्यालयका सूचना अधिकारी केशवराज विष्टले निर्बाध रूपमा आयात–निर्यात भइरहेको बताए।

विष्टका अनुसार फागुनमा लक्ष्यभन्दा बढी राजस्व संकलन भएको छ। ‘हामीले २२ करोड राजस्व संकलन गर्ने लक्ष्य लिएका थियौं, २६ करोड संकलन गरेका छौं’, उनले भने, ‘लकडाउनपछि साइकलमा आउने सामान पनि गाडीमा आउन थालेको छ।’

‘आयात–निर्यातमा कुनै फरक परेको छैन, सबै सामान निर्बाध रूपमा आइरहेको छ’, थापाले भने।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.