व्यक्तिका घर, पसल, सञ्चार गृह र सरकारी सम्पत्तिमा आगजनी बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले तीनकुने क्षेत्रमा कर्फ्यु लगाएको छ । स्रोतका अनुसार तीनकुने क्षेत्रमा अराजकता बढ्दै गएको, सुरक्षाकर्मी र दमकलमाथि नै आक्रमण गर्ने क्रम बढेपछि स्थिति नियन्त्रणमा लिन कर्फ्यु लगाउने निर्णय गरिएको हो ।
गृह मन्त्रालयमा गृहमन्त्री रमेश लेखक, प्रहरी महानिरीक्षक दीपक थापा, काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीसहितको छलफलपछि कर्फ्यु लगाउने निर्णय भएको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौंका सूचना अधिकारीसमेत रहेका सहायक प्रमुख जिल्ला अधिकारी अशोककुमार भण्डारीले केही बेरमा सूचना अपलोड हुने बताए ।
राजावादी समूहले काठमाडौंको आलोकनगरस्थित नेकपा एकीकृत समाजवादीको कार्यालयमा तोडफोड गरेको छ । प्रर्दशनकारीहरुले पेरिसडाँडामा रहेको माओवादी पार्टी कार्यलयमा समेत आक्रमण र तोडफोडको प्रयास गरेका थिए ।
प्रर्दशनकारीहरुले उनीहरूले तीनकुनेका विभिन्न घरभवनमा तोडफोड गर्नुका साथै आगजनीसमेत गरेका छन् । तीनकुनेमा राखेको सभा नसकिँदै राजावादीहरू प्रहरी घेरा तोड्दै अघि बढेपछि अवस्था तनावग्रस्त बनेको छ ।
त्यसैगरी कोटेश्वरको भाटभटेनीमा तोडफोड भएको छ । राजावादी समूहको प्रदर्शन बिथोलिएपछि तितरवितर भएको समूहले कोटेश्वरको भाटभटेनी सुपरस्टोरमा तोडफोड गरेको भाटभटेनी सुपरस्टोरका सीईओ पानु पौडेलले बताए ।
सो समूहले तीनकुनै नजिकै पर्ने आलोकनगरस्थित एकीकृत समाजवादीको कार्यालयमा आगजनीसमेत गरेको छ ।
आक्रोशित समूहका व्यक्तिहरु कोटेश्वरका गल्ली गल्ली हिँड्दै माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडातर्फ पनि अगाडि बढेका छन् । उनीहरुले कारमा आगजनी र एउटा मोटरसाइकलमा तोडफोड समेत गरेका छन् ।
त्यसैगरी अन्नपूर्ण पोष्टको कार्यालय रहेको भवनमा आगजनीको प्रयास भएको छ । तीनकुनेस्थित कार्यालयको भवनमा राजावादी प्रदर्शनकारीहरूले आगजनीको प्रयास गरेका हुन् ।
राजावादीहरुको प्रदर्शन बिथोलिएपछि उग्र भएको समूहले अन्नपूर्ण पोष्ट दैनिकको कार्यालयमा ढुंगामुढा गरेको थियो । ढुंगामुढाबाट कार्यालयको सिसा फुटेको छ ।
