गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । बिहीबार कास्कीमा एक कार्यक्रमबीच गुरुङलाई नेकपाका गण्डकी प्रदेश इञ्चार्जसमेत रहेका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पार्टीमा स्वागत गरेका हुन् ।
सांसद गुरुङलाई पार्टीमा स्वागत गरेपछि मुख्यमन्त्री गुरुङले भने, ‘प्रदेशसभामा दुई तिहाइ बहुमत पुगेकोमा हामी उत्साहित छौं।’ ज्यान मार्ने उद्योगमा मुद्दा खेपिरहेका मनाङे स्वतन्त्र सांसद थिए।मुख्यमन्त्री गुरुङले उनी सुध्रन चाहेर पार्टीमा आएको भन्दै खुसी व्यक्त गरे।
ज्यान मार्ने उद्योगमा दोषी ठहर गर्दै २०६९ सालमा तत्कालीन पुनरावेदन अदालत पाटनले मनाङेलाई ५ वर्ष जेल सजाय सुनाएको थियो। त्यही मुद्दामा उनलाई गत २०७५ वैशाख ६ गते प्रहरीले पक्राउ गरेर थुनामा राखिएको थियो। पछि पुस ६ गते सर्वोच्च अदालतले थुनामुक्त गर्न आदेश दिएपछि उनी शपथ लिएर प्रदेशसभामा जान थालेका थिए।
