Naya Media
शुक्रबार, बैशाख ४, २०८३
| | April 17, 2026
शुक्रबार, बैशाख ४, २०८३

प्रधानमन्त्रीले देशको शासन चलाउने क्षमता गुमाइसके- गगन थापा

'ओलीकाे पदमा बसिरहने राजनीतिक र नैतिक हैसियत छैन'

User Photo आइतवार, फाल्गुन ११, २०७६
काठमाण्डाै ।

नेपाली कांग्रेसेका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले पदमा बसिरहने राजनीतिक र नैतिक हैसियत गुमाइसकेको बताएका छन् । बर्दियामा आइतबार आयोजित कार्यक्रममा सांसद थापाले निवर्तमान सञ्चारमन्त्री गोकुल बास्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ७० करोड घुस मागेको अडियोबारे प्रधानमन्त्रीलाई दुई महिना पहिले नै थाहा थियो भन्ने सुनेको बताए ।

त्यही प्रधानमन्त्रीले बास्कोटा जस्तो प्रतिभा आफ्नो सरकारमा अरु कोही छैन भनेको भन्दै उनले भने, ‘प्रधानमन्त्रीले भन्नुभयो, गोकुल बास्कोटा एकातिर, अरु मन्त्री अर्कोतिर राखेर तौलौं, गोकुल बास्कोटाले जित्नुहुन्छ । यसो भन्दै गर्दा प्रधानमन्त्रीले के के तौलिने भन्नु भएको, मान्छे कि जम्मा गरेको धन ?’

प्रधानमन्त्रीलाई थाहा भएर पनि यो हुनुको अर्थ प्रधानमन्त्री नै संलग्न भएको आफूहरुको दाबी भएको उनले बताए । उनले अघि भने, ‘तपाईं संलग्न हुनु भएकाले गोकुल बास्कोटा जति दोषी हो, तपाईं पनि त्यति नै दोषी हो ।’

‘प्रधानमन्त्रीले भन्नुहोला, मलाई थाहा थिएन । ठीक छ’ उनले अघि भने,‘जो व्यक्ति प्रधानमन्त्रीको सबैभन्दा नजिकको छ, प्राधनमन्त्रीकै घरमा बस्छ, सरकारको प्रवक्ता छ, उसले गरेको यत्रो घोटाला थाहा छैन भने थाहा चाहिँ के छ ?’

‘त्यसैले दुवै अवस्थामा आजको दिनमा उहाँसँग प्रधानमन्त्री हुने संख्याको ताकत होला तर नेपालको प्रधानमन्त्री हुने राजनीतिक र नैतिक हैसियत गुमाइसक्नु भएको छ । जतिदिन उहाँ प्रधानमन्त्री भएर रहनुहुन्छ, त्यति अवसर गुमाउँछौं ।’

प्रधानमन्त्रीलाई केही थाहा छैन

यसअघि आफूलाई प्रधानमन्त्रीले बोल्दा कतिपय कुरा ठट्टा गरेको, कतिपय ढाँटेको भन्ने लागेको तर हालै संसदमा गरेको लामो सम्बोधन सुनेपछि ढाँटेको होइन, केही थाहा नै छैन भन्ने निष्कर्षमा पुगेको थापाले सुनाए ।

उनले भने, ‘हाम्रो प्रधानमन्त्रीले ढाँट्नु भएको होइन, हाम्रो प्रधानमन्त्रीलाई केही थाहा नै छैन । थाहा पाउने क्षमता नै गुमाइसक्नुभयो । किन गुमाउनु भयो थाहा छैन । तर प्रधानमन्त्रीले थाहा पाउने क्षमता नै गुमाइसक्नुभएको छ ।’

‘प्रधानमन्त्रीले संसदमा उभिएर भन्नुभयो, २ अर्ब नेपालमा वैदेशिक लगानी आउँदैछ । यत्रो २ अर्बको लगानी प्रतिवद्धता भनेर जसले लेखिदियो, उसले के भनिदिएन भने प्रधानमन्त्रीजी तर गएको ६ महिनामा ६ अर्ब मात्र आयो । गएको वर्ष योभन्दा बढी बोलेका थिए । बोल्छन् तर दिँदैनन् भनेर कसैले भनिदिएन ।’

हिजो कोही हल्लिएको देख्दा राजाले यिनीहरुले दुधभात खान पाएनन् भनेर सोधे जस्तै अहिले प्रधानमन्त्री ओलीले कोही पनि बेरोजगार छैनन् भनेको उनले बताए ।

थापाले भने, ‘प्रधानमन्त्रीले विश्व बैंकको एउटा तथ्याङ्क पढेर भन्नुभयो, नेपाललाई विश्व बैंकले तारिफ गरेको छ । उद्यम गर्न चाहने महिलाहरुले उद्यम गर्न चाहेको देश मध्ये राम्रो भनेको ठाउँमा प्रधानमन्त्रीलाई कसैले भनिदिएन, गएको एक वर्षमा ऋण पाउने जम्मा महिला १६ सय मात्र हो । प्रधानमन्त्रीले भन्नुभयो, युवाहरुले सर्टिफिकेट राखेर ऋण पाएका छन् । प्रधानमन्त्रीलाई कसैले भनिदिएन, सर्टिफिकेट राखेर ऋण पाउने युवा जम्मा ३८ जना हो ।’

उनले अघि भने, यो सबैले के बताउँछ ? नेपालको प्रधानमन्त्रीको देशको शासन चलाउने क्षमता गुमाउनु भएको छ ।’

प्रधानमन्त्रीले संघीयतामा देश ठीक ढंगले चलेको छ भनेको भोलिपल्ट उहाँकै प्यारो मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संघीय सरकारकै कारण संघीय व्यवस्था डुब्यो भनेको उनले सुनाए । ‘राणाले जस्तो देश चलाएर हुँदैन प्रधानमन्त्रीजी भनेर डा. शेखर कोइरालाले भन्नु भएको होइन, पृथ्वीसुब्बा गुरुङले भन्नु भएको हो । तर प्रधानमन्त्रीको कानमा त्यो कुरा पुग्दैन’ थापाले भने ।

प्रधानमन्त्रीलाई देशमा के भइरहेको छ भन्ने नै थाहा नभएको भन्दै उनले भने, ‘प्रधानमन्त्रीलाई के लागिरहेको छ भने देशमा गजब भएको छ । सडकमा कोही नाङ्ग छैनन्, खान नपाएका, घरबार नभएका कोही छैनन् । सबैले रोजगारी पाएका छन्, आमाहरु खुसी छन्, बाहरु नाचिरहनु भएको छ भन्ने छ ।’

प्रधानमन्त्री ओलीले ढाँटेको नभई उहाँ आफैं दिग्भ्रमित भएको कांग्रेस नेता थापाको दाबी छ ।

सरकारसँग लसपस नगरौं

नेता थापाले पार्टी नेतृत्वलाई सरकारले यो गरेन यो गरेन, त्यो गरेन भन्ने मात्र नभई यो व्यवस्थाप्रति जनताको भरोसा टिकाइराख्नेतर्फ लाग्न सुझाएका छन् ।

कांग्रेसको चिन्ता नेकपाले दुई तिहाई ल्यायो भन्नेमा होइन, संविधान अनुरुप व्यवहार गर्‍यो कि गरेन ? यो व्यवस्था जोगिन्छ कि जोगिन्न भन्क्ने भएकोमा शेरबहादुर देउवादेखि तल्ल्लो कमिटीका सदस्य समेत प्रष्ट हुनुपर्ने उनले बताए । ‘तलदेखि स्थानीय तहसम्म सरकारसँग लसपस गर्‍यो भन्ने आरोप छ, कांग्रेस नेकपा सरकारको लसपसबाट पूर्ण रुपमा अलग रहनुपर्छ,’ सांसद थापाले भने ।

सरकारले राम्रो गर्दा मद्धत गर्ने र गल्ती गर्दा प्रश्न गर्ने हैसियत कांग्रेसले राख्नुपर्ने उनले बताए ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.