लालपुर्जा भएको नेपाली भूमि एकाएक भारतमा पारिएपछि त्यसको रक्षा गर्न कञ्चनपुरका बासिन्दा जुटेकाछन । उनीहरूले सीमास्तम्भ संख्या ७८३ का ४ सहायक स्तम्भ भत्काइदिएका छन्।
नेपाली कांग्रेस कञ्चनपुरका सभापति हरि बोहरासहितका नेता अनुगमनमा गएका बेला स्थानीयले सीमास्तम्भै भत्काएका हुन्। उक्त स्तम्भ नेपाल–भारत संयुक्त सीमा सर्भे टोलीले एक महिनाअघि मात्रै गाडेको थियो। ‘नेपालीहरूको लालपुर्जा र फिल्डबुक कायम भएको ५० बिघाभन्दा बढी जग्गा भारतमा गाभिएपछि आक्रोशित स्थानीयले सीमास्तम्भ भत्काएका हुन्’, सीमा सुरक्षा संघर्ष समितिका संयोजक गोपी उपाध्यायले भने। अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।
कैलालीको खक्रौलाबाट कञ्चनपुरको ब्रह्मदेवसम्म नयाँ सीमास्तम्भ निर्माण र मर्मत सीमा सर्भे टोलीले गरिरहेको छ। टोली यही वर्ष मात्रै कञ्चनपुरको बढी विवादित क्षेत्र बेलौरी आइपुगेको हो। बेलौरीमा दुई महिनादेखि जोर पिलर (सीमास्तम्भ) भारतले र बिजोर पिलर नेपालले बनाइरहेका छन्। सीमा सर्भे टोलीका नेपाल प्रमुख सुदर्शन धामीका अनुसार स्थानीयले भत्काएको सीमास्तम्भ भारतीय टोलीले बनाएको हो। संघर्ष समितिका संयोजक उपाध्यायका अनुसार बेलौरी नगरपालिका–१० भुडाबाट बैवाहासम्म ४० नेपाली परिवारको लालपुर्जा भएको जग्गा भारतमा परेको छ। ‘वर्षौंदेखि सञ्चालनमा रहेको हरि चन्दको इँटाभट्टासमेत भारततर्फ परेको छ’, उनले भने।
