कञ्चनपुरको बेदकोट नगरपालिका ९ सुन्दरपुर स्थित कृषि तालिम केन्द्रको भवनमा सञ्चालन गरिएको क्वारेन्टाइनबाट भागेका दुई जनालाई नियन्त्रण लिएर पुनः क्वारेन्टाइनमै राखिएको छ ।
गएराति क्वारेन्टाइनको छतबाट हामफालेर भागेका निरज कुँवर र सुरज कुँवरलाई घरबाटै सुरक्षाकर्मीले नियन्त्रणमा लिएको हो । नगरपालिकाका क्वारेण्टाइन व्यवस्थापन समितिका संयोजक रामसिंह धामीका अनुसार रातको समयमा उनीहरु भागेका थिए ।
क्वारेन्टाइनको सुरक्षार्थ दुई जना सुरक्षाकर्मीसमेत तैनाथ गरिएका छन्। अहिले क्वारेन्टाइनको सुरक्षा व्यवस्था कडा पारिएको छ । भागेका उनीहरु चैत २० गते भारतको नयाँ दिल्लीबाट फर्केका हुन् । उक्त क्वारेन्टाइनमा भारतबाट फर्केका २३ जनालाई राखिएको छ ।
