सुदूरपश्चिमका ५ जना कोरोना संक्रमित मध्ये एक जना संक्रमितको दोस्रो रिपोर्ट भने नेगेटिभ आएको छ। सेती प्रादेशिक अस्पतालका प्रवक्ता समेत रहेका आकस्मिक विभागका प्रमुख डाक्टर जगदिश जोशीका अनुसार लम्कीचुहा नगरपालिकाका २१ बर्षीय युवकको दोस्रो रिपोर्ट नेगेटिभ आएको हो।
उनको रिपोर्ट नेगेटिभ आएपनि उनलाई अस्पतालको आईसोलेसनमै राखिएको छ। डाक्टर जोशीका अनुसार लगातार दुई पटक रिपोर्ट नेगेटिभ आएपछि मात्रै डिस्चार्ज गरिन्छ।
यस्तै धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत अन्य चार जना कोरोना संक्रमितको अर्को रिपोर्ट पनि पोजेटिभ आएको छ। धनगढी उप-महानगरपालिका वडा नम्वर ५ का ३४ बर्षीय युवक, उनकी ३४ बर्षीय भाउजु, कञ्चनपुरको बेदकोट नगरपालिकाका ४१ बर्षीय पुरुष र लम्की चुहा नगरपालिका वडा नम्वर १ कि ६५ बर्षीय महिलाको कोरोना रिपोर्ट फेरी पोजेटिभ आएको हो।
डाक्टर जोशीले तीन जनाको तेस्रो र लम्की चुहा नगरपालिका वडा नम्वर १ कि महिलाको दोस्रो रिपोर्ट पोजेटिभ आएको बताए। धनगढी उप-महानगरपालिका वडा नम्वर ५ का ३४ बर्षीय युवकको तेस्रो रिपोर्ट यसअघि नै आईसकेकोमा अब चौथो पटक परीक्षणको तयारी भईरहेको समेत उनले बताए। सुदूरपश्चिममा पछिल्लो ६ दिनयता कोरोना संक्रमितको संख्या बढेकाे छैन ।
