धनगढीका युवक ३० दिनमा कोरोना जितेर घर फर्किएका छन्। सुदूरपश्चिमका पहिलो कोरोना संक्रमित ती युवक सेती प्रादेशिक अस्पतालबाट डिस्चार्ज भएका हुन्।
धनगढी उप-महानगरपालिका-५ का ३४ वर्षीय युवक ३० दिन अस्पताल बसेपछि कोरोनालाई जितेर मंगलबार घर फर्किएका हुन्। लगातार दुई पटकसम्म कोरोना परीक्षण रिपोर्ट ‘नेगेटिभ’ आएपछि उनलाई अस्पतालले डिस्चार्ज गरेको हो।
दुबईबाट आएका उनमा चैत १४ गते कोरोना पुष्टि भएको थियो। तीनपटक परीक्षण गर्दासम्म उनमा कोरोना रिपोर्ट ‘पोजेटिभ’ देखाएको थियो। ३० दिनसम्म अस्पतालमा उपचार गराएपछि निको भएर डिस्चार्ज भएका हुन्।
यसअघि सेतीमै उपचाररत लम्कीका २१ वर्षीय संक्रमित युवक पनि डिस्चार्ज भएका थिए। अब सेतीमा तीन जना संक्रमितको उपचार भइरहेको छ। यता काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट दुईजना र बाग्लुङ अस्पतालबाट एकजना कोरोना संक्रमित निको भएर घर गइसकेका छन्।
