कैलालीको जानकी गाउँपालिकाको सरस्वती मावि क्वारेन्टाइनमा रहेका थप दुई जनामा कोरोना भाइरसको सक्रमण पुष्टि भएको छ ।बिहीबार सेती अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका स्वास्थ्य निरीक्षक हेमरान जोशीले जानकारी दिए । यसअघि सोही क्वारेन्टाइनका ४ जनाको पोजिटिभ आएको थियो ।
जेठको पहिलो साता भारतबाट आएका १६ जनाको समूहमा ६ जनामा कोरोना पोजिटिभ देखिएको हो । अन्य १० जनाको नेगेटिभ रिपोर्ट आएको छ । संक्रमितहरुलाई टीकापुर अस्पताल पठाइएको जानकी गाउँपालिकाका स्वास्थ्य संयोजक भरत मल्लले बताए ।
त्यस्तै दार्चुलामा पनि पहिलो पटक कोरोना भाइरसको संक्रमण देखिएको छ । दार्चुलाको महाकाली नगरपालिकाका एक जना पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य निरीक्षक जोशीले जानकारी दिए । संक्रमित व्यक्तिलाई दार्चुला अस्पताल लगिएको पनि जोशीले जानकारी दिए ।
