Naya Media
बिहिबार, जेष्ठ १४, २०८३
| | May 27, 2026
बिहिबार, जेष्ठ १४, २०८३

प्रधानमन्त्री केपी शर्मा ओलीमा संक्रमण भएको आशंका

संक्रमण रहेको रिपोर्ट आए अस्पताल बसाइ लम्बिन सक्छ- चिकित्सक

User Photo बिहिबार, फाल्गुन २९, २०७६
काठमाण्डाै ।

प्रधानमन्त्री केपी शर्मा ओलीको पिसाबमा संक्रमण भएको आशंका गरिएको छ । उपचारमा संलग्न चिकित्सक टोलीलाई ‘क्लेबसेला ब्याक्टेरिया’ को संक्रमण भएको शंका लागेसँगै पिसाबको कल्चर गर्न पठाइएको छ । कल्चरको रिपोर्ट आउन कम्तीमा ४८ घण्टा लाग्ने भएकाले त्यो हेरेपछि मात्र डिस्चार्जबारे निर्णय लिन सकिने चिकित्सकहरूले बताएका छन् ।

प्रधानमन्त्रीका निजी चिकित्सक प्रा.डा. दिव्यासिंह शाहले ओलीलाई हाल संक्रमण हुने जोखिम उच्च रहेको स्वीकार गर्दै पिसाब कल्चर गर्न पठाइएको जानकारी दिइन् । उनका अनुसार बिहीबार परीक्षणको रिपोर्ट आएपछि मात्र थप केही भन्न सकिन्छ । ‘उहाँलाई अहिले संक्रमण जोखिम छ, त्यसैले हामीले हरेक दिन केही न केही परीक्षण गरी नै रहेका हुन्छौं । पिसाबको पनि त्यहीअनुरूप कल्चर गर्न पठाइएको हो,’ उनले भनिन्, ‘रिपोर्ट ४८ घण्टापछि आउँछ अनि मात्र थप भन्न सकिन्छ ।’

चिकित्सकका अनुसार प्रधानमन्त्री ओलीलाई पहिला पनि ‘क्लेबसेला ब्याक्टेरिया’ को संक्रमण देखिएकाले अहिले शरीरको रोग प्रतिरोधात्मक क्षमता कम भएका बेला त्यो फेरि फर्किने सम्भावना प्रबल रहन्छ । उनलाई त्यसबेला ‘पिपेरासिलिन–ट्याजोब्याक्टम’ नामक एन्टिबायोटिक प्रयोग गरिएको थियो ।

प्रधानमन्त्री ओलीमा ‘क्लेबसेला’ को संक्रमण रहेको रिपोर्ट आए उनको अस्पताल बसाइ थप केही दिन लम्बिन सक्छ । चिकित्सकका अनुसार रोग प्रतिरोधात्मक क्षमता कम भएका बिरामीलाई यो ब्याक्टेरियाको संक्रमण हुने सम्भावना उच्च रहन्छ । त्यसमा पनि मिर्गौला प्रत्यारोपण गरिएका बिरामीमा यस प्रकारको पिसाबको संक्रमण देखिने दर उच्च रहेको छ । सुरुमा चिकित्सकहरूले मिर्गौला प्रत्यारोपणको पाँचदेखि सात दिनभित्र डिस्चार्ज गर्ने बताए पनि ओलीलाई बुधबारसम्म ‘लिभर आईसीयू’ मै राखिएको छ ।

डा. शाहका अनुसार प्रधानमन्त्रीलाई संक्रमण नहोस् भनेरै बालुवाटारमा उनी बस्ने कोठालगायत अन्य स्थानको ‘फ्युमिगेट’ (संक्रमणका स्रोत हुन सक्ने सम्भावित स्थान पहिचान गरी त्यसलाई निर्मलीकरण गरिने पद्धति) पछि मात्र डिस्चार्ज गरिनेछ ।

बुधबारै क्रिटिकल केयरका एक चिकित्सक र डा. शाह बालुवाटार गएर निरीक्षण गरेका थिए । ‘बालुवाटारमा केही तयारी अझै बाँकी छ, त्यसले पनि डिस्चार्जको समय धकेलिएको हो । निवासमा तयारी सकिएपछि हामी छिट्टै डिस्चार्ज गर्छौं,’ उनले भनिन् ।

प्रधानमन्त्रीलाई पहिला पनि यस प्रकारको संक्रमण देखिँदा निवासमै इन्जेक्सन दिने गरिएको थियो । एक विज्ञ चिकित्सकका अनुसार पिसाबमा ‘क्लेबसेला ब्याक्टेरिया’को संक्रमणसँगै ज्वरो पनि आए जोखिम रहने तर संक्रमण मात्र देखिए खासै आत्तिनुपर्नेछैन । उनका अनुसार रगतमा भन्दा पिसाबमा देखिएको संक्रमण नियन्त्रण गर्न सहज हुन्छ तर ओलीलाई एक प्रकारको एन्टिबायोटिक मात्र प्रयोग गर्न मिल्ने भएकाले केही जटिलता भने रहन सक्छ ।‘संक्रमण नै देखिए पनि अरू लक्षण नभए आत्तिनु पर्दैन, एन्टिबायोटिकबाटै नियन्त्रण हुन्छ,’ उनले भने ।

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले डिस्चार्ज गर्ने भन्ने निर्णय चिकित्सकले नै लिने बताए । ‘डिस्चार्ज गर्ने निर्णय भएपछि सञ्चार माध्यमलाई अवश्य डाकिनेछ,’ रिमालले कान्तिपुरसँग भने । मंगलबार मात्र प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनका निजी चिकित्सक डा. शाहले डिस्चार्ज गर्न मिल्ने भए पनि परिवारको आग्रहमा थप केही दिन अस्पतालमै राख्ने निर्णय भएको बताएकी थिइन् ।

यसैबीच, ओलीलाई मिर्गौला दान गर्ने समीक्षा संग्रौलालाई बुधबार डिस्चार्ज गरिएको छ । याे समाचार कान्तिपुरमा प्रकाशित छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.