Naya Media
शुक्रबार, जेष्ठ ३०, २०८२
| | June 13, 2025
शुक्रबार, जेष्ठ ३०, २०८२
Advertisement

बिम्स्टेकलाई अनुभूत हुने उपक्षेत्रीय सङ्गठनका रुपमा विकास गर्ने प्रतिबद्धता

बिम्स्टेक

User Photo
बुधबार, भदौ १३, २०७५

काठमाडौँ : बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को १६औँ मन्त्रिस्तरीय बैठकले सङ्गठनलाई प्रभावकारी, परिणाममुखी र सदस्य देशका नागरिकलाई अनुभूत हुने उपक्षेत्रीय सङ्गठनका रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

चौथो शिखर सम्मेलनको पूर्वसन्ध्यामा आज राजधानीमा सम्पन्न उक्त बैठकले सङ्गठनका सहायताका क्षेत्रहरुको प्राथमिकता निर्धारण गर्दै तिनलाई समग्र बिम्स्टेक भेगको आर्थिक उन्नयनमा केन्द्रित गर्नुपर्नेमा मतैक्यता प्रकट गरेको छ ।


advertisement

रेल, सडक, हवाईमार्ग र अप्टिकल फाइबरका माध्यमबाट सदस्य मुलुकबीच सम्पर्क र सम्बन्ध विस्तार, व्यापार, पर्यटन, ऊर्जा र कृषिजस्ता आर्थिक विकासका मुख्य क्षेत्रमा सङ्गठनको सहायता बढाउनु अपरिहार्य भएको स्वीकार गर्दै बैठकले विकासका अथाह सम्भावनायुक्त बिम्स्टेक क्षेत्रलाई शान्त, समृद्ध र दिगो विकासतर्फ उन्मुख गराउन सामूहिक प्रयास गर्ने दृढता पनि व्यक्त गरेको छ ।

सङ्गठनका गतिविधिलाई पूर्णरुपमा कार्यान्वय गर्न बैठकले सशक्त कदम चाल्न सहमति जनाएको छ । बिम्स्टेकको अभ्यासअनुसार नेपालका परराष्ट्रमन्त्रीले बिम्स्टेक मन्त्रिस्तरीय बैठकको अध्यक्षता श्रीलङ्काका विदेश राज्यमन्त्रीलाई हस्तान्तरण गर्नुभयो । श्रीलङ्काले अध्यक्षता ग्रहण गरेकामा सदस्य मुलुकका विदेशमन्त्रीले आभार प्रकट गर्नुभयो ।

बैठकमा सङ्गठनका सहयोगका १४ क्षेत्रमा हालसम्म भएका प्रगतिको समीक्षा हुनाका साथै बिम्स्टेकअन्तर्गत केन्द्र र संयन्त्र चाँडोभन्दा चाँडो स्थापना गर्नुपर्नेमा जोड दिइएको थियो । सत्रौँ मन्त्रिस्तरीय बैठक श्रीलङ्कामा आयोजना गरिने र त्यसको मिति कूटनीतिक माध्यमबाट पछि निर्धारण गरिने भएको छ ।

बैठकले महासचिव शाहिदुल इस्लामले प्रस्तुत गरेको प्रतिवेदन अनुमोदन गरेको छ । बिम्स्टेकका संस्थागत संरचना तथा तिनका प्रगतिका विवरण प्रस्तुत गर्दै केही स्थायी संरचनाका कानूनी रुपरेखा तयार भएका, परियोजनामा आधारित सहायता प्रवद्र्धन गर्नुपर्ने ज्ञान र प्रविधि आदानप्रदान एवं क्षमता विस्तारमा सहजीकरण तथा सदस्य मुलुकबीच विभिन्न तहमा सम्पर्क र सम्बन्ध विस्तारमा उहाँले पेश गरेका प्रतिवेदनमा जोड दिइएको छ ।

महासचिवको प्रतिवेदनमा बिम्स्टेकको स्थायी सचिवलाय बङ्गलादेशमा स्थापना गर्ने, बिम्स्टेक सांस्कृतिक बेधशाला भूटानमा स्थापना गर्ने, बिम्स्टेक मौसम तथा जलवायु केन्द्र भारतमा स्थापना गर्ने संस्थागत प्रगति प्रस्तुत गरिएको छ ।

बिम्स्टेक ऊर्जा केन्द्र भारतमा तथा बिम्स्टेक प्रविधि हस्तान्तरण केन्द्र श्रीलङ्कामा सञ्चालनको प्रयास भइरहेको जानकारी बैठकमा उनले लिएको परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले बताउनुभयो । बिम्स्टेक स्वतन्त्र व्यापारसम्बन्धमा सम्झौता गर्न व्यापार सम्झौता समितिले २० पटकसम्म गरेका छलफल एवम् वार्ताबारे पनि महासचिवले जानकारी दिएको उनले बताए । बिम्स्टेक मलुकबीच स्वतन्त्र व्यापार गर्न सन् २००४ मा एक सम्झौता भएको थियो ।

बैठकमा महासचिव इस्लामले सदस्य मुलुकबीच भन्सारसम्बन्धी पारस्परिक सहायता अभिवृद्धि गर्नेसम्बन्धी सम्झौतामा भएको प्रगति तथा ‘बिम्स्टेक मोटर भेइकल एग्रिमेन्ट,’ बिम्स्टेक तटीय क्षेत्रमा पानीजहाज सञ्चालनसम्बन्धी सम्झौता तथा व्यापार सहजीकरणसम्बन्धी सम्झौता मस्यौदाको विषयवस्तुमा भएका प्रगति प्रस्तुत गरे । प्रस्तावित ती सम्झौता सदस्य देशबीच परामर्शकै चरणमा रहेका प्रवक्ता पौड्यालले बताए ।

महासचिवले बैठकमा बिम्स्टेक यातायात, सम्पर्कसम्बन्धी गुरुयोजना आगामी सेप्टेम्बरको अन्त्यसम्ममा पूरा गर्ने लक्ष्यका साथ काम भइरहेको जानकारी दिए । बैठकले गत वर्ष काठमाडौँमा भएको १५औँ मन्त्रिस्तरीय बैठकको समीक्षा तथा त्यसले निर्धारण गरेका सहायताका प्राथमिकता क्षेत्रका बारेमा गहन छलफल गरेको थियो । बैठकले शिखर बैठकको घोषणापत्रका मस्यौदाका विषयवस्तु अनुमोदन गर्नुका साथै बिम्स्टेकको सहायताका सबै क्षेत्रको समीक्षा गरेको थियो ।

क्षेत्रीय सहयोगको प्रक्रियालाई थप सुदृढ तुल्याउने निर्णय गर्दै बैठकले सङ्गठनलाई अझ प्रभावकारी र परिणामुखी तुल्याउने प्रतिबद्धता व्यक्त गरेको छ । बैठकले स्वतन्त्र व्यापारसम्बन्धी सम्झौता चाँडो सम्पन्न गर्नुपर्नेमा जोड दिँदै यातायात, सम्पर्क विस्तारसम्बन्धी गुरुयोजना बनेकामा सन्तोष जनाएको छ । विद्युत् प्रसारणसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गर्ने र आतङ्कवादलाई परास्त गर्दै अन्य अन्तर्राष्ट्रिय अपराधविरुद्ध मुकाविला गर्ने प्रण गरेको छ ।

बिम्स्टेक मुलुकका वरिष्ठ पदाधिकारीको १९औँ बैठकले ऊर्जाको क्षेत्रमा पारस्परिक सहायता अभिवृद्धि गर्न ‘बिम्स्टेक ग्रिड इन्टरकनेक्सन’ स्थापनासम्बन्धी समझदारीपत्र अनुमोदन गरेको छ । उन्नाइसौँ उक्त बैठक र गत साउन २६ गते सम्पन्न वरिष्ठ अधिकारीहरुको प्रतिवेदन आजको बैठकले अनुमोदन गरेको छ । ती दुवै प्रतिवेदन परराष्ट्र सचिव शंकरदास वैरागीले प्रस्तुत गरेका थिए ।

बैठकको अध्यक्षता गरेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सहयोगका क्षेत्र तर्कपूर्ण हुनुपर्ने आवश्यकता औँल्याउँदै रेल, सडक र हवाइमार्ग तथा फाइबर अप्टिकलबाट सदस्य मुलुकलाई जोड्ने व्यापार, पर्यटन, ऊर्जा तथा कृषिका क्षेत्रमा सङ्गठनलाई केन्द्रित गर्नुपर्ने बताए ।

उनले गरिबी, भोकमरी, पछौटेपन, असमानता, प्राकृतिक विपत्ति, वातावरणीय दूरदशा, आतङ्कवाद, सङ्गठित अपराध, मानव तस्करी र लागुऔषधको गैरकानूनी ओसारपसारविरुद्ध बिम्स्टेक मुलुकले गम्भीर चुनौती झेल्नुपरेको बताउँदै त्यसविरुद्ध गम्भीर ढङ्गले आत्मविश्लेषण गर्दै अघि बढ्नुपर्नेछ बताए । सम्पर्क विस्तार, व्यापार, पर्यटन, ऊर्जा र कृषिजस्ता आर्थिक उन्नयनका मुख्य क्षेत्रमा सङ्गठनका सहायताका क्षेत्र केन्द्रित हुनुपर्ने अभिमत मन्त्री ज्ञवालीले प्रकट गरे । विकासका अथाह सम्भावना भएको बिम्स्टेक क्षेत्रलाई शान्त, समृद्ध र दिगो विकासतर्फ उन्मुख गराउन सामूहिक प्रयास हुनुपर्ने उनले ताए । रासस


Photo

नयाँ मिडिया डट कम एक्टिभ प्रेस प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


सञ्चालक
एक्टिभ प्रेस प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

nayamedia.com@gmail.com

© 2016 - 2025 Active Press Pvt.Ltd. All Rights Reserved.