Naya Media
आइतवार, जेष्ठ १७, २०८३
| | May 31, 2026
आइतवार, जेष्ठ १७, २०८३

विदेशमा अलपत्र नेपालीलाई स्वदेश फर्काउँदै सरकार

User Photo आइतवार, जेष्ठ ४, २०७७
काठमाण्डाै ।

सरकारले विदेशमा अलपत्र नेपालीलाई प्राथमिकताका आधारमा आगामी सातादेखि फिर्ता ल्याउने तयारी गरेको छ। जहाजबाट ल्याएपछि स्थानीय तहको क्वारेन्टाइन्ससम्म पुर्‍याउने गाडी ब्यवस्था गर्नेलगायतका तयारी अन्तिम चरणमा पुगेको छ। यसको औपचारिक निर्णय उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल संयोजक रहेको उच्चस्तरीय समितिले गर्नेछ।

विदेशमा अलपत्र नेपालीले घर फर्कन पाँउ भन्दै दूतावास घेर्ने, समाजिक सञ्जालमा लेख्ने, सरकारलाई खुला पत्र पठाउने र सञ्चार माध्यमले पनि बारम्बर कुरा उठाउन थालेपछि सरकार उनीहरुलाई फिर्ता ल्याउन बाध्य भएको हो।

सर्वाेच्च अदालत, संघीय संसद्का दुवै सदन तथा संसदीय समितिले पनि अलपत्र नेपालीको उद्दार गर्न सरकारलाई निर्देशन दिइसकेको छन्।प्रधानमन्त्री केपी ओली र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले खाडी मुलुकमा पालै–पालो टेलिफोन गरी त्यहाँका नेपालीलाई ब्यवस्थापन गर्न आग्रह गरे पनि त्यसको प्रभाव नपरेको भन्दै त्यहाँका नेपालीको पीडा सार्वजनिक हुने क्रम नरोकिएपछि सरकार उद्दारका लागि अघि बढेको हो।

खाडी मुलुक र मलेसियाले बिना भिसाका र कामबाट बिदा भएर अलपत्र नेपालीलाई घर फर्काउन लागेपछि उनीहरुलाई स्वदेश ल्याउन सरकार बाध्य भएको हो।

कुवेत, मलेसिया, युनाईटेड अरब इमिरेट्स (युएई) मा बिना भिसा काम गरेका नेपालीलाई सरकारले तत्काल फिर्ता ल्याउनु पर्ने बाध्यता छ। त्यस्तै बंगलादेश र साइप्रसमा अध्ययनका लागि गएका नेपाली र अन्य मुलुकमा कामका लागि गएर उतै अड्केका नेपालीलाई फिर्ता ल्याउनु पर्ने अवस्था छ। स्वदेश ल्याइएपछि उनीहरुलाई निश्चित अवधि क्वरेन्टाइनमा राखेर घर जान दिइने छ।

परराष्ट्रमन्त्री ज्ञवालीले कति नेपालीलाई फिर्ता ल्याउने तथ्यांक तय भइसकेकोले अब विस्तारै ल्याउनेतर्फ सरकार उन्मुख रहेको बताए। ‘प्राथमिकताको आधारमा विदेशमा अड्केका, काम नभएर शिविरमा बसेका,, बिना भिसालगायतकालाई प्राथमिकता छुट्याएर ल्याउने छौं’, परराष्ट्रमन्त्री ज्ञवालीले भने, ‘कतिपय मुलुकले ल्याइदिने भनेका छन्। एक दुई दिनमा सबै तयारी पूरा भइ फर्कने प्रक्रिया अघि बढ्नेछ।’

परराष्ट्र मन्त्रालयले तत्काल दुई लाख २५ हजार नेपाली फर्काउन पर्ने भने पनि उच्च प्राथमिकतामा रहेकालाई फर्काउँदा अहिले नै त्यो अवस्था नआउने दूतावासहरुको सुझाव छ।

कोभिड–१९ को महामारी लम्बिए त्यो भन्दा बढी संख्याका नेपाली फर्कनेछन्। कुवेतबाट तीन हजार पाच सय, मलेसिया र युएईबाट ६÷६ हजार र अन्य सबैबाट मिलाएर ५ हजार जति फिर्ता गरे अहिलेको समस्या समाधान हुने सुझाव दूतावासले दिएका छन्। करिब १५ हजार नेपालीलाई दैनिक हजारको दरले ल्याउने प्रक्रिया अघि बढाउन सके अन्य नेपाली उडान खुलेपछि फर्कने आधार दूतावासहरुले दिएको परराष्ट्र अधिकारीले जानकारी दिए।

‘हामीले तत्काल निकै समस्यामा परेकालाई फिर्ता पठाउन खोजेका हौं। यहाँ काम गरिरहेका र यहाँको सरकारले हेर्ने सम्मकालाई अहिले फर्काउने भनेका छैनौं’, एक राजदूतले परराष्ट्रलाई पठाएको सुझावमा भनेका छन्, ‘अहिले नै ठूलो संख्यामा फर्कंदैनन्। नियमित बिदा गएकाहरु बिदा रद्द गरी काममा फर्केका छन्। कतिपय स्थानमा विस्तारै लकडाउन खुकुलो हुँदै गएको छ। समस्यामा परेकालाई भने तत्काल सरकारले उद्धार गर्नैपर्छ।’ कुवेत सरकारले बिना भिसाका नेपालीलाई फर्काउन हतारो गरिसकेको छ भने युएई र मलेसियाको पनि उस्तै ताकेता छ।

नेपालको जीडीपीमा २७ प्रतिशत भन्दा बढी योगदान वैदेशिक रोजगारीमा जानेबाट छ। तर उनीहरुको समस्यामा सरकार मौन बसेको देखिन नहुने भन्दै सामाजिक सञ्जाल भरिन थालेपछि सरकार फिर्ता प्रक्रियामा लागेको हो।

खाडी राष्ट्र तथा मलेसियामा १५ लाख भन्दा बढी नेपाली छन्। उपचार गर्न गएका र घुम्न गएका नेपाली पनि अन्तर्राष्ट्रिय उडान नहुँदा अन्यौलमा छन्। विश्वका दुईसय भन्दा बढी मुलुकमा नेपाली छन्। अधिकांश नेपाली युवा मलेसिया, कतार, साउदी अरब, युएई, कुवेत, बरहराइन, ओमन, लेबनन, इजरायल, अफगानिस्तान, जापान, दक्षिणकोरिया लगायतमा बस्छन्।

कोरोना संक्रमित मुलुकसहित सबैतर्फबाट नेपालीलाई ल्याउनु पर्ने भएकाले सरकार क्वरेन्टाइन र प्राथमिकताको आधारमा काम गरिरहेको मन्त्री ज्ञवालीले स्पष्ट पारे।

नेपालीलाई स्वदेश ल्याउनु पर्ने अवस्था बनेपछि ब्यवस्थापनका लागि अर्थ, उद्योग, श्रम, स्वास्थ्य र पर्यटन मन्त्रालयले तयारी थालेका थिए। ‘हामी सुरक्षित रूपमा ल्याएर उनीहरूलाई क्वारेन्टाइनमा राखेर गाउँसम्म पु‍र्‍याउने गरी ब्यवस्थापनमा लागेको छौं,’ मन्त्री ज्ञवालीले भने।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.