सन्दीपको अर्को छलाङ, टी-१० क्रिकेट खेल्ने पहिलो नेपाली बन्दै

बुधबार, अशोज १०, २०७५, । 

पछिल्लो समय अन्तर्राष्ट्रिय व्यावसायिक क्रिकेट लिग खेल्न व्यस्त नेपाली युवा स्पिनर सन्दीप लामिछानेले अर्को सफलता हात पारेका छन्। सन्दीपलाई संयुक्त अरब इमिरेट्स (यूएई) मा आयोजना हुने नयाँ ढाँचाको टी-१० लिग क्रिकेटका लागि सोमबार राति केलरा किङ्सले अनुबन्ध गरेको छ। यो अनुबन्ध आर्थिक दृष्टिकोणबाट उनका लागि अहिलेसम्मकै सबैभन्दा ठूलो छलाङ मानिएको छ।

सोमबार अबेर भएको खेलाडी अक्सनबाट केरला किङ्सले सन्दीपलाई ३० हजार अमेरिकी डलर (करिब ३५ लाख नेपाली रुपैयाँ) मा अनुबन्ध गरेको हो। टी-१० लिग अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा नयाँ ढाँचाको प्रतियोगिता हो। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले समेत मान्यता दिएको यो प्रतियोगितालाई गत वर्षदेखि यूएईको क्रिकेट संघले आयोजना गर्दै आएको छ।

सन्दीप यूएईमा टी-१० क्रिकेट प्रतियोगिता खेल्ने पनि पहिलो नेपाली खेलाडी बनेका छन्। उनको टोलीलाई इङ्ल्यान्डका इयोन मोर्गानले कप्तानी गर्नेछन्। टी-१० क्रिकेट लिगका लागि छनोट भएपछि सन्दीपले खुसी व्यक्त गरेका छन्। ‘टी-१० लिगमा केरला किङ्स टोलीका लागि छनोट हुन पाउँदा निकै उत्साही छु। त्यसका लागि सहयोग गर्ने सबैलाई धन्यवाद दिन चाहन्छु’, सन्दीपले आफ्नो ट्विटर एकाउन्टमा ट्विट गरेका छन्।

गत वर्ष इन्डियन प्रिमियर लिग (आईपीएल) मा छनोट भएयता सन्दीप निरन्तर अन्तर्राष्ट्रिय व्यावसायिक लिग खेल्न व्यस्त छन्। सन्दीप आईपीएलमा दिल्ली डेयर डेभिल्ससँग २० लाख भारतीय रुपैयाँ (३२ लाख नेपाली रुपैयाँ) मा अनुबन्धित भएका थिए। उनी त्यसलगत्तै वेस्टइन्डिजको क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा समेट छनोट भए। उनलाई सीपीएलमा सेन्ट् किट्स एन्ड नेभिस प्याट्रियट्सले पाँच हजार अमेरिकी डलरमा अनुबन्ध गरेको थियो।

आईपीएल र सीपीएल खेल्ने पहिलो नेपाली खेलाडी बनेका सन्दीप सबैभन्दा बढी विदेशी लिग खेल्ने पनि पहिलो नेपाली खेलाडी हुन्। उनी अघिल्लो साता मात्रै अफगानिस्तान प्रिमियर लिगका लागि पनि छनोट भएका थिए। अफगानिस्तान प्रिमियर लिगमा उनलाई नन्गर्हर क्रिकेट क्लबले १५ हजार अमेरिकी डलरमा अनुबन्ध गरेको छ। उनले हङकङ र क्यानडामा पनि व्यावसायिक लिग क्रिकेट खेलेका छन्।

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

बुधबार, अशोज १०, २०७५ (September 26, 2018, 8:30 am) मा द्वारा खेलकुद अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै