Naya Media
शुक्रबार, जेष्ठ ३०, २०८२
| | June 13, 2025
शुक्रबार, जेष्ठ ३०, २०८२
Advertisement

क्रिकेट टिम जितेर फर्कियाे, ट्रफि राख्ने ठाउँ हाेटल- आईसीसी तिर्छ बिल

User Photo
सोमवार, माघ २१, २०७५

काठमाडौं । युएईविरुद्ध क्रिकेट सिरिज जितेसँगै नेपाली क्रिकेट टोलीले १० हजार दिराम (करिब ३ लाख रुपैयाँ) नगद पुरस्कार पायो । नेपालले अहिलेसम्म अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताबाट नगद पुरस्कार जितेको सम्भवतः यो पहिलोपटक हो ।

‘द अनिब च्यालेन्ज सिरिज’ नामबाट भएको प्रतियोगितमा नगद पुरस्कार राशी प्रायोजक अनिबबाट प्राप्त भएको थियो । तीनवटा ट्रफी (एउटा वान डे सिरिज, अर्को टि-२० सिरिज र तेस्रो समग्र जितको) सँगै नगद पुरस्कारको चेक नेपाली कप्तान पारसलाई हस्तान्तरण गरिएको थियो ।


advertisement

नेपालले यसअघि नगद पुरस्कार कहिल्यै नजितेकाले पुरस्कार रकम के गर्ने भन्ने प्रश्न उठेको थिएन । तर, अरु देशमा सामान्यतया यस्तो रकम क्रिकेट बोर्डको खातामा जम्मा गरिन्छ । उसले खेलाडीलाई वितरण गर्न वा नगर्न सक्छ ।

तर, नेपालमा लामो समयदेखि क्रिकेट संघ छैन । त्यसैले यूएईमा जितेको पुरस्कार राशीको स्वामित्व कसको हुन्छ भन्ने जिज्ञासा उठ्छ ।

यस विषयमा क्यानकी पूर्वसीईओ तथा हाल नेपालका लागि आईसीसीकी प्रतिनिधि भावना घिमिरे पुरस्कार राशी खेलाडीलाई दामासायीले वितरण हुने बताउछन। तर, कुन प्रक्रियाबाट कसले वितरण गर्ने भन्नेमा चाहिँ उनी पनि प्रष्ट छैनन् ।

‘आईसीसीमा भएको छलफलअनुसार त्यो रकम खेलाडीलाई समानुपातिकरुपमा वितरण हुनेछ,’ उनले भनिन्, ‘तर, कसरी कसले वितरण गर्छ भन्ने चाहिँ टिम नेपाल आएपछि नै थाहा होला ।’ हाल यो रकम कप्तान पारस खड्कासँगै हुनुपर्ने उनी बताउँछिन् ।

नेपालले जितेको १० हजार दिराम बराबर करिब तीन लाख १० हजार रुपैयाँ हुन आउँछ । यूएई गएको नेपाली क्रिकेट टोलीमा १६ खेलाडी, एक प्रमुख प्रशिक्षक, एक ब्याटिङ प्रशिक्षक, टिम म्यानेजर र एक फिजियोसहित २० जना छन् । यदि अफिसियलहरुलाई पनि दामासायीले बराबरी रकम बाँड्ने हो भने एक जनाको भागमा १५ हजार रुपैयाँ जति पर्नेछ ।

भावनाका अनुसार नेपाली खेलाडीहरुले एकदिवसीय खेल्दा म्याच फिसको रुपमा दैनिक ५० डलर पाउने गर्छन् । यो रकम म्याच नभएको दिनमा पनि प्राप्त हुन्छ । त्यसो त महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिताहरु जित्दा सरकारी स्तरबाट खेलाडीलाई नगद पुरस्कार दिने प्रचलन पनि छ । यसपाली भने यस विषयमा खेलकुद परिषदले निर्णय गरेको छैन ।

ट्रफी होटलमा

क्यान निलम्बन भएपछि नेपालमा क्रिकेट सम्बन्धी कुनै सरकारी निकाय वा कार्यालय छैन । यस्तो अवस्थामा नेपालले जितेका ट्रफीहरु चाहिँ कहाँ राखिन्छ होला ? यो जिज्ञासा पनि भावनाले मेटाइदिइन् ।

उनले भनिन्, ‘क्यान निलम्बन भएयता नेपालले जितेका ट्रफीहरु नेपाली खेलाडी बस्ने होटलमा नै राख्ने गरिएको छ । युएईबाट ल्याएका ट्रफी पनि होटलमा नै राखिनेछ ,’ यी ट्रफीहरु संरक्षणको जिम्मेवारी टिम म्यानेजर रमण शिवाकोटीको भएको पनि उनले जानकारी दिइन् ।

नेपाली क्रिकेट टोलीलाई नक्सालको होटल क्राउन प्लाजामा राख्ने गरिएको छ । सो होटलका मालिक क्रिकेटप्रेमी हुन् । नेपाली क्रिकेटलाई माया गर्ने उनल सहुलियत दरमा रुम उपलब्ध गराउने गरेका छन् ।

तर, खेलाडीहरु होटलमा नबसेका बेला ती ट्रफीहरु कसको जिम्मामा हुँदा हुन् ? क्यानका पूर्व कार्यसञ्चालन अधिकृत छुम्बी लामा भन्छन्, ‘क्यान हुँदाखेरी पनि विदेशबाट आएका ट्रफी सुरुमा होटलमा नै ल्याएर राखिन्थ्यो र त्यसपछि क्यानमा अफिसमा लगिन्थ्यो । अहिले चाहिँ म यसै भन्न सक्दिनँ । सम्भवतः होटलमै राखेर क्यान पुनर्स्थापना भएपछि कार्यालयमा लगिन्छ होला ।’

होटलमा राख्दासम्म ट्रफीको सुरक्षा जिम्मेवारी होटल मालिकको नै हुने उनी बताउँछन् ।

क्यानको कार्यालय भवन मुलपानीमा छ । आईसीसीको निलम्बनमा परेपछि सो कार्यालय बन्द अवस्थामा छ । यद्यपि, नेपाली टोलीले पहिले जितेका ट्रफीलगायत अन्य प्रपर्टी अहिले पनि सोही कार्यालयमा रहेको लामा बताउँछन् ।

‘सञ्चालनमा नभए पनि एक-दुईजना भाईहरुले कार्यालय रेखदेख गर्दै आएका छन्,’ उनले भने ।

क्यान निलम्बनपछि नेपाली क्रिकेटको आर्थिक पाटो पूर्णरुपमा आईसीसीको हातमा छ । अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्नेदेखि होटलको बिल तिर्नसम्म आईसीसीकै मुख ताक्नुपर्ने अवस्था छ ।

भावना भन्छिन्, ‘आईसीसीले हामीलाई वाषिर्क बजेट छुट्याउँदैन । प्रत्येक टुरको लागि हामीले बजेटको स्टमेट गरेर आईसीसीलाई पठाउँछौं र उसले त्यसलाई सदर गर्‍यो भने पैसा निकासा हुन्छ । होटलको विल पनि आईसीसी आफैंले तिर्ने हो ।’

उनी आफू आईसीसीको स्टाफ नभएको बताउने गर्छिन् । ‘मैले क्रिकेटप्रतिको प्यासनका कारण यो जिम्मेवारी निभाइरहेकी छु । मेरो कुनै कार्यालय छैन । टिम पनि छैन । म एउटा कन्सल्ट्यान्ट (परामर्शदाता) मात्र हुँ,’ उनले भनिन् ।

आईसीसीबाट आफूले कुनै सेवा-सुविधा पाउने नपाउने विषयमा भने उनी खुल्न चाहिनन् । बरु भनिन्, ‘कसैले मेरो जिम्मेवारी टेकओभर गरिदिए हुन्थ्यो जस्तो लागेको छ ।’

स्मरणीय के छ भने आईसीसीले नेपाली क्रिकेटमा गर्ने खर्च भनेको उसको वाषिर्क बजेटबाटै हुने हो । आईसीसीले आफ्ना प्रत्येक सदस्य राष्ट्रका लागि निश्चित बजेट छुट्याएको हुन्छ ।

यो बजेट सम्वन्धित देशको क्रिकेट बोर्डलाई प्रदान गरिन्छ । नेपालमा पहिले यो रकम क्यानमा आउँथ्यो । तर, क्यानमा विवाद आएपछि आईसीसीले बजेट निकासा रोकिरहेको थियो । अहिले त्यही बजेट खटाई खटाई नेपालमा खर्च गर्ने गरेको हो । खेलाडीलाई मासिक तलव पनि यही बजेटबाट आईसीसीले दिनुपर्ने हो । तर, खेलाडीले नियमित तलव पाइरहेका छैनन् ।


Photo

नयाँ मिडिया डट कम एक्टिभ प्रेस प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


सञ्चालक
एक्टिभ प्रेस प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

nayamedia.com@gmail.com

© 2016 - 2025 Active Press Pvt.Ltd. All Rights Reserved.