नेपाली युवा स्पीनर सन्दीप लामिछाने अब विदेशका ठुला व्यावशायीक क्रिकेट प्रतियोगितामा आबद्ध हुनु नौलो विषय हुन छाडेको छ। एक वर्षअघि इन्डियन प्रिमियर लिग-आइपीएलमा तत्कालिन दिल्ली डेयर डेभिल्सबाट खेल्दै अन्तर्राष्ट्रिय व्यावशायीक क्रिकेटमा पाइला टेकेपछि सन्दीपको चर्चा विश्वस्तरमा चुलिएको थियो।
त्यसयता उनले विश्वका ठुला व्यावशायीक क्रिकेट लिग खेल्न कुनै बाँकी छैन। यसबीचमा उनी आबद्ध मेलबर्न स्टार्स बिग बास लिग-बीबिएल क्रिकेटको फाइनलसम्म पुग्यो भने दिल्ली क्यापिटल्सले आईपिएलमा प्ले अफमा स्थान बनाएको थियो। सन्दीपको यति ठुलो चर्चा र सफलताबीच अन्य नेपाली क्रिकेटरले भने त्यो पाइला चाल्न सकेका थिएनन्। तर अब त्यो स्थिती रहेन।
नेपाली फास्ट बलर सोमपाल कामीले पनि अन्तर्राष्ट्रिय व्यावशायीक क्रिकेटमा पाइला टेकेका छन्, क्यानडामा आयोजना हुने ग्लोबल टी- ट्वान्टीमार्फत। बिहीबार राती भएको अक्सनमा सोमपाललाई विनिपेग हक्सले आबद्ध गरेको छ तीन हजार डलरमा। सन्दीपलाई ६० हजार डलरमा लिइएको छ। सोमपाल अन्तर्राष्ट्रिय व्यावशायीक क्रिकेटमा आबद्ध हुने केवल दोस्रो नेपाली क्रिकेटर बनेका छन्। हक्सले सोमपाललाई आबद्ध गरेलगत्तै उनलाई बधाई दिनेमा सन्दीप पनि रहे।
‘बधाई छ सोमपाल कामी ब्रदर। म खुसी छु। यो सुरुवात मात्र हो तर तिमी (तपाई)ले यो अवसरमा आफुलाई अब्बल सावित गर्नेमा म ढुक्क छु। राम्रो भयो’, सोमपालको सफलतापछि सन्दीपले सामाजिक सन्जालमा खुसी पोखेका छन्। शुक्रबार बिहान राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले पनि सोमपाललाई बधाई दिएका छन् सामाजिक सन्जालमार्फत।
‘ उठ्ने बित्तिकै कति खुसीको समाचार सुन्न पाइयो। ग्लोबल टीट्वेन्टीका लागि छनोट भएकोमा सोमपाल कामीलाई बधाई। तिम्रो कडा मिहेनत र अनुशासनले तिमीलाई निकै अगाडि लैजाने छ। अनि सन्दीप लामिछानेलाई पनि बधाई’, पारसले लेखेका छन्।
सन्दीपले सिनियर अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गर्नुभन्दा झन्डै तीन वर्षअघि सन् २०१३ मा सोमपालले नेपाली टोलीमा स्थान बनाएका थिए। सन्दीपजस्तै सोमपाल पनि नेपाली क्रिकेटमा भविस्य खोज्दै भारतबाट आएका हुन्। सन्दीपको नाममा टीट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेटमा १० औँ नम्बरमा आएर सर्वाधिक रन बनाउने खेलाडीको विश्व कीर्तिमान छ। ग्लोबल टीट्वेन्टी जुलाईको अन्तिम साता सुरु हुँदै छ।
