Naya Media
शनिबार, बैशाख १२, २०८३
| | April 25, 2026
शनिबार, बैशाख १२, २०८३

अतिथिको सलामी चर्चा- के भन्छन टेबल माथी चढेर सलामी लिने मेयर ?

User Photo सोमवार, असार ९, २०७६
काठमाण्डाै ।

अहिले देशभरका स्थानीय तहमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता चलिरहेको छ । सशर्त अनुदानबाट सञ्चालन हुने यो कार्यक्रमको बजेट एक लाख रुपैयाँ भर्खरै स्थानीय तहहरुले पाएका छन्, त्यसैले सबैतिर हतार–हतार कार्यक्रमहरु भइरहेका छन् । तर, प्रतियोगिताको भन्दा अतिथिको सलामी बढी चर्चामा छ ।

एकपछि अर्को तस्वीर सामाजिक सञ्जालमा छाएका छन्, जसमध्ये धनकुटाको महालक्ष्मी नगरपालिकाका मेयर पर्शुराम नेपालको सलामीको तस्वीर ‘ट्रोल’ नै बनेको छ । मेयर नेपालले टेबलमाथि चढेर सलामी दिएको तस्वीरलाई बाँसको टुप्पो, विमान, स्काभेटर इत्यादिमा बसेर सलामी लिएको फोटोसपबाट तस्वीर बनाएर ट्रोल बनाइएको छ ।

मेयर नेपालका अनुसार उनले टेबलमाथि उभिएर सलामी लिएकै हुन् । ‘नगरपालिकाको शिक्षा तथा खेलकुद शाखाले कार्यक्रम गरेको थियो । खेलाडीलाई सम्मान हो, गर्नुपर्छ भनेपछि मैले त्यसरी सलामी दिएको हुँ’ उनले भने ।

तर, त्यसबारे सामाजिक सञ्जालमा भइरहेको टिकाटिप्पणी पढेपछि नमज्जा लागेको उनले सुनाए । ‘बाँसको टुप्पोमा बसेर, विमानमा बसेर समाली लिएको तस्वीरहरु सामाजिक सञ्जालमा हेरिरहेको छु’ उनी भन्छन्, ‘यसरी बद्नाम हुँदा नमज्जा लागेको छ ।’

गलत गरेंछु भन्ने लागेको छैन ? भन्ने प्रश्नमा मेयर नेपाल भन्छन्, ‘यदि मबाट गल्ती भएको भएको रहेछ भने क्षमा माग्छु । तर, अरुले पनि यसरी सलामी लिएको देखेको छु । आयोजकले गर्नुपर्छ भनेका थिए ।’

मेयर नेपालले आफ्नो तस्वीरलाई ट्रोल बनाउनेहरुविरुद्ध विद्युतीय कारोबार ऐनअनुसार मुद्दा हाल्ने समेत चेतावनी दिए । महालक्ष्मी महानगरपालिकाले पनि विज्ञप्ति जारी गर्दै राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा खेलकुदको नियम र प्रचलनअनुसार नै खेलकुद र खेलाडीलाई सम्मान गर्न सलामी दिने विधिवत खेलकुद कार्य भएको बताएको छ ।

राष्ट्रपति रनिङमा सलामी लिनुपर्ने कुनै नियम छ ? धनकुटाको महालक्ष्मी नगरपालिकाले मात्र होइन, यसरी सलामी लिनेहरु सबैले ‘खेलकुदको नियम’ भन्ने गरेका छन् । तर, राष्ट्रिय खेलकुद परिषदको प्रतियोगिता विभाग प्रमुख एवं केन्द्रस्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रपियोगिताका सचिव मीनकुमार श्रेष्ठ त्यसलाई स्वीकार गर्दैनन् ।

उनका अनुसार राजतन्त्रकालमा ‘वीरेन्द्र सिल्ड’ का नाममा हुने प्रतियोगिता गणतन्त्रमा राष्ट्रपति रनिङ सिल्ड भएको हो । राष्ट्रपति रनिङ सिल्ड पनि ११ औं संस्करणसम्म भइसक्यो । तर, यसरी मेचमाथि चढेर सलामी लिएको थाहा नभएको श्रेष्ठ बताउँछन् ।

प्रतियोगिता उद्घाटनका क्रममा सहभागी टिमहरु राष्ट्रिय झण्डासँगै आफ्नो पहिचान झल्कने झण्डा लिएर मार्चपास गर्छन् । खेलाडीहरुले मार्च गरिरहँदा अतिथिहरुले बसिरहनु राम्रो नदेखिने भएकाले उभिन्थे । तर, त्यसमा भ्रष्टीकरण भयो र विस्तारै प्रमुख अतिथिले अग्लो ठाउँमा बसेर सलामी लिने संस्कार सुरु भयो ।

त्यसैको पछिल्लो कडी हो, मेयर साहेब मेचमा उभिनु । राखेप प्रतियोगिता विभाग प्रमुख श्रेष्ठ भन्छन्, ‘खेलाडीहरुप्रति सम्मान गर्ने प्रचलनलाई बिगारेर अतिथिले मेचमाथि चढेर सलामी लिनु लाजमर्दो हो ।’

अरु भन्दा अग्लो हुने चाहना बढ्दै जाँदा मेचमा चढेको हुन सक्ने उनको विश्लेषण छ । रातो कपडा, अग्लो फल्याक चाहिने कुनै नियम नभएको प्रष्ट पार्दै उनी भन्छन्, ‘अरु अतिथिसँगै उभिएर खेलाडीहरुप्रति सम्मान व्यक्त गर्न सकिन्छ । तर, अरुभन्दा अग्लो देखिने व्यक्तिगत मोहले त्यस्तो भएको होला ।’


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.