Naya Media
मङ्लबार, माघ ६, २०८२
| | January 20, 2026
मङ्लबार, माघ ६, २०८२

ललितपुर विश्वको ३५ औंँ कला नगरी

User Photo
बिहिबार, कार्तिक २९, २०७५

विश्व कला परिषद्ले ललितपुर महानगरपालिकालाई विश्वको ३५ औंँ कला नगरीका रुपमा घोषणा गरेको छ ।

विश्व कला परिषद्का एशिया प्रशान्त क्षेत्रका अध्यक्ष डा. घादा हिज्जाबी कदामीले महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनलाई ‘कला नगरी’ को प्रमाणपत्र दिए । परिषद्ले विश्वका मौलिक र परम्परागत कला भएका शहरलाई कला नगरी घोषणा गर्दै आएको छ ।

परिषद् विश्वभरमा छरिएका रहेका कलामा संलग्नहरुको प्रवद्र्धनमा स्थापित संस्था हो । संयुक्त अधिराज्यमा केन्द्रीय कार्यालय रहेको यो परिषद्ले विभिन्न चरणमा अध्ययन गरेर शहरहरुलाई यस्तो घोषणा गर्दै आएको छ । यसअघि विश्वका ३४ मुलुक कला नगरी घोषणा भएका थिए । नेपालमा भने ललितपुर महानगरपालिका नै पहिलो नगर भएको छ ।

तेस्रो शताब्दीमा मौर्य सम्राट् अशोकले बनाउन लगाएका सत्य, त्रेता, द्वापर र कलियुग झल्कने चार स्तूप पाटनमा छन् । त्यसैगरी पाँचाैं शताब्दीमा बनेको हिरण्यवर्ण महाविहार पुरातात्विक महत्वको सम्पदा हो । यसलाई १२ औँ शताब्दीमा भाष्करदेवले जीर्णोद्धार गरेको इतिहास पाइन्छ । रातो मत्छेन्द्रनाथको जात्रा परम्परा नरेन्द्रदेवले शुरु गरेकामा अहिलेसम्म पनि निरन्तर चलिरहेको छ ।

सिद्धिनरसिंह मल्ल, श्रीनिवास मल्ल र योगनरेन्द्र मल्लका पालामा पाटन दरबार १६ र १७ औँ शताब्दीमा निर्माण भएको हो । ललितपुर–२० स्थित पेमबहाल पोखरी १२ औँ शताब्दीको उपलब्धि हो । उक्त पोखरी राजारजौटाले नभएर राक्षसले निर्माण गरेको विश्वास गरिएको छ ।

स्थानीय सुन्धारा र कृष्ण मन्दिर प्राचीन कला तथा कौशलबाट निर्माण गरिएको अर्को महत्वपूर्ण सम्पदास्थल हो । तीन सय वर्षदेखि चलेको खड्गजात्रा २४ वर्षदेखि रोकिएकामा यसै वर्ष असोजमा पुनः सञ्चालन भएको छ ।

परिषद्मा महानगरले केही समय पहिले कला नगरीमा पार्नका लागि आवेदन दिएको थियो । परिषद्का पदाधिकारीले महानगरपालिकाका विभिन्न स्थानमा घुमेर यहाँको मौलिकताका बारेमा अध्ययन गरेको परिषद्ले जनाएको छ । प्राविधिकले यहाँ अध्ययन गर्दा उपयुक्त छ÷छैन भन्ने विभिन्न चरणमा अध्ययन गरेको थियो । उनीहरुले उपयुक्त रहेको प्रतिवेदन दिएपछि नै प्रक्रिया अघि बढेको हो ।

करीब चार लाख जनसङ्ख्या रहेको महानगरपालिकामा ८० प्रतिशत हस्तकलामा संलग्न रहेको प्रमुख महर्जनले बताए । ललितपुरको दरबार क्षेत्र मात्र विश्वसम्पदा सूचीमा सूचीकृत रहेकामा अब अन्य प्राचीन महत्वका सम्पदा तथा पुरातात्विकस्थललाई पनि विश्वसम्पदामा अङ्कित गर्न वातावरण मिलेको महानगरले जनाएको छ ।

आगामी दिनमा अरु खालका कार्यक्रममार्फत कलाको विकासमा लाग्ने उपप्रमुख गीता सत्यालले बताए । उनले भने, ‘आगामी दिनमा यहाँका उत्पादन देश र विदेशसम्म प्रवद्र्धनका लागि यो घोषणाले सहयोग पुग्ने छ ।’ महानगरपालिकाले कला नगरी घोषणा भएपछि यसलाई कायम राख्नका लागि विभिन्न काम गर्दै जाने योजना बनाएको छ ।

महानगरले कलाको विकासका लागि शाखाहरु बनाउने तयारी गरेको छ । यहाँबाट उत्पादित सामग्रीलाई प्रतीकचिह्नसहित छाप लगाउने तयारी भएको छ । गुणस्तरीय सामग्रीका रुपमा यहाँबाट उत्पादित सामग्रीले मान्यता पाउनेछ । महानगरले स्थानीय हस्तकलालाई अन्तरराष्ट्रिय बजारमा प्रवद्र्धनका लागि विश्वका सरोकार पक्षसँग समेत सहकार्य बढाउने भएको छ ।

महानगरका धेरै स्थानमा विभिन्न खालका हस्तकलाका मुख्य क्षेत्र छन् । काष्ठकला, मूर्तिकला, थान्कालगायत कलामा स्थानीयवासी पुस्तौंँदेखि लाग्दै आएका छन् ।

पाटनमा टोलैपिच्छे फरक फरक खालका हस्तकला पाइन्छ । मौलिकतामा कति पनि परिवर्तन आउन नदिई पाटनवासीले हस्तकला बचाउँदै आएका छन् । पाटनवासीले लामो समयदेखि सरकारलाई ‘हस्तकलाको जिल्ला’ घोषणाको मागसमेत गर्दै आएका थिए ।

पाटनको हस्तकलामा पाइएको मौलिकताले गर्दा शहर कला नगरी घोषणा गरिएको परिषद्ले जनाएको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.