फ्रेन्च महारथि पेरिस सेन्ट जर्मन (पीएसजी) विरुद्ध सानदार जित निकाल्दै इङ्लिस क्लब म्यानचेस्टर युनाइटेड युरोपियन च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
लिग अन्तर्गत बुधबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा युनाइटेडले पीएसजीलाई उसैको मैदानमा ३–१ गोलले हरायो । युनाइटेट पहिलो लेगमा आफ्नै घरेलु मैदानमा २–० गोलले पछि परेको थियो । दोस्रो लेगमा कमब्याक गर्दै पीएसजीलाई हराएपछि युनाइटेड समग्रता ३–३ गोलको बराबरी गर्दै अवे गोलको आधारमा क्वार्टरफाइनलमा पुगेको हो ।
युाइटेडको जितमा रोमेलु लुकाकुले दुई गोल गरे । खेलको दोस्रो मिनेटमै खाता खोलेका लुकाकुले ३०औं मिनेटमा ब्यक्तिगत दोस्रो गोल गरेका थिए । यसअघि १२औं मिनेटमा पीएसजीका जुआन बर्नाटले एक गोल फर्काएका थिए ।
त्यसपछि युनाइटेडले दोस्रो हाफको इन्जुरी समयमा पाएको पेनाल्टी गोलमार्फत अन्तिम आठको यात्रा तय गरेको थियो । उक्त पेनाल्टीलाई मार्कस रासफोर्डले सदुपयोग गरे । डिबक्सभित्र पीएसजीका प्रेस्नेल किमपेम्बेले बल बचाउने क्रममा ह्यान्ड गरेपछि रेफ्रीले भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) को सहयोगमा युनाइटेडलाई पेनाल्टी दिएका थिए । सोही पेनाल्टीनै युनाइटेडका लागि राहत बन्यो भने पीएसजीका लागि घातक ।
यसैगरी च्याम्पियन्स लिग फुटबलकै अर्को खेलमा पोर्चुगिज क्लब पोर्तोले इटालियन क्लब रोमालाई ३–१ गोलले हराउँदै क्वार्टर फाइनलमा पुगेको छ । पहिलो लेगमा २–१ गोलले पछि परेको पोर्तो दोस्रो लेगमा उत्कृष्ट पुनरागमन गर्दै समग्रमा ४–३ गोलले विजयी भयो ।एजेन्सी