भारतीय राज्य केरलास्थित एक अपार्टमेन्ट भवनमा अघिल्लो सोमबार ‘तरल दुर्घटना’ भयो । अपार्टमेन्ट भवनमा बसेका परिवारका धारामा पानीको सट्टा बियर, ब्रान्डी र रम मिसिएको तरल पदार्थ आयो । मदिराको लत भएकालाई पनि यस घटनाले खुशी बनाउन सकेन । किनभने, धारोमा आएको ठ्वास्स गनाउने रक्सीमय पानी खानयोग्य थिएन ।
भएको के थियो भने केही समयअघि प्रहरीले अदालतको आदेशमा करिब छ हजार लिटर मदिरा बरामद गरेको थियो । त्यसलाई अपार्टमेन्ट भवननजिकै रहेको इनारमा गाडिएको थियो । त्यो इनार अपार्टमेन्टको पानीको मुहान थियो । गाडिएको मदिरा चुहिएर इनारको पानीमा मिसिएको थियो । त्यो मदिरामय पानी अपार्टमेन्टका धाराहरूमा पुगेको थियो ।
अपार्टमेन्टका मालिक जोशी मालिक्कलले स्थिति चिन्ताजनक भएको बताए । ‘दैनिक प्रयोजनको पानी प्रदूषित भएपछि कति परिवारले खाना बनाउन पाएका छैनन्,’ उनले भने, ‘बच्चाहरू स्कुल जान सकेका छैनन् ।’
नगरपालिकाका कर्मचारीले इनार चाँडै नै सफा गरिने बताए पनि मालिक्कलले भने इनार सफा हुन एक महिना लाग्न सक्ने बताए । ‘नगरपालिकाले दिनको पाँच हजार लिटर पानी दिएको छ,’‘यति पानीले भवनमा बस्ने सबै परिवारलाई पुग्दैन ।’
केरला अत्यधिक रक्सी खपत हुने भारतीय राज्य हो । राज्य सरकारले मदिरा बेचबिखन र सेवनमा नियन्त्रण गर्न खोजे पनि स्थिति सुधारिएको छैन
