Naya Media
मङ्लबार, जेष्ठ १९, २०८३
| | June 2, 2026
मङ्लबार, जेष्ठ १९, २०८३

‘आरडीटी पोजिटिभ र पीसीआर नेगेटिभ आए पनि पुन: परीक्षण’

User Photo शुक्रबार, बैशाख १२, २०७७
काठमाण्डाै ।

काठमाडौँ । र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) बाट कोरोना भाइरस (कोभिड–१९) संक्रमण ‘पोजिटिभ’ र पीसीआर परीक्षणमा ‘नेगेटिभ’ देखिए पनि पुन: परीक्षण गर्न विज्ञहरुले सुझाएका छन् ।यस्तो अवस्थामा कन्ट्याक्ट ट्रेसिङ गरी सम्पर्कमा आएका सबैको पनि पीसीआर परीक्षण गर्नुपर्ने बताएका छन् । यसले संक्रमणको वास्तविक स्थिति पहिचानसँगै नियन्त्रणको प्रयासमा समेत थप बल पुग्नेछ ।

‘आरडीटीमा पोजिटिभ र पीसीआरमा रिपोर्ट नेगेटिभ आए पनि ती व्यक्तिको कन्ट्याक्ट ट्रेसिङ गर्नुपर्छ,’ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, मेडिसिन विभागका प्रमुख प्रा.डा. सञ्जीवकुमार शर्मा भन्छन्, ‘यदि उनी हाल संक्रमण निको भएको अवस्थामा छन् भने पनि विगतमा उनको सम्पर्कमा आएकाहरुको खोजीसँगै पहिचान फैलावट नियन्त्रण गर्न अत्यन्त आवश्यक हुन्छ ।’

मुलुक अझै जटिल स्थितिमा नगएको औंल्याउँदै जनस्वास्थ्यविद् दुर्गा खड्का मिश्रले समेत थप सतर्कताका लागि थप परीक्षण जरुरी रहेकोमा जोड दिइन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका भाइरोलजिस्ट डा. श्रवणकुमार मिश्रले समेत यसमा सहमति जनाए । आरडीटीमा पोजिटिभ देखिएकाहरुको पीसीआर परीक्षणमा नेगेटिभ आएमा ‘ती व्यक्तिबाट संक्रमण नहुने’ सोच राखे पनि कन्ट्याक्ट ट्रेसिङ गरेर संक्रमण फैलिन सक्ने सम्भाव्यताबारे संवेदनशीलता अपनाउनुपर्ने उनको भनाइ छ ।

स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार हाल केन्द्रीय कारागारका दुई जना स्वास्थ्यकर्मीको आरडीटी पोजिटिभ र पीसीआर परीक्षणको नतिजा नेगेटिभ देखिएको छ । ‘ती दुवै स्वास्थ्यकर्मीमा पहिले संक्रमण भएको र हाल स्वस्थ रहेको हो भने उनीहरुमा कोबाट र उनीहरुबाट कसलाई सर्‍यो भन्ने जान्नु धेरै महत्त्वपूर्ण हुन्छ,’ स्वास्थ्य मन्त्रालयका ती अधिकारीले भने, ‘थप यकिन हुन हाल जेलमा भएका सबै नयाँ कैदीको पीसीआर गर्नुपर्ने भएको छ ।’

विज्ञहरुले दुवै स्वास्थ्यकर्मी र कारागारका कैदीबन्दीको समेत पीसीआर परीक्षण गर्न सुझाएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का निर्देशक एवं भाइरोलजिस्ट डा. वासुदेव पाण्डे यसो गर्न सकेमा ढुक्क भइने बताउँछन् । आरडीटीको विश्वसनियता कम रहेको औंल्याउँदै इडीसीडीका पूर्वनिर्देशक डा. बाबुराम मरासिनी भन्छन्, ‘आरडीटी भरपर्दो देखिएको छैन, भारतले समेत केही दिन प्रयोग रोकेको छ । यसमा फल्स पोजिटिभ र फल्स नेगेटिभ धेरै देखिएको छ ।’

हाल सरकारले आरडीटीलाई व्यापक रूपमा प्रयोग गरिरहेको छ । समुदायस्तरमा संक्रमण देखिइएकोले अब पीसीआर परीक्षणमा जोड दिनुपर्ने बताउँछन् डा. मरासिनी । आरडीटी र पीसीआर दुवै परीक्षणमा ‘नेगेटिभ’ देखिए कोभिड–१९ संक्रमण नरहेको बुझनुपर्ने औल्याउँदै डा. मिश्रले भने, ‘आरडीटीबाट पोजिटिभ र पीसीआरबाट नेगेटिभ देखिए पहिले ती व्यक्तिलाई संक्रमण भएको र हाल निको भएको बुझनुपर्छ ।’ उनका अनुसार दुवै परीक्षणमा पोजिटिभ देखिएका व्यक्तिमा सक्रिय संक्रमण रहेको ठानिन्छ । यस्ता व्यक्तिमा भाइरस विस्तारै कम हुने स्थितिमा हुन सक्छ तर ती व्यक्तिले संक्रमणको विस्तार गर्नमा मुख्य भूमिका खेल्ने गरेका छन् । यति मात्र नभई पीसीआरमा पोजिटिभ र आरडीटीमा बारम्बार नेगेटिभ देखिने व्यक्तिमा भाइरसविरुद्घ एन्टिबडी (रोग प्रतिरोधक क्षमता) बन्न नसकेको बुझ्नुपर्छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.