Naya Media
शुक्रबार, जेष्ठ ३०, २०८२
| | June 13, 2025
शुक्रबार, जेष्ठ ३०, २०८२
Advertisement

विशिष्ट’ हरू, नियमविपरीत स्वास्थ्य उपचार खर्च लिँदै ‘ दोस्रो नम्बरमा प्रधानमन्त्री ओली

User Photo
शुक्रबार, साउन १८, २०७५

काठमाडौँ । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायत विशिष्ट व्यक्तिले स्वास्थ्य उपचारका लागि सरकारी कोषबाट सुविधा लिँदै आएका छन् । विशिष्ट व्यक्तिलाई उपचारका लागि भनेर सरकारले छुट्टै विधि र प्रक्रिया ल्याएको धेरै वर्ष भइसक्यो । तर, उनीहरूले स्वास्थ्य मन्त्रालयको नीतिअनुसार स्वास्थ्य उपचार खर्च लिने गरेका छैनन् । विशिष्ट व्यक्तिहरू नै नीतिमा तोकेको भन्दा धेरै खर्च माग्छन् र आफू मात्रै होइन दलबलसहित विदेशमा उपचारका लागि जान्छन् ।

राष्ट्रिय जीवनका महत्वपूर्ण व्यक्ति र विपन्न नागरिकलाई उपचार खर्च तथा आर्थिक सहायता कसरी उपलब्ध गराउने भन्ने कार्यविधिमा स्पष्ट उल्लेख छ । तर विशिष्ट व्यक्तिहरूले कार्यविधि अनुसार उपचार खर्च लिएको देखिँदैन ।


advertisement

सरकारले विपन्न नागरिकलाई ८ वटा रोगको उपचारका लागि उपचार खर्च सहुलियत दिँदै आएको छ । तर, राष्ट्रिय जीवनका विशिष्ट व्यक्तिलाई भने १२ वटा रोगको उपचारका लागि खर्च दिने व्यवस्था गरेको छ । नागरिक राहत, क्षतिपूर्ति तथा आर्थिक सहायतासम्बन्धी कार्यविधि २०७३ मा दोस्रो संशोधन ल्याइएको छ । तर यो दोस्रो संशोधन भए पनि यो प्रक्रियाबाट सेवा लिने विशिष्ट व्यक्तिहरू नै छैनन् ।
कार्यान्वयनमा नआउनुको कारण

स्वास्थ्य सेवा विभागका एक कर्मचारीका अनुसार प्रक्रिया झन्झटिलो भएको कारण देखाउँदै प्रक्रिया मार्फत विशिष्ट व्यक्तिले नै स्वास्थ्य सेवा नलिँदा नागरिक राहत, क्षतिपूर्ति तथा आर्थिक सहायता सम्बन्धी (दोस्रो संशोधन) २०७३ कार्यविधि कार्यान्वयनमा आउन नसकेको बताए ।

उनका अनुसार उपचार गर्न जाने समयमो विभिन्न ठाउँमा धाएर निवेदन दिनुभन्दा फोनकै भरमा काम हुने भएपछि कोही व्यक्ति पनि यो निर्देशिका अनुसार चल्न नमानेको उनको भनाइ छ ।

खगराज अधिकारी स्वास्थ्य मन्त्री भएको समय केही व्यक्तिले लिएको देखिए पनि त्यसपछि कसैले पनि प्रक्रिया मार्फत सेवा लिएका छैनन् । यसरी खर्च माग गर्दा कार्यविधिमा तोकेको रकमभन्दा बढी नै रकम माग्ने गरेका छन् ।

कार्यविधिमा यस्तो व्यवस्था छ

कार्यविधिको दफा १२ अनुसार राष्ट्रिय जीवनका महत्वपूर्ण व्यक्तिलाई औषधोपचारको आर्थिक सहयाताबाट पाउने सेवालाई ३ भागमा विभाजन गरिएको छ ।

(क) पूर्व राष्ट्रपति, पूर्व उपराष्ट्रपति, पूर्व प्रधानमन्त्री, पूर्वसभामुख र पूर्व प्रधानन्यायाधीश रहेका छन् । उनीहरूका लागि सरकारले १५ लाख रुपियाँसम्म लिन पाउने व्यवस्था गरेको छ ।

(ख) पूर्व उपसभामुख, पूर्व उपप्रधानमन्त्री, पूर्व मन्त्री, पूर्व राज्यमन्त्री, पूर्वसहायक मन्त्री, पूर्वसंसद सदस्य, पूर्वसंवैधानिक निकायका पदाधिकारीका लागि भने १० लाख खर्चको व्यवस्था रहेको छ ।

(ग) शिक्षा, कला, साहित्य, सङ्गीत, राजनीति, सार्वजनिक प्रशासन, कानुन वा न्याय, सुरक्षा, सञ्चार, खेलकुदलगायत सामाजिक र राष्ट्रिय जीवनमा उल्लेख्य योगदान पुर्याएका व्यक्तिका लागि बढीमा ७ लाख रुपियाँको व्यवस्था रहेको यो दफामा उल्लेख गरिएको छ ।

यसका लागि १२ वटा रोग लागेको खण्डमा यी उल्लेखित व्यक्तिले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट सेवा लिन सकिने व्यवस्थाको बारेमा उल्लेख गरिएको छ ।

रोगहरूः मुटु, मिर्गाैला, क्यान्सर, पार्किन्सन्स, अल्जाइमर, स्पाइनल इन्जुरी, हेड इन्जुरी, कलेजो, अप्लास्टिक एनिमिया, थालिसिमिया, मिस्तष्क आघात, सिकलसेल एनिमिया जस्ता कडा रोगको उपचारका लागि आफूले खर्च व्यहोर्न नसक्ने भएको खण्डमा नेपालमा वा विदेशमा गई उपचार गराउनका लागि सरकारले सहयोग गर्ने जनाएको छ ।

कसले कति लिए

हामीलाई प्राप्त जानकारी अनुसार पूर्वप्रधानमन्त्री स्व. सुशील कोइराला १ करोड ६२ लाख, नेपाली काङ्ग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री स्व. सुशील कोइराला खर्च लिनेमा पहिलो नम्बरमा छन् ।

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओली १ करोड २६ लाख ३५ हजार १ सय ३७ रुपियाँ लिएका छन् । उनी खर्च लिनेमा दोस्रो नम्बरमा छन् ।

पूर्वराष्ट्रपति रामवरण यादवले उपचारका लागि भन्दै ठूलो रकम लिएका छन् । उनले पटक पटक गरेर सरकारसँग एक करोड ४० लाख लिएका छन् । पूर्वराष्ट्रपति यादवले भारत र अमेरिकामा उपचार गर्न भन्दै सरकारबाट ७० लाख रुपियाँ, भारतको चण्डीगढस्थित एक अस्पतालमा उपचार गर्न १० लाख र अमेरिकामा उपचार गर्न ६० लाख रुपियाँ सरकारले उपचार खर्च प्रदान गरेको थियो ।

पूर्वप्रधानन्यायाधीश रामकुमार साह ८० लाख, काङ्ग्रेस नेता चक्र बास्तोला ५० लाख, नेकपा नेता नारायणकाजी श्रेष्ठ ३८ लाख, पूर्वप्रधानमन्त्री तुलसी गिरी २५ लाख, काङ्ग्रेस नेता गोविन्दराज जोशी २० लाख, काङ्ग्रेस नेता खुमबहादुर खड्का २० लाख, पूर्वपरराष्ट्रमन्त्री स्व. साहना प्रधान १३ लाख, सुजाता कोइराला ५० लाख लिएका छन् ।

विशिष्ट व्यक्ति लिएको स्वास्थ्य उपचार खर्च र स्वास्थ्य मन्त्रालयले बनाएको प्रावधान कतै पनि मिलेको देखिँदैन । अहिलेसम्म विशिष्ट व्यक्तिले लिएको खर्चको तथ्याङ्क स्वास्थ्य विभागसँग छैन ।

१५ लाख उपलब्ध गराउने भनिए पनि मन्त्रिपरिषद्ले विभिन्न नेताका र अन्य व्यक्तिका नाममा करोडाँै रकम उपलब्ध गराउँदै आएको छ ।

पूर्वस्वास्थ्यमन्त्री गगनकुमार थापाले यसरी जति माग्यो त्यति रकम उपलब्ध गराउँदा राज्यको ढुकुटीको दुरूपयोग भएको भन्दै कार्यविधिको परिमार्जन गरेका थिए । तर सो कार्यविधि अहिलेसम्म कार्यान्वयनमा आउन सकेको छैन ।

सरकारले विपन्न नागरिकलाई ८ वटा ठूला रोगमा आर्थिक सहयोग गर्दै आएको छ । मिर्गाैला रोगलाई विशेष सुविधा उपलब्ध गराएको छ भने अन्य रोगमा १ लाखसम्मको व्यवस्था छ । विपन्न नागरिकले यो रकम प्राप्त गर्न आफू बसेको नगरपालिका वा गाउँपालिकादेखि केन्द्रसम्म धाउँदै आएका छन् । तर विशिष्ट व्यक्तिहरूले स्वास्थ्य उपचार खर्च लिँदा मन्त्रालयको कार्यविधिलाई मान्दैनन् । भनसुनको भरमा जति सक्यो धेरै रकम लिनेगरेको पाइएको छ । सीधै आफू आबद्ध मन्त्रालयमार्फत आउने र त्यसमा तोकेभन्दा बढी रकम लिँने गरेको देखिएको छ ।


Photo

नयाँ मिडिया डट कम एक्टिभ प्रेस प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


सञ्चालक
एक्टिभ प्रेस प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

nayamedia.com@gmail.com

© 2016 - 2025 Active Press Pvt.Ltd. All Rights Reserved.