Naya Media
बिहिबार, फाल्गुन २१, २०८२
| | March 5, 2026
बिहिबार, फाल्गुन २१, २०८२

दशैँमा घर फर्किंदै परदेशी, सिमानामा भारतीय प्रहरीको डर

User Photo बिहिबार, अशोज १८, २०७५

भारतको गुजरातबाट दशैँ मनाउन घर फर्किएका दैलेख सिङ्गौडीका लालबहादुर शाही बिहान झिसमिसेमै रुपैडिहा बसपार्कमा आइपुगे । दुई दिनको यात्रा सकेर रुपैडिहासम्म पुग्दा उनी थकित देखिन्थे ।

उनलाई एउटै कुराको चिन्ता थपिएको थियो कि सीमाना रुपैडिहामा बसेका भारतीय प्रहरीको गाली सहनुपर्छ भन्ने । ‘कमाएको पैसा घर आँगनमै पुगेको बेला लुटिने आशङ्कामा डराइडराइ जमुनाहासम्म आइपुगेँ’, शाहीले भने । तर, जब उनी जमुनाहा पुगे, ढुक्कसँग नेपाल प्रवेश गरे । दुई वर्षसम्म नेपाल नआएकोले उनी ढुक्कसँग घर पुग्नेमा आशावादी देखिन्थे ।

उनी जस्तै भारतको सिमलाबाट नेपाल फर्किदै गरेका जाजरकोट जगतीपुरका आइते विकलाई पनि उस्तै चिन्ता थियो । उनले भने, ‘सीमामा भारतीय प्रहरीले दुःख दिन्छ, सामान खोतलेर हैरान बनाउँछ भन्ने चिन्ता थियो तर त्यसो भएन ।’ दशैँ नजिकिएसँगै भारतबाट घर फर्कने नेपालीलाई सुरक्षित गन्तव्यसम्म पु¥याउन नेपाल प्रहरीले राम्रै खटनपटन गरिरहेको छ ।

इलाका प्रहरी कार्यालय जमुनाहाका इञ्चार्ज प्रहरी निरीक्षक शिव वलीका अनुसार भारतीय प्रहरीसँगको समन्वयमा रुपैडिहा रेल्वे स्टेशन र बसपार्कमा नेपाल प्रहरी आफैँ पुगेर यात्रुलाई सुरक्षित साथ नेपाल भित्र्याउने गरेको छ ।

प्रहरी निरीक्षक वलीले भने, ‘रुपैडिहा रेल्वे स्टेशन र बसपार्कमा हुने ठगी, लुटपाट र अन्य घटना हुन नदिन नेपाल प्रहरी त्यहाँ पुग्ने गरेको छ ।’ भारतबाट नेपाल आउने नेपाली यात्रुलाई सुरक्षित गन्तव्यमा पु¥याउन प्रहरीले सीमानाका जमुनाहामा यात्रु सहायता कक्षसमेत स्थापना गरेको छ । भारतबाट फर्किने नेपालीलाई लुटपाट, ठगी र अन्य अपराधजन्य घटना हुन नदिन यात्रु सहायता कक्षा स्थापना गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले भारतीय प्रहरी, एसएसबी र भारतीय भन्सारसँग समन्वय गरी नेपालीलाई जाँचका क्रममा बिना झण्झट सुरक्षित नेपाल आउने व्यवस्था मिलाइरहेको छ । नेपाली आफ्नो समूह बनाएर नेपाल फर्किरहेका छन् । जमुनाहा नाका भएर दैनिक हजारको हाराहारीमा नेपाली फर्किरहेको प्रहरीले जनाएको छ ।

जाजरकोट शिवालय–२ का खगेन्द्र विक चाडपर्व मनाउन नेपाल फर्किएको बताउँछन् । ‘घर परिवारसँगै चाडपर्व मनाउन घर फर्किएको हुँ”, उनले भने, ‘तिहारपछि फेरि उतै फर्कन्छु ।’

कुशे गाउँपालिका–५ का हीरालाल टमाटा एक वर्षपछि चाडपर्व मनाउन आफू घर फर्किएको बताउनुहुन्छ । चाडपर्व मनाएर फेरि भारतनै जाने बताउँदै हीरालालले भने, ‘उता कमाइ ठीकठीकै छ । यता बसेर रोजगारी पाइँदैन, भारत नगई सुखै छैन ।’

भारतबाट फर्किने नेपालीका कारण एक महीनायता नेपालगञ्जका होटल भरिभराउ भएर राम्रो व्यवसाय गर्न थालेका छन् । मध्यपश्चिमका पहाडी जिल्लाबाट वर्षेनी हजारौँ नेपाली रोजगारीलाई भारत जान्छन् । ‘अरु बेला आउन नसकेपछि दशैँको बेला बिदा मिलाएर टीका जमरा थाप्न घर आएका छौँ”, श्रीमान्सँग भारतको दिल्लीमा कमाउन गएको बताउँदै सुर्खेत चिङ्गाड गाउँपालिका–३ की जमुना विकले भनिन, ‘वर्षमा आउने ठूलो चाड घर त आउनु नै प¥यो नि ।’

चिङ्गाडकै विवेक खड्का दशैँ तिहार मनाउन घर फर्किन पाउँदा खुशी भएको बताउँछन । ‘चाडपर्वमा घर आउने भन्छौँ के के नमिल्ने यसपालि आउन पाउँदा धेरै खुशी छु । परदेशमा दशैँ मनाउनु र आफ्नै गाउँठाउँ र साथीसङ्गीसँग मनाउन पाउँदा कसलाई खुशी लाग्दैन र ?’ आर्थिक स्थिति कमजोर भएका नेपाली भारतमा कमाइ गरेर दशैँ तिहार मनाउन भदौ महिनादेखि घर फर्किने गर्छन् ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.