काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको मधेस भ्रमण कार्यक्रम सार्वजनिक भएको छ ।
सोमबार पूर्वराजाका प्रेस संयोजक फणि पाठकले मधेस भ्रमणसम्बन्धी कार्यक्रम सार्वजनिक गरेका हुन् । उनका अनुसार पूर्वराजाको मधेस भ्रमण फागुन २९ देखि जनकपुरबाट सुरु हुनेछ ।
भ्रमणका क्रममा शाह सर्लाही, उदयपूर र सप्तरी जिल्लासम्म पुग्नेछन् ।
पाठकका अनुसार २९ गते जनकपुरमा बास बसेर पूर्वराजा फागुन ३० गते सर्लाहीको मलङ्गवा जाने कार्यक्रम रहेको छ । त्यहाँ उनले दुर्गा मन्दिरमा पूजापाठ गर्ने कार्यक्रम रहेको छ ।
त्यहाँबाट उनी बास बस्न जनकपुर नै फर्किने छन् । यस्तै चैत १ गते उनले जानकी मन्दिरमा पूजापाठ गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
जनकपुरबाट उनी चैत २ गते उदयपुरको गाइघाट जाने कार्यक्रम रहेको छ । गाइघाटमा राधाकृष्ण मन्दिरमा पुजापाठ गर्ने कार्यक्रम रहेको छ भने ३ गते सप्तरीको सखडा भगवतीको दर्शन गर्ने कार्यक्रम रहेको छ ।
यसअघि गत फागुन २२ गते हुने भनिएको उनको मधेस भ्रमण आमा रत्नको स्वास्थ्यमा समस्या आएपछि स्थगन भएको थियो ।
यो कार्यक्रमअनुसार पनि ज्ञानेन्द्रको जनकपुर केन्द्र बनाएर धनुषा, सर्लाही, उदयपुर र सप्तरीलगायतका जिल्लाहरुमा अवस्थित देवी देवताका मठ मन्दिर तथा शक्तिपीठको दर्शन गर्ने कार्यक्रम तय भएको थियो।
ज्ञानेन्द्र शाहको मधेश भ्रमण धार्मिक भनिएपनि उनले त्यहाँको जनमत समेत बुझ्ने बताइएको छ । अनपेक्षित रुपमा मधेसको राजनीतिक अवस्था परिवर्तन भइरहेको बेला त्यसप्रति उनले मधेशी जनताको धारणा बुझ्ने मनसाय राख्नुलाई महत्वका साथ हेरिएको छ ।
पूर्वराजाले यसअघि पनि पटक पटक मधेसका विभिन्न जिल्लाको भ्रमण गर्दै आफ्ना समर्थकहरुसँग भेटघाट गर्दै आएका थिए ।