कविता
“लकडाउन लकडाउन नै हो”
“लकडाउन, लकडाउन नै हो”
देश फर्केका निर्दोष नागरिक
बोर्डरमा लड्काउनका लागि हैन,
जिउको माया सबैलाई हुन्छ
घर हिंडेका बेखर्ची मजदुरलाई
बाटैमा तड्पाउनका लागि हैन।
“लकडाउन
लकडाउन नै हो”
बल्ल बल्ल आएको स्थिरता
एकाएक भड्काउनका लागि हैन,
छुल्याईंको पनि हद हुन्छ
यहीबेला राजनीतिको फोहोरी खेल
भित्रभित्रै छड्काउनका लागि हैन।
“लकडाउन
लकडाउन नै हो”
इमर्जेन्सीका नाममा गिद्दले झैँ
कमिशन पड्काउनका लागि हैन,
धुर्त्याईंको पनि सिमा हुन्छ
यसै त कमजोर देशको अर्थतन्त्र
उल्टै ढाड सड्काउनका लागि हैन
“लकडाउन
लकडाउन नै हो”
प्रतिपक्षको काम त ब्युँझाउने पो हो
निंद्रामा गाला चड्काउनका लागि हैन,
बिरोधको पनि काइदा हुन्छ
असजिलोमा गोरु पिट्न अनि
हलो अड्काउनका लागि हैन।
“लकडाउन
लकडाउन नै हो”
भाइरस प्रति सजग हुनु पो पर्छ
काँतर मुटु धड्काउनका लागि हैन,
कोरोनाले एकैचोटी ज्यान त लिंदैन नि
दिनभर ओछ्यान लगाएर सुत्न र
सारा व्यवाहार रड्काउनका लागि हैन।
- हरि अधिकारी
