Naya Media
आइतवार, फाल्गुन २४, २०८२
| | March 8, 2026
आइतवार, फाल्गुन २४, २०८२

कुशे औसी बिशेष- कविता “बुवा”

बुधबार, भदौ ३, २०७७
धनगढी ।

कवि ज्यु
मलाई पनि एउटा कविता लेख्न मन छ !

मेरो बुढेसकालको सहारा
मेरो बुढेसकालको लौरो भन्दै
बा! आफुले नदेखेको
आफ्नो बुढेसकालको लोभमा
मेरो वालापन रङ्गिन बनाए झैं गरि
आफ्नो कान्छी औंला
मेरा कलिला हातले समाउँदै
मलाई तातेताते गर्दै हिड्न सिकाउँथे,
त्यहि कान्छी औंला
छुट्छ कि भन्ने डरले
मैले कहिल्यै कविता लेखिन।
कवि ज्यु
मलाई पनि एउटा कविता लेख्न मन छ !

बिहे गरेको दुई/चार महिनामै
बा परदेश लागे,
बाको अनुहारमा
आफ्नो वर्तमान भन्दापनि
मेरो भविष्यको चिन्ता बढि
देखिन्थ्यो,
बाले रात दिन नभनि
मेरा लागि आफ्नो श्रम बेचिरहे,
मैले लेख्ने मसि किन्न
बाले कति बेचे होलान्
रगत र पसिना ?
त्यहि रगत र पसिना
छुट्छ कि भन्ने डरले
मैले कहिल्यै कविता लेखिन ।
कवि ज्यु
मलाई पनि एउटा कविता लेख्न मन छ !

छोरालाई अंक चिनाउन अन्न
अनि
अक्षर चिनाउन तरकारि र फलफूलहरु
कति उब्जाए बाले ?
विहान घाम संगै हलो र जुवा
समातेर बा खेततिर लाग्छन्,
चैते हुरि र वैशाख जेठको गर्मिले
बालाई कहिल्यै छोएन,
मेरो झोलामा कापि र किताबका
भारि बोकाएर पनि बा खुसि देखिन्थे,
हातभरि बाह्रै महिना ठेला बोकेर
बाले मेरा लागि अंक र अक्षर किने,
त्यहि हातभरिका ठेला
छुट्छ कि भन्ने डरले
मैले कहिल्यै कविता लेखिन।
कवि ज्यु
मलाई पनि एउटा कविता लेख्न मन छ !

डर यत्ति मै सिमित रहेन
बाको
पुरानो कोट,
बूढो साईकल,
च्यात्तिएको कमिज,
पुर्खेउलि रेडियो,
अन्य धेरै कुराहरु छन्
लेख्दै जाने हो र बालाई सोध्दै जाने हो भने,
रातभर तप तप गर्दै
चुहिने पानी छेक्न
बा कति रात अनिदो बसे होलान् ?
कति छाक भोकै बसे होलान् ?
केवल सन्तानका निम्ति,
कति छाक बाले आँसु पिएर
आफ्नो भोको पेट भरे होलान ?
यस्तै यस्तै
बाको कथा र व्यथाहरु
छुट्छ कि भन्ने डरले
मैले कहिल्यै कविता लेखिन।
कवि ज्यु
मलाई पनि एउटा कविता लेख्न मन छ !

फलानोको छोरो भनि दुनियाँले चिनोस् भनेर,
बा छोरो पढाउन कै निम्ति परदेश लागे,
भविष्य सजाउन कै निम्ति परदेश लागे,
एउटा लौरोमा
आफ्नो चिउँडो अड्डाएर
कुर्सिमै बाले
कति रात कटाए होलान् ?
अर्काको गेटमा
रात दिन उभिएर
फुलेका नसा
र पट्पटि फुटेका
खुट्टाका पैतला कहिल्यै देखाएनन् बाले,
बाको जिन्दगीभरको साथि
त्यो लौरो र कुर्सी
छुट्छ कि भन्ने डरले
मैले कहिल्यै कविता लेखिन।
कवि ज्यु
मलाई पनि एउटा कविता लेख्न मन छ !

समयको यहि विन्दु बाट
आमालाई धर्ति भन्नेहरुका
अघि बालाई सिङ्गो
आकाश र
श्रमको ईश्वर भनी
सधैं पुजिरहन मन छ।

  • आशिष पाण्डे, धनगढी


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.