बुटवल । रोल्पाको थवाङ गाउँपालिका –२ (साविक थवाङ गाविस ७) छेर्लोवाङमा पहिरोले पुरिएर २ जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएको आशंका गरिएको छ ।
बिहीबार र शुक्रबार बिहान परेको अविरल बर्षाका कारणले छेर्लाेवाङ पहिरोले घर पुरिँदा २ जनाको मृत्यु जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक लिला आर्चायका अनुसार थवाङ गा.पा. २ छेर्लाेवाङका २८ वर्षीया थीरकुमारी बुढा र उनका ४ वर्षीय छोरा असल बुढामगरको मृत्यु भएको हो ।
यस्तै पाउन बस्न आएका अन्य चार जना बेपात्ता भएको आशंका गरिएको प्रहरीले जनाएको छ । प्रहरी निरिक्षक आचार्यले कुराकानीमा अहिलेसम्म आमाछोराको मात्र शव फेला परेको अन्यबारे केही पत्ता नलागेको जानकारी दिए ।
पहिरोमा ४ जना बेपत्ता भएका आशंकामा उनीहरुको खोजीकार्य जारी भइरहेको आचार्यले बताए ।
सदरमुकामबाट ७४ किलोमिटर उत्तरमा रहेको उक्त स्थानमा जिल्लाबाट उद्दारको लागि जान कठिन छ । बर्षातका कारण सडक अवरुद्ध भएकाले हिँडेर पुग्न एक दिनभर लाग्ने प्रहरीको भनाई छ ।
स्थानीयबासीले राती करिव २ बजेतिर ठूलो अवाज आएको सुनेपछि प्रहरीलाई खवर गरेका थिए । त्यतिबेला पहिरोले घर पुरिसकेको थियो । सो गाउँ एकान्त ठाउँमा रहेको प्रहरीको भनाई छ ।
रोल्पाका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले जिल्ला प्रहरी कार्यालयको समन्वयमा इलाका प्रहरी कार्यालय थवाङ, प्रहरी चौकी खरिबोट रानागाउँ र स्थानीयवासीको सहयोगमा उद्दार कार्य जारी रहेको बताए ।
