Naya Media
शनिबार, माघ ३, २०८२
| | January 17, 2026
शनिबार, माघ ३, २०८२

दरखाने रात ओछ्यानमै दिदीबहिनीमाथि तेजाब खन्याइयो

User Photo
आइतवार, भदौ ३१, २०७५

“आमा आउञ्जेल यसको सास अल्झाइरहन पाए हुन्थ्यो !”

पाँच दिन भयो, जादुलाल दासको पेटमा अन्नको गेडो नपरेको । आँसुले धानिरहेछन् प्राण ।

फूलजस्ता दुई छोरी तेजाब आक्रमणमा परे । कुनचाहिँ संदिग्धले भर्खर फक्रँदै गरेका नवयौवनामाथि एसिड हालिदियो र जिन्दगी घाइते तुल्याइदियो । अझै पत्ता लागेको छैन अपराधी ।

मध्यरात सुतेकै ठाउँमा तेजाब खन्याएर भागेको अपराधी प्रहरीको फन्दामा नपरेको पीर त छँदैछ । त्योभन्दा ठूलो भुङ्ग्रोमा छन् उनी– १८ वर्षकी जेठी बाँच्ने हो, होइन ।
र त, उनी बर्बराइरहन्छन्, “कहाँमात्र पोल्न बाँकी छैन तेजाबले । पीडाले कति छटपटाउँदी हो !”

आइतबार निःस्तब्ध छ कीर्तिपुर अस्पताल प्राङ्गण । आँसुले भिजेको छ, कुरुवा कक्ष । वल्लोपल्लो शैय्याका आफन्तजनहरू झिँजो लगाइरहन्छन्, “केही सुधार भयो त ?”

भित्र शल्यक्रिया कक्ष (अप्रेसन थिएटर)मा १८ वर्षीया सम्झना दास स्लाइनको थोपासँगै जीवनको सास फेरिरहेकी छिन् । भित्तामा टाँसिरहेको यन्त्रका बाङ्गाटिङ्गा र किरिङमिरिङ हरिया धर्साहरूले जिन्दगी धिपधिप बलिरहेको आभास हुन्छ ।

भित्र सम्झना दास गहिरिँदै गएको घाउसँग पौँठेजोरी खेल्दैछिन् । बाहिर बाबु प्राणतुल्य छोरीको जलन खप्न नसकेर कहिले भित्तामा टाउको बजार्छन्, कहिले आँखाभरि आँसु पारेर अनुनयविनय गर्छन् । निरूपाय हुँदै ईश्वर पुकार्छन्, “भगवान तिमी छौ भने मेरी छोरी बचाऊ ।”

नजिक–वर्पनमा रहेका आफन्तहरू आँसुमिश्रित हुँदै भन्छन्, “तपाईंले यसरी हत्ते हाल्नुहुन्छ ? बाबु नै रोएपछि ती अबोध नानीहरूलाई कसले सम्हाल्छ ?”

एसिडले छोरीहरूलाई जति पोलेको छ, त्यो भन्दा बढ्ता जलेको छ उनको दिल ।

त्यो कालरात्री

घटना यही भदौ २६ गतेको हो ।

रौतहट चन्द्रनिगाहापुर–६ को गरिबीले थिल्थिलिएको दास परिवार । पूर्व–पश्चिम राजमार्गबाट टाढा छैन ठोकटोल । तर ढुङ्गो हुर्‍याएजत्ति नजिक पनि होइन । हाइवेबाट त्यस्तै एक किलोमिटरको दूरीमा पर्छ उनीहरूको घर ।

भाद्र शुक्ल तृतीया । पहाडी बहुल चपुर (चन्द्रनिगाहपुर) । तीजको रमझममा चपुरले सिंगै तराईलाई उछिनेको प्रतीत हुन्थ्यो । माइत आएका चेलीबेटी स्वादिष्ट दर बनाउन व्यस्त थिए । सबका धुरीबाट खिरको बास्न छुटेपछि सम्झना दासले बाबुलाई भनिन्, “बा, सबका घरमा खिर पाकेको छ । मगमगाउँदो बासना छुटेको छ । वर्ष दिनको चाड, हामी पनि खिर पकाउँ न है ?”

अभावले बाबु रित्तिएका थिए । टाट पल्टिएको थियो गोजी । ऋणको आहालमा आकण्ठ जाकिएका जादुलालसँग कुनै जादुको छडी थिएन ।

लज्जित हुँदै उनले भने, “हेर छोरी, आज मसँग एक रुपैयाँ पनि छैन । शनिबार पैसा आउँछ, त्यही दिन खानू खिर !”

अभावले आजमात्रै पिरोलेको भए पो हुँदैन भन्नु । वर्षौंवर्षदेखि अभावसँग चिनापर्ची भएकाले उनले पनि हुन्छ भने मुन्टो हल्लाइन् ।

यसो जूठो मुख गरे र दुवै दिदीबहिनी ओछ्यानमा पल्टिए ।

एकतल्ले घर । वर्षात्मा पानी र हिउँदमा शीत छल्न मुस्किल हुन्थ्यो । छानाबाट चुहिएको होइन, झ्यालबाट पसेको बाछिटालेसमेत चुर्लुम्मै भिजाउँथ्यो कहिलेकाहीँ । ढोका पनि राम्रोसँग लाग्दैनथ्यो । बेपरवाह गर्दै सुते । भुसुक्कै निदाए ।

राति झल्याँस्स ब्युँझँदा मध्यरात भएको रहेछ । पिसाबले च्यापेको उस्तै । दुवै दिदीबहिनी जर्‍याकजुरुक उठे र पचास मिटरजति पर शौचालयमा पिसाब फेरे ।

बरन्डामा बत्ती बलिरहेकै थियो । बालख भाइ राति ब्युँझिएर दुःख देला भनेर बरन्डाको बत्ती निभाउँदैनथे उनीहरूले । त्यसदिन पनि निभाएनन् र भित्र गएर सुते ।

त्यस्तै बाह्र बजेको हुँदो हो, सुस्मितालाई एक्कासि हातमा आगाको फिलिङ्गो परेजस्तो भयो । गर्धन, घाँटी जताजतै पोल्न थाल्यो ।

उनी एकैपटक चिच्याउन थालिन्, “सानीआमा मलाई पोल्यो, लौन !”

सानीआमा आत्तिँदै कोठाबाट बाहिर आइन् । भाइ पनि मच्चिएर रुन थाल्यो ।

आफूलाईमात्रै पोलेको होला भन्ठानेको, उता दिदी भक्कानिएर रुनै सकेकी थिइनन् ।

दराजनजिकै थुचुक्क बसेकी उनको अनुहार नीलो–कालो भइसकेको थियो । हल न चल उनी न रुन सक्थिन्, न के भयो भनेर बताउनै सक्थिन् ।

“दुवै छोरी चिच्याउँछन्, पोल्यो मात्रै भन्छन्, नआत्तेओ न, म छँदै छु नि त भन्छु रोइमात्रै रहन्छन्,” त्यसदिनको घटना सुनाउँछिन् सानीआमा परमशीला दास ।

शुरूमा उनले सर्पले टोकेको पो हो कि भन्ठानिन् । दुवै छोरी अँगालामा टाँसिएका छन् । पोल्यो, चहर्‍यायो मात्रै भन्छन्, उनले मेसो पाउन छाडिन् । दिमागमा शून्यता छायो ।

मध्यरातमा रुवाबासी, कोकोहोलो मच्चिएपछि छिमेकी पनि ब्युँझिए । सुर जोडिएका थिए रामबाबु पासवान दाइ । उनी दगुर्दै आए र भने, “छोरीहरूलाई एसिड खन्याएजस्तो छ, छिटो चिसो पानी हाल !”

चिताउँदै नचिताएको घटना पो आइलागेछ । भनाबैरी कोही थिएनन् । कोहीसँग झगडा परेको पनि थाहा थिएन । सात कक्षा पढ्दापढ्दै स्कुल जान छाडेकी सम्झनाको नराम्रो केही सुनेकी थिइनन् । कसले गर्‍यो होला यस्तो अपराध ? उनको मथिङ्गलले केही ठम्याउन सकेन ।

गाउँका सबैले हाते कल चलाएर बाल्टीका बाल्टी पानी खन्याए । शीतल हुनुको सट्टा जलन बढ्दै गयो । घाउ गहिरिँदै गयो । छालाको बाह्यपत्र आलु छोडाएझैँ भुइँमा थुप्रिन थाले ।

त्यतिञ्जेल सानीआमाले बाबुलाई फोन गरिसकेकी थिइन् ।

पाँच मिनेटको दूरीमा रहेको आफ्नै ‘पुल हाउस’मा सुत्न गएका जादुलाल घर आइपुगिसकेका थिए । छोरीहरूको अवस्था देख्नासाथ उनी किंकर्तव्यविमूढ भए । होसहवास उड्यो । मूर्तिवत् ठिंग उभिई मात्रै रहे ।

“घर आइपुग्दा दुवै छोरीको अवस्था नाजुक थियो । छिमेकका सबैले जीउमा पानी खन्याउँदै रहेछन् । तर पनि उनीहरूको जलन कम्ता भएको थिएन,” अहिले सम्झिन्छन् उनी ।

आँगनमा पुग्दानपुग्दै दुर्गन्ध उनको नाकमा ठोक्किइहाल्यो । गन्ध नाकमा पर्नेबित्तिकै चाल पाइहाले– अपराधीले छोरीहरूलाई तेजाब खन्याएर बेपत्ता भएछ ।

छरछिमेकको सहयोगमा उनले चपुर अस्पताल त पुर्‍याए तर तेजाबले सम्झनाको आधा शरीर जलाउन भ्याइसकेको थियो । घाँटीमा, गर्धनमा र हत्केलामा तेजाब परेका सुस्मिताको अवस्था भने आत्तिइहाल्नु पर्ने थिएन ।

तर, सम्झना जीवन–मरणको दोसाँधमा थिइन् । त्यहीँ चिकित्सकले भनेका थिए– ३५ प्रतिशत भाग जलिसकेको छ । तुरुन्तै काठमाडौँ नपुर्‍याए जे पनि हुनसक्छ ।

आफूसँग फुटेको कौडी छैन । पुल हाउस दिनभरि कुर्नुमात्रै भएको छ, आम्दानी हुने होइन, कुन पैसाले अस्पताल लैजानु ।

हारगुहार गरेर दुई–चार हजार जम्मा गरेर एम्बुलेन्समा हालेर काठमाडौँ हिँडाए । त्यतिञ्जेल बिहानको चार बजिसकेको थियो ।

काठमाडौँ त हिँडे तर कुन अस्पताल लैजाने ? केही थाहा थिएन ।

कसैले भनिदियो– “जलेको, पोलेको बिरामीका लागि कीर्तिपुर अस्पताल उपयुक्त हुन्छ ।”

एम्बुलेन्स त्यतै मोड्न लगाए उनले ।

० ० ०

बहिनीलाई पहिलो तलाको प्लास्टिक सर्जरी कक्षमा राखिएको छ । हिँडडुल गरिरहनुपर्ने बालख स्वभाव । तर कुँजिएकी छिन् उनी । आफ्नो घाउको पीडा भन्दा दिदीको जलनले मर्नु न बाँच्नु बनाएको छ ।

“डाक्टर साब ! मेरी दिदीलाई जसरी पनि बँचाइदिनूहोस् ल !,” चिकित्सकको टोली भ्रमणमा आउनेबित्तिकै बरबरी आँसु झार्दै बिन्ती बिसाउँछिन् उनी ।

एउटै खाटमा सुतेकी दिदीलाई तेजाबले ‘खँजाहा’ बनायो । सधैँ भित्तापट्टी सुत्थिन् उनी । त्यसदिन पनि भित्तापट्टी नै फर्किएर सुतेकी थिइन् ।

छेउपट्टी सुतेकाले दिदीको अनुहारभरि तेजाब पर्‍यो । छाती, सम्वेदनशील अङ्ग, पाखुरा जल्न कतै बाँकी रहेनन् ।

“तल्लो वार्डमा सुतेको बिरामीलाई माथि जान पनि दिँदा रहेछन् । एकपटक दिदीलाई हेर्न पाए पनि तेजाबको जलन निको हुँदो हो । मैले देख्नै नपाई दिदीलाई केही भइहाल्यो भने…. ?,” आँखाबाट आँसुका ठूल्ठूला ढिक्का फाल हाल्छन् र नर्सतिर एकोहोरो हेरिरहन्छिन् ।

बाबुको पीडा पनि उस्तै छ ।

आधा अङ्ग तेजाबले खाइगयो । जलेको भाग ताछेका ठाउँमा सद्दे अङ्गको मासु काटेर हालेको छ भनेर कसैले सुनाइदिँदो रहेछ ।

हुर्रिंदै उनी छोरी भएतिर जान्छन् ।

“अप्रेसन थिएटरभित्र छिर्न मिल्दैन !,” उनका पाइला एकाएक रोकिन्छन् । मुर्च्छित हुँदै बेञ्चमा थुचुक्क बस्छन् र सुँक्सुकाउँछन्, “मैले छोरीको मुखै देख्न पाइन भने… !”

को होला अपराधी ?

दुई लाख ऋणपान गरेर ६ महिनाअघि उनले पुल हाउस खोलेका छन् । परमशीलादेवी उनकी दोस्री पत्नी । र, तेजाबले खाएका दुई छोरी जेठीपट्टीकी ।

ती बाहेक एउटा छोरा पनि छन्, त्यस्तै दश वर्षका ।

तीन वर्षअघि वैदेशिक रोजगारीका लागि मलेसिया पुगेकी जेठी पत्नीसँग उनको सम्बन्ध सुमधुर हुन सकेन र डेढ वर्षअघि उनीहरू औपचारिक रूपमै छुट्टिए ।

“बाबु त आमा कुरेरै बस्नु भएको थियो । तर, आमा बाहिरबाहिर बस्न थालेपछि बुबाले दोस्रो बिहे गर्नुभयो,” सुस्मिता सुनाउँछिन् ।

जेठीसँगै मिलेर जादुलालले केही वर्षपहिले चन्द्रनिगाहपुरमै जग्गा किनेका थिए । अहिले त्यस जग्गामा गुरुङ थरकाले घर बनाएर बसेका छन् ।

केही समयअघिको मात्रै कुरा हो, उनले जग्गा फिर्ता ल्याउन निकै धामा गरे । ताकेता पनि गरे ।

जग्गा फिर्ता दिनुको सट्टा ती व्यक्तिले उल्टै हप्काए, “यो जग्गा ऐलानी हो । तँलाई दिन्न । सकेको गर् !”

“त्यतिमात्रै भए त हुन्थ्यो नि हजुर ! उठिबासै लाइदिन्छु भन्यो,” उनी शंकाको तीर तेस्र्याउँछन् ।

“घटना भएको दिन पनि सारा गाउँ उल्टेर आयो । सहायता दियो । तर, साँध जोडिएको उक्त छिमेकी आएन । मस्त निदाएझैँ गर्‍यो,” उनको शंका अझै सघन बन्छ ।

अपराधीले एउटा अक्षम्य दुस्कर्म त गरिसक्यो । तामाको मूनाजस्ता छोरीहरूको जिन्दगीमा तेजाब खन्याइदिएर जेलको टिकट काटिसक्यो । थुप्रैलाई शंका गरेर झन् ठूलो अपराध गर्ने पक्षमा छैनन् उनी । “प्रहरी लागेकै छ, एक न एकदिन पत्ता लगाउला !,” अपराधी पत्ता लगाउन वैधानिक बाटोमै हिँड्न रुचाउँछन् उनी ।

परमशीलाको पनि तर्क त्यस्तै छ, “सँगै सुतेका दुई छोरीमध्ये कसैले सुइँको पाएनन् । बरन्डाको चिम हराउने बाहेक अरू सामान तलवितल भएको छैन । हामीले यसैले अपराध गर्‍यो कसरी भन्नु ?”

हिजोमात्रै पनि दुई जना सादा पोसाकका प्रहरी सुस्मिताको कक्षमा पुगे र उनलाई सोधे । उनले पनि घटनाको बेलिबिस्तार लगाइन् ।

तेजाबको जलनबाहेक अपराधीले कुनै सबुत नछाडेकाले व्यक्ति किटान गर्न सकिनन् ।

“दिनको तीन–चारवटा प्रहरीको भ्यान घरमा गएको गयै छ, सकेसम्म छिटो अपराधी पत्ता लगाउँछौँ भन्नुभएको छ,” आशावादी छिन् परमशीला ।

विवाह गर्न नपाए पनि तेजाब । दाइजो नपाए पनि तेजाब । केटीले बिहे गर्न नमाने पनि तेजाब । केटीले मन नपराए पनि तेजाब । तेजाबभन्दा छोरीचेलीको मूल्य सस्तो भएको देख्दा जादुलाल विह्वल हुन्छन् र भक्कानिँदै प्रशासनसँग गुनासो गर्छन्, “तेजाब बिक्रीमा प्रतिवन्ध लगाए हुँदैन ?”

चिताको आगोमा त एकपटक जले पुग्छ, तेजाबको आगामा जिन्दगीभर जलिरहनुपर्दा विक्षिप्त छन् उनी ।

“जेठी छोरीलाई अहिले बचाउनै मुस्किल छ । तेजाबको जलन निको भएपछि बिहावारी गर्ने मुस्किल होला !,” भविष्य सम्झँदै उनको मन कहालिएर आउँछ ।

चन्दा उठाएर उपचार 

काठमाडौँ आउँदा दुई–चार हजार रुपैयाँ थियो । त्यति रुपैयाँले बिरामी भर्ना गर्नसमेत पुगेन ।

अहिले रौतहट प्रहरीकै सक्रियतामा चन्दा उठाउने काम भइरहेको छ । भर्खर यौवन टुसाउँदै गरेकी सम्झना । तेजाबले जिन्दगी विरुप, विद्रूप तुल्याइदियो । आवेग, विद्वेषको आगामा जल्दै गरेको उनको जीवन बचाउन सबैले चासो देखाएका छन् । हिजोमात्रै पनि रौतहटकै सामाजिक संस्थाले २५ हजार र छरछिमेकले २० हजार चन्दा उठाएर पठाइदिए ।

तर, त्यति पैसा छोप बराबर पनि भएको छैन ।

“बिरामीको जीवन पैसा रहेछ हजुर !,” सहयोगको याचना गर्छन् उनी ।

आमाको पर्खाइमा छोरी

चन्द्रनिगाहपुरकै सामुदायिक विद्यालयमा कक्षा ६ मा पढ्छिन् सुस्मिता । शरीरमा तेजाबले पोलिरहेकै छ । त्यो भन्दा बढी प्रताडित तुल्याएको छ– आमाको नियास्रोले ।

भन्छिन्, “चिकित्सकले भनेको सुन्छु– दिदीलाई निकै गाह्रो भएको छ । नर्सको कुरा सुन्दा दिदी नबाँच्ने हो कि भनेर डर लाग्छ । आमा आइदिए मनको घाउ निको हुन्थ्यो कि !”

उनलाई थाहा छ– तीन वर्षका लागि गएकी आमाको भिसा सकिन अझै दुई वर्ष बाँकी छ ।

र त, मन डराइरहन्छ– त्यो भन्दा अघि दिदीलाई मृत्युले भिसा पठायो भने…!

सम्बन्ध पो डिभोर्स भयो, मन कहाँ अलग्गिन मान्छ र !

धनमायासँगको सम्बन्ध विच्छेदपश्चात् उनले महोत्तरी, गौशालाकी परमशीलासँग दोस्रो बिहे गरे । परमशीला पनि पती वियोगमा थिइन् । दुवै टुटेका मन थिए, जोडिन समय लाग्दै लागेन ।

परमशीला जीवनको आधारशीला बने पनि जादुलाल धनमायाको मायाबाट अलग्गिन सकेका छैनन् । अस्पतालको चिसो भुइँमा पनि धनमायाकै सम्झनामा आँखा चिसा पारिरहन्छन् ।

“दुई छोरी तेजाबको आगामा यसरी तड्पिइरहेका छन्, उसलाई कस्तो पीडा भएको होला,” मन सम्हालिनै मान्दैन उनको ।

धनमायाले छोरीको उपचारका लागि ५० हजार रुपैयाँ पठाइदिएकी छन् । आँसुले भिजेको होला भनेर लिन जान जादुलालका खुट्टा लागेका छैनन् ।

“पैसा त म आफैँ बेचिएर पनि जुटाउँथेँ, उही आइदिए हुन्थ्यो,” अन्तिममा डाँकै छाडेर रोए उनी ।

(सहयोगका लागि जादुलाल दाससँग ९८१७२८५८८२ सीधा मोबाइल सम्पर्क गर्न सकिनेछ ।)


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.