“आमा आउञ्जेल यसको सास अल्झाइरहन पाए हुन्थ्यो !”
पाँच दिन भयो, जादुलाल दासको पेटमा अन्नको गेडो नपरेको । आँसुले धानिरहेछन् प्राण ।
फूलजस्ता दुई छोरी तेजाब आक्रमणमा परे । कुनचाहिँ संदिग्धले भर्खर फक्रँदै गरेका नवयौवनामाथि एसिड हालिदियो र जिन्दगी घाइते तुल्याइदियो । अझै पत्ता लागेको छैन अपराधी ।
मध्यरात सुतेकै ठाउँमा तेजाब खन्याएर भागेको अपराधी प्रहरीको फन्दामा नपरेको पीर त छँदैछ । त्योभन्दा ठूलो भुङ्ग्रोमा छन् उनी– १८ वर्षकी जेठी बाँच्ने हो, होइन ।
र त, उनी बर्बराइरहन्छन्, “कहाँमात्र पोल्न बाँकी छैन तेजाबले । पीडाले कति छटपटाउँदी हो !”
आइतबार निःस्तब्ध छ कीर्तिपुर अस्पताल प्राङ्गण । आँसुले भिजेको छ, कुरुवा कक्ष । वल्लोपल्लो शैय्याका आफन्तजनहरू झिँजो लगाइरहन्छन्, “केही सुधार भयो त ?”
भित्र शल्यक्रिया कक्ष (अप्रेसन थिएटर)मा १८ वर्षीया सम्झना दास स्लाइनको थोपासँगै जीवनको सास फेरिरहेकी छिन् । भित्तामा टाँसिरहेको यन्त्रका बाङ्गाटिङ्गा र किरिङमिरिङ हरिया धर्साहरूले जिन्दगी धिपधिप बलिरहेको आभास हुन्छ ।
भित्र सम्झना दास गहिरिँदै गएको घाउसँग पौँठेजोरी खेल्दैछिन् । बाहिर बाबु प्राणतुल्य छोरीको जलन खप्न नसकेर कहिले भित्तामा टाउको बजार्छन्, कहिले आँखाभरि आँसु पारेर अनुनयविनय गर्छन् । निरूपाय हुँदै ईश्वर पुकार्छन्, “भगवान तिमी छौ भने मेरी छोरी बचाऊ ।”
नजिक–वर्पनमा रहेका आफन्तहरू आँसुमिश्रित हुँदै भन्छन्, “तपाईंले यसरी हत्ते हाल्नुहुन्छ ? बाबु नै रोएपछि ती अबोध नानीहरूलाई कसले सम्हाल्छ ?”
एसिडले छोरीहरूलाई जति पोलेको छ, त्यो भन्दा बढ्ता जलेको छ उनको दिल ।
त्यो कालरात्री
घटना यही भदौ २६ गतेको हो ।
रौतहट चन्द्रनिगाहापुर–६ को गरिबीले थिल्थिलिएको दास परिवार । पूर्व–पश्चिम राजमार्गबाट टाढा छैन ठोकटोल । तर ढुङ्गो हुर्याएजत्ति नजिक पनि होइन । हाइवेबाट त्यस्तै एक किलोमिटरको दूरीमा पर्छ उनीहरूको घर ।
भाद्र शुक्ल तृतीया । पहाडी बहुल चपुर (चन्द्रनिगाहपुर) । तीजको रमझममा चपुरले सिंगै तराईलाई उछिनेको प्रतीत हुन्थ्यो । माइत आएका चेलीबेटी स्वादिष्ट दर बनाउन व्यस्त थिए । सबका धुरीबाट खिरको बास्न छुटेपछि सम्झना दासले बाबुलाई भनिन्, “बा, सबका घरमा खिर पाकेको छ । मगमगाउँदो बासना छुटेको छ । वर्ष दिनको चाड, हामी पनि खिर पकाउँ न है ?”
अभावले बाबु रित्तिएका थिए । टाट पल्टिएको थियो गोजी । ऋणको आहालमा आकण्ठ जाकिएका जादुलालसँग कुनै जादुको छडी थिएन ।
लज्जित हुँदै उनले भने, “हेर छोरी, आज मसँग एक रुपैयाँ पनि छैन । शनिबार पैसा आउँछ, त्यही दिन खानू खिर !”
अभावले आजमात्रै पिरोलेको भए पो हुँदैन भन्नु । वर्षौंवर्षदेखि अभावसँग चिनापर्ची भएकाले उनले पनि हुन्छ भने मुन्टो हल्लाइन् ।
यसो जूठो मुख गरे र दुवै दिदीबहिनी ओछ्यानमा पल्टिए ।
एकतल्ले घर । वर्षात्मा पानी र हिउँदमा शीत छल्न मुस्किल हुन्थ्यो । छानाबाट चुहिएको होइन, झ्यालबाट पसेको बाछिटालेसमेत चुर्लुम्मै भिजाउँथ्यो कहिलेकाहीँ । ढोका पनि राम्रोसँग लाग्दैनथ्यो । बेपरवाह गर्दै सुते । भुसुक्कै निदाए ।
राति झल्याँस्स ब्युँझँदा मध्यरात भएको रहेछ । पिसाबले च्यापेको उस्तै । दुवै दिदीबहिनी जर्याकजुरुक उठे र पचास मिटरजति पर शौचालयमा पिसाब फेरे ।
बरन्डामा बत्ती बलिरहेकै थियो । बालख भाइ राति ब्युँझिएर दुःख देला भनेर बरन्डाको बत्ती निभाउँदैनथे उनीहरूले । त्यसदिन पनि निभाएनन् र भित्र गएर सुते ।
त्यस्तै बाह्र बजेको हुँदो हो, सुस्मितालाई एक्कासि हातमा आगाको फिलिङ्गो परेजस्तो भयो । गर्धन, घाँटी जताजतै पोल्न थाल्यो ।
उनी एकैपटक चिच्याउन थालिन्, “सानीआमा मलाई पोल्यो, लौन !”
सानीआमा आत्तिँदै कोठाबाट बाहिर आइन् । भाइ पनि मच्चिएर रुन थाल्यो ।
आफूलाईमात्रै पोलेको होला भन्ठानेको, उता दिदी भक्कानिएर रुनै सकेकी थिइनन् ।
दराजनजिकै थुचुक्क बसेकी उनको अनुहार नीलो–कालो भइसकेको थियो । हल न चल उनी न रुन सक्थिन्, न के भयो भनेर बताउनै सक्थिन् ।
“दुवै छोरी चिच्याउँछन्, पोल्यो मात्रै भन्छन्, नआत्तेओ न, म छँदै छु नि त भन्छु रोइमात्रै रहन्छन्,” त्यसदिनको घटना सुनाउँछिन् सानीआमा परमशीला दास ।
शुरूमा उनले सर्पले टोकेको पो हो कि भन्ठानिन् । दुवै छोरी अँगालामा टाँसिएका छन् । पोल्यो, चहर्यायो मात्रै भन्छन्, उनले मेसो पाउन छाडिन् । दिमागमा शून्यता छायो ।
मध्यरातमा रुवाबासी, कोकोहोलो मच्चिएपछि छिमेकी पनि ब्युँझिए । सुर जोडिएका थिए रामबाबु पासवान दाइ । उनी दगुर्दै आए र भने, “छोरीहरूलाई एसिड खन्याएजस्तो छ, छिटो चिसो पानी हाल !”
चिताउँदै नचिताएको घटना पो आइलागेछ । भनाबैरी कोही थिएनन् । कोहीसँग झगडा परेको पनि थाहा थिएन । सात कक्षा पढ्दापढ्दै स्कुल जान छाडेकी सम्झनाको नराम्रो केही सुनेकी थिइनन् । कसले गर्यो होला यस्तो अपराध ? उनको मथिङ्गलले केही ठम्याउन सकेन ।
गाउँका सबैले हाते कल चलाएर बाल्टीका बाल्टी पानी खन्याए । शीतल हुनुको सट्टा जलन बढ्दै गयो । घाउ गहिरिँदै गयो । छालाको बाह्यपत्र आलु छोडाएझैँ भुइँमा थुप्रिन थाले ।
त्यतिञ्जेल सानीआमाले बाबुलाई फोन गरिसकेकी थिइन् ।
पाँच मिनेटको दूरीमा रहेको आफ्नै ‘पुल हाउस’मा सुत्न गएका जादुलाल घर आइपुगिसकेका थिए । छोरीहरूको अवस्था देख्नासाथ उनी किंकर्तव्यविमूढ भए । होसहवास उड्यो । मूर्तिवत् ठिंग उभिई मात्रै रहे ।
“घर आइपुग्दा दुवै छोरीको अवस्था नाजुक थियो । छिमेकका सबैले जीउमा पानी खन्याउँदै रहेछन् । तर पनि उनीहरूको जलन कम्ता भएको थिएन,” अहिले सम्झिन्छन् उनी ।
आँगनमा पुग्दानपुग्दै दुर्गन्ध उनको नाकमा ठोक्किइहाल्यो । गन्ध नाकमा पर्नेबित्तिकै चाल पाइहाले– अपराधीले छोरीहरूलाई तेजाब खन्याएर बेपत्ता भएछ ।
छरछिमेकको सहयोगमा उनले चपुर अस्पताल त पुर्याए तर तेजाबले सम्झनाको आधा शरीर जलाउन भ्याइसकेको थियो । घाँटीमा, गर्धनमा र हत्केलामा तेजाब परेका सुस्मिताको अवस्था भने आत्तिइहाल्नु पर्ने थिएन ।
तर, सम्झना जीवन–मरणको दोसाँधमा थिइन् । त्यहीँ चिकित्सकले भनेका थिए– ३५ प्रतिशत भाग जलिसकेको छ । तुरुन्तै काठमाडौँ नपुर्याए जे पनि हुनसक्छ ।
आफूसँग फुटेको कौडी छैन । पुल हाउस दिनभरि कुर्नुमात्रै भएको छ, आम्दानी हुने होइन, कुन पैसाले अस्पताल लैजानु ।
हारगुहार गरेर दुई–चार हजार जम्मा गरेर एम्बुलेन्समा हालेर काठमाडौँ हिँडाए । त्यतिञ्जेल बिहानको चार बजिसकेको थियो ।
काठमाडौँ त हिँडे तर कुन अस्पताल लैजाने ? केही थाहा थिएन ।
कसैले भनिदियो– “जलेको, पोलेको बिरामीका लागि कीर्तिपुर अस्पताल उपयुक्त हुन्छ ।”
एम्बुलेन्स त्यतै मोड्न लगाए उनले ।
० ० ०
बहिनीलाई पहिलो तलाको प्लास्टिक सर्जरी कक्षमा राखिएको छ । हिँडडुल गरिरहनुपर्ने बालख स्वभाव । तर कुँजिएकी छिन् उनी । आफ्नो घाउको पीडा भन्दा दिदीको जलनले मर्नु न बाँच्नु बनाएको छ ।
“डाक्टर साब ! मेरी दिदीलाई जसरी पनि बँचाइदिनूहोस् ल !,” चिकित्सकको टोली भ्रमणमा आउनेबित्तिकै बरबरी आँसु झार्दै बिन्ती बिसाउँछिन् उनी ।
एउटै खाटमा सुतेकी दिदीलाई तेजाबले ‘खँजाहा’ बनायो । सधैँ भित्तापट्टी सुत्थिन् उनी । त्यसदिन पनि भित्तापट्टी नै फर्किएर सुतेकी थिइन् ।
छेउपट्टी सुतेकाले दिदीको अनुहारभरि तेजाब पर्यो । छाती, सम्वेदनशील अङ्ग, पाखुरा जल्न कतै बाँकी रहेनन् ।
“तल्लो वार्डमा सुतेको बिरामीलाई माथि जान पनि दिँदा रहेछन् । एकपटक दिदीलाई हेर्न पाए पनि तेजाबको जलन निको हुँदो हो । मैले देख्नै नपाई दिदीलाई केही भइहाल्यो भने…. ?,” आँखाबाट आँसुका ठूल्ठूला ढिक्का फाल हाल्छन् र नर्सतिर एकोहोरो हेरिरहन्छिन् ।
बाबुको पीडा पनि उस्तै छ ।
आधा अङ्ग तेजाबले खाइगयो । जलेको भाग ताछेका ठाउँमा सद्दे अङ्गको मासु काटेर हालेको छ भनेर कसैले सुनाइदिँदो रहेछ ।
हुर्रिंदै उनी छोरी भएतिर जान्छन् ।
“अप्रेसन थिएटरभित्र छिर्न मिल्दैन !,” उनका पाइला एकाएक रोकिन्छन् । मुर्च्छित हुँदै बेञ्चमा थुचुक्क बस्छन् र सुँक्सुकाउँछन्, “मैले छोरीको मुखै देख्न पाइन भने… !”
को होला अपराधी ?
दुई लाख ऋणपान गरेर ६ महिनाअघि उनले पुल हाउस खोलेका छन् । परमशीलादेवी उनकी दोस्री पत्नी । र, तेजाबले खाएका दुई छोरी जेठीपट्टीकी ।
ती बाहेक एउटा छोरा पनि छन्, त्यस्तै दश वर्षका ।
तीन वर्षअघि वैदेशिक रोजगारीका लागि मलेसिया पुगेकी जेठी पत्नीसँग उनको सम्बन्ध सुमधुर हुन सकेन र डेढ वर्षअघि उनीहरू औपचारिक रूपमै छुट्टिए ।
“बाबु त आमा कुरेरै बस्नु भएको थियो । तर, आमा बाहिरबाहिर बस्न थालेपछि बुबाले दोस्रो बिहे गर्नुभयो,” सुस्मिता सुनाउँछिन् ।
जेठीसँगै मिलेर जादुलालले केही वर्षपहिले चन्द्रनिगाहपुरमै जग्गा किनेका थिए । अहिले त्यस जग्गामा गुरुङ थरकाले घर बनाएर बसेका छन् ।
केही समयअघिको मात्रै कुरा हो, उनले जग्गा फिर्ता ल्याउन निकै धामा गरे । ताकेता पनि गरे ।
जग्गा फिर्ता दिनुको सट्टा ती व्यक्तिले उल्टै हप्काए, “यो जग्गा ऐलानी हो । तँलाई दिन्न । सकेको गर् !”
“त्यतिमात्रै भए त हुन्थ्यो नि हजुर ! उठिबासै लाइदिन्छु भन्यो,” उनी शंकाको तीर तेस्र्याउँछन् ।
“घटना भएको दिन पनि सारा गाउँ उल्टेर आयो । सहायता दियो । तर, साँध जोडिएको उक्त छिमेकी आएन । मस्त निदाएझैँ गर्यो,” उनको शंका अझै सघन बन्छ ।
अपराधीले एउटा अक्षम्य दुस्कर्म त गरिसक्यो । तामाको मूनाजस्ता छोरीहरूको जिन्दगीमा तेजाब खन्याइदिएर जेलको टिकट काटिसक्यो । थुप्रैलाई शंका गरेर झन् ठूलो अपराध गर्ने पक्षमा छैनन् उनी । “प्रहरी लागेकै छ, एक न एकदिन पत्ता लगाउला !,” अपराधी पत्ता लगाउन वैधानिक बाटोमै हिँड्न रुचाउँछन् उनी ।
परमशीलाको पनि तर्क त्यस्तै छ, “सँगै सुतेका दुई छोरीमध्ये कसैले सुइँको पाएनन् । बरन्डाको चिम हराउने बाहेक अरू सामान तलवितल भएको छैन । हामीले यसैले अपराध गर्यो कसरी भन्नु ?”
हिजोमात्रै पनि दुई जना सादा पोसाकका प्रहरी सुस्मिताको कक्षमा पुगे र उनलाई सोधे । उनले पनि घटनाको बेलिबिस्तार लगाइन् ।
तेजाबको जलनबाहेक अपराधीले कुनै सबुत नछाडेकाले व्यक्ति किटान गर्न सकिनन् ।
“दिनको तीन–चारवटा प्रहरीको भ्यान घरमा गएको गयै छ, सकेसम्म छिटो अपराधी पत्ता लगाउँछौँ भन्नुभएको छ,” आशावादी छिन् परमशीला ।
विवाह गर्न नपाए पनि तेजाब । दाइजो नपाए पनि तेजाब । केटीले बिहे गर्न नमाने पनि तेजाब । केटीले मन नपराए पनि तेजाब । तेजाबभन्दा छोरीचेलीको मूल्य सस्तो भएको देख्दा जादुलाल विह्वल हुन्छन् र भक्कानिँदै प्रशासनसँग गुनासो गर्छन्, “तेजाब बिक्रीमा प्रतिवन्ध लगाए हुँदैन ?”
चिताको आगोमा त एकपटक जले पुग्छ, तेजाबको आगामा जिन्दगीभर जलिरहनुपर्दा विक्षिप्त छन् उनी ।
“जेठी छोरीलाई अहिले बचाउनै मुस्किल छ । तेजाबको जलन निको भएपछि बिहावारी गर्ने मुस्किल होला !,” भविष्य सम्झँदै उनको मन कहालिएर आउँछ ।
चन्दा उठाएर उपचार
काठमाडौँ आउँदा दुई–चार हजार रुपैयाँ थियो । त्यति रुपैयाँले बिरामी भर्ना गर्नसमेत पुगेन ।
अहिले रौतहट प्रहरीकै सक्रियतामा चन्दा उठाउने काम भइरहेको छ । भर्खर यौवन टुसाउँदै गरेकी सम्झना । तेजाबले जिन्दगी विरुप, विद्रूप तुल्याइदियो । आवेग, विद्वेषको आगामा जल्दै गरेको उनको जीवन बचाउन सबैले चासो देखाएका छन् । हिजोमात्रै पनि रौतहटकै सामाजिक संस्थाले २५ हजार र छरछिमेकले २० हजार चन्दा उठाएर पठाइदिए ।
तर, त्यति पैसा छोप बराबर पनि भएको छैन ।
“बिरामीको जीवन पैसा रहेछ हजुर !,” सहयोगको याचना गर्छन् उनी ।
आमाको पर्खाइमा छोरी
चन्द्रनिगाहपुरकै सामुदायिक विद्यालयमा कक्षा ६ मा पढ्छिन् सुस्मिता । शरीरमा तेजाबले पोलिरहेकै छ । त्यो भन्दा बढी प्रताडित तुल्याएको छ– आमाको नियास्रोले ।
भन्छिन्, “चिकित्सकले भनेको सुन्छु– दिदीलाई निकै गाह्रो भएको छ । नर्सको कुरा सुन्दा दिदी नबाँच्ने हो कि भनेर डर लाग्छ । आमा आइदिए मनको घाउ निको हुन्थ्यो कि !”
उनलाई थाहा छ– तीन वर्षका लागि गएकी आमाको भिसा सकिन अझै दुई वर्ष बाँकी छ ।
र त, मन डराइरहन्छ– त्यो भन्दा अघि दिदीलाई मृत्युले भिसा पठायो भने…!
सम्बन्ध पो डिभोर्स भयो, मन कहाँ अलग्गिन मान्छ र !
धनमायासँगको सम्बन्ध विच्छेदपश्चात् उनले महोत्तरी, गौशालाकी परमशीलासँग दोस्रो बिहे गरे । परमशीला पनि पती वियोगमा थिइन् । दुवै टुटेका मन थिए, जोडिन समय लाग्दै लागेन ।
परमशीला जीवनको आधारशीला बने पनि जादुलाल धनमायाको मायाबाट अलग्गिन सकेका छैनन् । अस्पतालको चिसो भुइँमा पनि धनमायाकै सम्झनामा आँखा चिसा पारिरहन्छन् ।
“दुई छोरी तेजाबको आगामा यसरी तड्पिइरहेका छन्, उसलाई कस्तो पीडा भएको होला,” मन सम्हालिनै मान्दैन उनको ।
धनमायाले छोरीको उपचारका लागि ५० हजार रुपैयाँ पठाइदिएकी छन् । आँसुले भिजेको होला भनेर लिन जान जादुलालका खुट्टा लागेका छैनन् ।
“पैसा त म आफैँ बेचिएर पनि जुटाउँथेँ, उही आइदिए हुन्थ्यो,” अन्तिममा डाँकै छाडेर रोए उनी ।
(सहयोगका लागि जादुलाल दाससँग ९८१७२८५८८२ सीधा मोबाइल सम्पर्क गर्न सकिनेछ ।)