देश नेपालको भूकम्पसम्बन्धी अध्ययन गर्दै जापानी भूगर्भविद्, गोरखादेखि दोलखासम्म ८० स्थानमा जीपीएस युनिट

२०७२ साल वैशाख १२ गते गोरखा जिल्लाको बारपाकमा केन्द्रबिन्दु बनाएर आएको ७ दशमलव ८ म्याग्निच्युडको भूकम्पका कारण उत्पन्न समस्याबाट अझै पनि हामीले निकास पाइसकेका छैनौं । नेपालीले राम्रोसँग खुट्टा टेक्न नपाउँदै विश्वका प्रतिष्ठित वैज्ञानिक र भूगर्भविद्हरुले सन् २०१५मै एउटा तथ्य सार्वजनिक गरेका थिए, ‘‘नेपालको भूगर्भभित्र रहेको सबै ऊर्जा निष्कासन भइसकेको छैन र त्यो झन् ठूलो भूकम्पको रुपमा बाहिर आउन सक्छ ।’’

त्यतिबेला आएको ७ दशमलव ८ म्याग्निच्युडको भूकम्पले त मान्छेको सातो बोलाएको थियो भने त्यो भन्दा ठूलो आयो भने के होला भनेर सबैमा भयको अवस्था सिर्जना भएको थियो र अझै पनि त्यो भय बाँकी नै रहेको छ ।

आखिर अहिले के भयो त त्यो जमिनभित्रको ऊर्जा ? सरकारी तहबाट यसबारेमा अध्ययन नभए पनि त्रिभुवन विश्वविद्यालय र जापानको युनिभर्सिटी अफ टोक्योमा आवध्दता रहेको अर्थक्वेक रिसर्च इन्स्टिच्युट (भूकम्प अनुसन्धान प्रतिष्ठान)को सहकार्यमा एउटा अध्ययन भने भइरहेको छ । सो अध्ययनमा नेपालका तर्फबाट संलग्न नेपाल भौगर्भिक समाजका निवर्तमान अध्यक्ष तथा त्रिचन्द्र क्याम्पसमा अध्यापन गरिरहेका प्राडा दण्डपाणि अधिकारीले बाह्रखरीसँग भने, ‘‘हामीले जमिनभित्रको हलचल पछिल्लो समयमा कस्तो छ भन्ने पत्ता लगाउनका लागि गोरखादेखि दोलखासम्मको जमिनमा ८० स्थानमा सिस्मोमिटर र जिपिएस युनिट नामका उपकरण राखेका थियौं । ३–३ महिनाको दरले राखिएका ती उपकरणको अध्ययन सकिएपछि तथ्य बाहिर आउनेछ ।’’

ती उपकरणमा ब्याट्री ३ महिनामा सकिने भएकाले ब्याट्री फेरेर ६ महिनासम्म जमिनमुनिको तथ्य लिने काम भएको उनले जनाए । तर, प्राप्त तथ्यले के बोल्छ भन्ने कुराका बारेमा अहिले जापानका भूगर्भविद्हरुले अध्ययन गरिरहेका छन् । जिपिएस युनिटले जमिनको भित्रि भागको हलचल दायाँबायाँ वा तलमाथि कता छ भन्ने पत्ता लगाउँछ भने सिस्मोमिटरले जमिनभित्र भइरहेको सानो भन्दा सानो कम्पनको समेत रेकर्ड राख्दछ ।

अध्ययनमा संलग्न जापानको अर्थक्वेक रिसर्च इन्स्टिच्युट सन् १९२५ मा स्थापना भएको भूकम्प र ज्वालामुखी सम्बन्धी अध्ययनमा ख्यातिप्राप्त निकाय मानिन्छ ।

अधिकारीका अनुसार टोक्यो विश्वविद्यालयमा विगत ८ महिनादेखि त्यहाँका भूभर्गविद् र वैज्ञानिकहरुले अध्ययन गरिरहेका छन् । उनीहरुको अध्ययन आगामी डिसेम्बर महिनासम्ममा पूरा हुन सक्ने अधिकारीले जनाए । ती उपकरणले रेकर्ड गरेका तथ्यहरु पहिला अध्ययन गरिनेछ । त्यसपछि विश्लेषण गरेर भूभर्गविद्हरुले व्याख्या गर्नेछन् । अनि त्यसलाई सार्वजनिक गरिनेछ । भूगर्भविद्हरुका अनुसार यसबीचमा हजारौंको संख्यामा परकम्प पनि गएका छन् । ती परकम्पले जमिनमुनिको ऊजा निष्कासन गरिसकेको पनि हुन सक्छ । यदि त्यो ऊर्जा निष्कासन भइसकेको हो भने तत्काललाई ठूलो भूकम्पको सम्भावना टर्ने भएपनि ऊर्जा बाहिर गइसक्यो कि सकेन भन्ने कुरामा नै अहिले शंका छ ।

ऊर्जा बाँकी नै रहेछ भने त्यो झन् खतरनाक र डरलाग्दो रुपमा आउन सक्ने समेत वैज्ञानिकहरुले बताउँदै आएका छन् । राष्ट्रिय भूकम्प मापन केन्द्रका सिस्मोलोजिष्ट भरत कोइरालाले बाह्रखरीसँगको कुराकानीमा भने, ‘‘गोरखा भूकम्पका परकम्पहरुको रेकर्ड हामीले ३६ हजार वटासम्मको गर्‍यौं । त्यसपछि कति गए भन्ने बारेमा हामीले गर्नै छोड्यौं । रेकर्ड गरेर साध्य नै भएन ।’’

के अब परकम्प आउन पूरै रोकिएको हो त ? ‘‘भन्न सकिँदैन । तर, पहिलाको तुलनामा कम भने भएकै हो,’’ उनले भने ।

सधैं भूकम्पको खतरापूर्ण स्थान मानिने इण्डोनेसियामा केही दिनअघि गएको भूकम्पका समाचार हेर्दा वा पढ्दा अहिले पनि नेपालीको मन मस्तिस्क २०७२ सालको नेपालको भूकम्प सम्झेर झसक्क हुने गर्दछ । गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको सो भूकम्पले ३१ जिल्लालाई तहसनहस पारेको थियो भने समग्रमा देशले नै त्यसको मार अझै खेपिरहनु परेको छ । मानवीय पीडाको त झन् कुनै गणना नै हुन नसक्ने अवस्था रहेको छ ।

भूकम्पपछिको आवश्यकता आँकलन प्रतिवेदन (पिडिएनए)का अनुसार ८ हजार ७ सय ९० जनाको मृत्यु भएको थियो र २२ हजार ३ सय घाइते भएका थिए । ४ लाख ९८ हजार ८ सय ५२ निजी घर, २ हजार ६ सय ५६ सरकारी भवन र १९ हजार विद्यालयका कक्षा कोठा पूर्ण रुपमा क्षति भएकोमा अझैपनि धेरै संरचना पुनर्निर्माणकै चरणमा छन् । पुरातात्विक महत्वका थुप्रै सम्पदा ध्वस्त भएका छन् । तिनीहरु मध्ये केहीको निर्माण भएपनि थुप्रै काम अझै पूरा हुन सकेको छैन ।

२०७२ सालको भूकम्पपछि नेपालीसमेतको संलग्नतामा विश्वका थुप्रै ख्यातिप्राप्त भूगर्भविद् र वैज्ञानिकहरुले नेपालको भौगर्भिक अवस्थाको बारेमा अध्ययन गरेका थिए । नेपालका भूगर्भविद् प्राडा अधिकारीको समेत संलग्नतामा भएको एक अध्ययनको रिपोर्ट नेचर जियोसाइन्स नामक चर्चित जर्नलमा प्रकाशित समेत भएको थियो । त्यसमा नेपालको जमिनभित्रको सबै ‘पेन्ट—अप सिस्मीक प्रेसर’ रिलिज नभएको जनाइएको थियो ।

डा. अधिकारीकै शब्दमा भन्ने हो भने बारपाक केन्द्र गरी आएको भूकम्पलाई एउटा च्यातिएको कपडासँग तुलना गर्दा त्यहाँबाट जमिनमुनिको ऊर्जा फाट्दै महाभारत शृंखलासम्म पुगेको छ । त्यहाँ पुगेको ऊर्जा बाँकी छ भने अझैपनि ठूलो भूकम्प जान सक्छ । परकम्पका कारण निष्कासन भइसकेको हो भने अहिलेलाई भूकम्प टरेको मान्नुपर्छ ।

उनले त्यहाँ जम्मा भएको ऊर्जा बाहिर गइसकेको वा नसकेको भन्ने बारेमा जानकारी पाउनका लागि भने जापानमा भइरहेको अध्ययनको रिपोर्ट आउनुपर्ने बताए । अधिकारीका अनुसार नेपालको भूकम्पको अवस्थाका बारेमा अध्ययनमा कार्यरत एक जना प्राध्यापकले अवकाश पाएकाले पनि रिपोर्ट आउन केही ढीलो भएको हो । तर डिसेम्बरसम्ममा काम सकिने आशा गरिएको उनले बताए ।

जीपीएस अनुगमन र भौगर्भिक अध्ययनका अनुसार ३३ देखि ५० फिट (१० देखि १५ मिटर) क्षेत्रमा रहेको उर्जा रिलिज हुनु जरुरी रहेको छ । भूगर्भविद्हरुका अनुसार भूकम्पका क्रममा नेपालको भूभाग करिब १० फिट अर्थात् ३ मिटर उफ्रेको थियो । यो क्षेत्रमा अझ ठूलो भूकम्प आउन सक्ने वाशिङ्टन विश्वविद्यालयका भूगर्भविद्हरुले समेत सन् २०१५मै बताएका थिए ।

उनीहरुको तर्क के रहँदै आएको छ भने जमिनमुनिको ऊर्जा निष्कासन हुनका लागि पनि ठूलो भूकम्प आउन जरुरी हुन्छ । उनीहरुको संकेत पहिला जम्मा भएको ऊर्जा सबै रिलिज हुनका लागि कम्तिमा ८ म्याग्निच्युड सम्मको भूकम्प आउनुपर्छ भन्ने छ ।

पोखराको पश्चिमतिरको भागमा र भारतको नयाँ दिल्लीबाट उत्तरतर्फको भागमा आगामी दिनमा ठूलो भूकम्प जान सक्ने समेत भूगर्भविद्हरुले बताउँदै आएका हुन् । त्यो क्षेत्रमा सन् १५०५ पछि भूकम्प नगएकोले ऊर्जा संकलन भएको उनीहरुको तर्क छ । सर्वसाधारण आत्तिनुपर्ने अवस्था नभए पनि सचेत हुनुपर्ने डा. अधिकारी बताउँछन् । परकम्पको कारणबाट उर्जा निष्कासन भइसकेको रहेछ भने चिन्ताको विषय नहुने उनको तर्क छ ।

नेपालको भूमिभित्रको ऊर्जाको अवस्थाका बारेमा नेपाल सरकारकै तर्फबाट भने अहिले कुनै अध्ययन नभएको प्रमुख सिस्मोलोजिष्ट लोकविजय अधिकारीले बताए । २०७२ सालको भूकम्पपछि झण्डै ६ महिना हरेक दिनजसो मिडियासँगको सम्पर्कमा रहेर काम गरेका अधिकारीले बारपाक भूकम्पकै बारेमा अहिले विद्यावारिधी गर्दैछन् । त्यसै सिलसिलामा मंगलबार साँझ फ्रान्सतर्फ लागेका अधिकारीले बाह्रखरीसँग भने, ‘‘हामीले जमिनको रेकर्ड भने लिइरहेका छौं । त्यसको अध्ययन सामान्य रुपमा भइरहेको छ । त्यसबाहेक यो मामिलामा नेपालको सरकारी स्तरबाट केही पनि भएको छैन ।’’

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

View all articles by
बिहि, अशोज १८, २०७५ (October 4, 2018, 9:36 am) मा द्वारा अन्तर्राष्ट्रिय अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै