Kanoon Post
बिहिबार, भदौ २७, २०८१ | September 12, 2024 |
बिहिबार, भदौ २७, २०८१

तंग्रिँदै वीर अस्पताल

चिटिक्कको फार्मेसी। प्रवेश गर्नेबित्तिकै आकर्षक लबी। छेउमै निर्माणाधीन सूचना डेस्क। भुइँ र भित्ता पनि उस्तै सुकिलो।

यसरी आफ्नो हुलिया बदल्दैछ वृद्ध वीर अस्पतालले।

वीर अस्पतालको नाम सुन्नेबित्तिकै धेरैको अनुमान हुन्छ– जीर्ण, फोहोर अनि अव्यवस्थित। तर अहिले पुरानो वीर अस्पताल छिर्दै गर्दा कुनै निजी अस्पतालको झल्को आउँछ।

बिरामीलाई माथिल्लो तलामा चढाउन निकै कष्ट गर्नुपर्ने पुरानो लिफ्टसमेत फेरिएको छ अहिले। अस्पतालको पूर्वाधार, रङरोगन र सरसफाइले मात्र अस्पतालको मुहार फेरिएको भने होइन। पूर्वाधारसँगै अस्पतालको सेवा सुविधामा समेत धेरै सकारात्मक सुधार आइरहेको छ।

१२९ वर्षे पुरानो यो अस्पतालमा अहिले बिरामीले विगतमा जस्तो टिकट लिन सानो प्वालमा हात छिराएर घन्टौं कुर्नुपर्दैन। टिकटको लाइनलाई व्यवस्थित बनाउन टोकन प्रणाली सुरु भइसकेको छ। बिरामीका आफन्तले पैसा तिर्न घन्टौं लाइनमा बस्नुपर्ने झन्झटबाट मुक्ति पाइसकेका छन्। यद्यपि बिरामीको बढ्दो चापका कारण अस्पतालले काउन्टरको संख्या बढाउँदै जाँदा पनि टोकन लिने भिड अझै घट्न सकेको छैन।

टिकट काउन्टर पनि नयाँ निर्माण गरिएको छ। चौबीसै घन्टा डिस्चार्ज सुविधा समेतको लागि क्यास काउन्टरको व्यवस्था गरिएको छ। स्वास्थ्य बिमा, कर्मचारी, ज्येष्ठ नागरिक, असहाय, अपांग र अशक्त बिरामीहरूका लागि छुट्टै टिकट तथा क्यास काउन्टरको व्यवस्था पनि अस्पतालले गरेको छ।

बिरामीको चाप बढेसँगै ४ वटा काउन्टरबाट बढाएर अहिले ६ वटा पुर्‍याइएको छ।

पुराना र सधैं बिग्रिइरहने उपकरणको स्थानमा धमाधम नयाँ र आधुनिक प्रविधिका उपकरण भित्रिइरहेका छन्। बिरामीलाई सहज रूपमा गुणस्तरीय सेवा दिन पछिल्लो दुई वर्षको अवधिमा डेढ अर्बभन्दा बढी मूल्यका अत्याधुनिक उपकरण भित्रिएको अस्पतालका निर्देशक डा भुपेन्द्र बस्नेत बताउँछन्।

‘बिरामीका लागि सहज सेवा उपलब्ध गराउन अस्पतालले बिरामीमैत्री सेवा प्रदान गर्ने कार्यलाई प्राथमिकतामा राखेको छ,’ निर्देशक डा बस्नेत भन्छन्, ‘बिरामीलाई बहुविशेषज्ञ सेवा दिन धेरै विभागमा नेपालमा पहिलो पटक अत्याधुनिक उपकरण ल्याएर सञ्चालन गरिसकेका छौं।’

अस्पतालको मुहार फेर्न गत महिना मात्र धुर्मुस सुन्तली फाउन्डेसनले थप सहयोग पुर्‍याएको छ। फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल धुर्मुस आफै अस्पतालको रङरोगन र सफाइमा जुटेका थिए। अस्पतालले फोहोर मैला व्यवस्थापनका लागि ट्रमाको तल्लो ग्राउन्डमा व्यवस्थित गरेको छ। अहिले ठाउँठाउँमा कोरिएका भित्तेचित्रले झन् आकर्षक बनेको छ अस्पताल। हल्का क्रिम र बोर्डरमा रातो रङ लगाइएको अस्तपाल भवन टाढैबाट चिटिक्क देखिन्छ।

अस्पतालको मुहारसँगै सेवामा समेत आएको सुधारको फड्कोले बिरामीहरूको चाप पनि थामिनसक्नु छ। आर्थिक वर्ष २०७१/७२ को तथ्यांक हेर्ने हो भने ओपिडीमा बिरामीको संख्या २ लाख ८७ हजार देखिन्छ। २०७२/७३ मा आइपुग्दा ३ लाख १० हजार र २०७३/७४ यो संख्या बढेर ३ लाख ८२ हजार ६ सय ८३ मा आएको छ। गएको आर्थिक वर्ष २०७४/७५ मा ४ लाखभन्दा धेरै बिरामीले अस्पतालबाट सेवा लिएका छन्।

केही महिनाअघि वीर अस्पतालमा रगत र बाथको उपचार सेवा नै हुँदैनथ्यो। तर, अहिले उक्त दुवै विधाको सेवा सुरु भइसकेको छ। ओपिडी चलेको दिन दुवै प्रकारका सेवा लिन एक सयभन्दा बढी बिरामी आउने बाथरोग विशेषज्ञ डा अञ्जल विष्ट बताउँछन्। ‘बाथरोगका बिरामीले समयमा उपचार नपाउने हुन्थ्यो तर अहिले सेवाको गति निकै बढिसकेको छ,’ उनले भने। यी दुई रोगको ओपिडी सेवा हप्तामा तीन दिन चल्ने गरेको छ।

निर्देशक डा बस्नेत भौतिक पूर्वाधारले काँचुली फेर्नुका साथै विभिन्न विभागमा बिरामीहरूको सेवा चुस्त र व्यवस्थित भएकाले चाप बढिरहेको बताउँछन्। ‘तर हामीसँग बिरामीको चाप अनुसारको श्यया नभएका कारण लामो समय कुराउनुपर्ने या अन्यत्र पठाउनुपर्ने अवस्था छ,’ उनले बाध्यता सुनाए।

अक्सिजन खरिदको एक करोड बचत
हालसम्म वीर अस्पतालले बिरामीहरूका लागि बाहिरबाटै अक्सिजन किन्ने गथ्र्यो, जसको लागत पुग्थ्यो वार्षिक एक करोड। अहिले भने अस्पताल त्यसबाट मुक्त भएको छ। अस्पताल हाताभित्रै राखिएको अक्सिजन प्लान्टले इमर्जेन्सी लगायत अस्पतालका सबै वार्डहरूमा पाइप बिछ्याइ सप्लाई गर्ने व्यवस्था मिलाइएको छ। यो व्यवस्थासँगै ठूलाठूला सिलिन्डिर बोकेर वार्ड–वार्डमा जानुपर्ने झन्झको पनि अन्त्य भएको छ।

निर्देशक डा बस्नेत भन्छन्, हरेक वार्डमा सिलिन्डर बोकेर लानुपथ्र्यो। अक्सिजन प्लान्ट जडानपछि भने बिरामीको बेड–बेडमा अक्सिजनको पाइपलाइन छ।’

आम्दानी बढाउँदै अस्पताल फार्मेसी
२०७३ माघ ५ गतेदेखि नयाँ फार्मेसी सञ्चालनमा ल्याएको वीरले हरेक दिन तीन लाख रुपैयाँ बराबरको औषधि बिक्री गर्दे आएको छ। मासिक कारोबार नै करिब एक करोड हुने गरेको छ। अहिले अस्पतालको मासिक नाफा करिब १५ लाख पुग्ने गरेको डा बस्नेतले जानकारी दिए।

अस्पतालले बाहिरको मेडिकलभन्दा आधा जस्तो सस्तोमा औषधि बिक्री गरिरहेको छ। अस्पताल फार्मेसीबाट बिक्रीवितरण हुने औषधि तथा सामग्रीहरूको सम्बन्धमा निर्देशिकामा उल्लेख भए बमोजिम मूल्यको २० प्रतिशत मात्र मुनाफा राखी अधिकतम खरिद मूल्यभन्दा बढी नहुने गरी बिक्री मूल्य कायम गरिएको छ। २० प्रतिशतले खुद्रा मूल्य नै नाघ्ने औषधिहरूको हकमा औषधिको अधिकतम खरिदबाट ५ प्रतिशत कम गरी बिक्रीवितरण गरिँदै आएको छ।

प्यान्टोप्राजोल नामक औषधि बाहिरका फार्मेसीमा ४० एमजीको ८० रुपैयाँ पर्छ भने यसलाई २४ रुपैयाँमा अस्पतालले ब्रिकी गर्ने गरेको छ। इम्पिनम र सिलास्टाटिन इन्जेक्सन ५ सय एमजीलाई बजारमा १ हजार २ सय पर्छ भने यहाँ जम्मा ८ सय ६४ रुपैयाँमा बिक्री गरिन्छ।

अब वीर डिजिटल अस्पताल 
भौतिक संरचना सुधारसँगै वीर अस्पताल अब डिजिलल प्रविधिको फड्को मार्न तम्तयार छ। अब बिरामीले बिहानै लाइन बसेर टोकन लिनुपर्ने व्यवस्थाको अन्त्य हुने भएको छ। डा बस्नेत भन्छन्, ‘वीर अस्पताललाई पूरै डिजिटलाइज सिस्टममा लाने योजना हो, बिरामीले लाइनमा बसेर पनि टिकट काट्न मिल्ने र कोहीले घरबाट पनि काट्न मिल्ने गरी वैकल्पिक सिस्टम बनाउने सोचेका छौं।’ यस्तो व्यवस्थाले सेवा छिटो र चाप घट्ने उनको विश्वास छ। ‘मिदास’का टिमसँग यसबारे कुरा भइसकेको उनी बताउँछन्।

अस्पतालमा सिसी क्यामेरा जडान गरिसकिएको छ। बिरामीले स्याम्पल दिएपछि सिधै प्याथोलोजी ल्याबमा प्रोसेसिङ हुनेबित्तिकै सबै ठाउँमा रिपोर्ट पुग्नेगरी व्यस्था मिलाउँदैछौं,’ डा बस्नेत भन्छन्, ‘वार्डमा हुनेले त्यहीँ कम्प्युटर खोलेर रिपोर्ट हेर्न पाउँछन् भने अरू सेवाग्राहीले चाहे घरबाट अनलाइनमार्फत आफ्नो रिपोर्ट हेर्न पाउनेछन्।’

सेवा विस्तार, चौबीसै घन्टा डायलायसिस
रोटरी क्लबसँग सम्झौता गरी हाल अस्पतालले चौबीसै घन्टा ९ वटा हेमोडायलायसिस मेसिन थपमार्फत सेवा दिन थालेको छ। जसबाट इमर्जेन्सी हेमोडायलायसिस सेवा एचआइभी, एचबिएस एजी तथा एससिभी पोजिटिभ बिरामीहरूले समेत नियमित सेवा पाउने भएका छन्। साथै रियुमेटोलोजी तथा हेमाटोलोजीको पनि ओपिडी सेवा सुरु गरिएको छ।

अस्पतालले चौबीसै घन्टा डायलायसिस सेवा सुरु गरिसकेको छ। २०७२ सालमा यो सेवा सुरुवात गरिएकोमा सो वर्ष २५ जना भर्ना भएका थिए भने २०७३ मा १६३ र २०७४ मा ३ सय ६७ जनाले सेवा लिएका थिए।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) सुरु भएदेखि नै वीरमा ओपिडी सुरु भएको हो। यहाँ ९ बजेदेखि ५ बजेसम्म ओपिडीमार्फत बिरामीले सेवा लिने गरेका छन्।

त्यसैगरी अस्पतालले निःशुल्क सेवामार्फत वार्षिक करिब ६ करोड तिर्ने गरेको छ भने सरकारले व्यवस्था गरेको विपन्न नागरिक कोष अन्तर्गत २ वर्षमा उक्त कोषबाट ४ करोड २२ लाख ३३ हजार ३ सय ५८ रुपैयाँ फिर्ता पाएको छ।

दरबन्दी थपिँदै
बिरामीको धेरै चापले गर्दा चाहेजति अस्पतालले सेवा दिन सकेको छैन। बिरामीको संख्यामा वृद्धि भइरहँदा त्यस अनुसार विशेषज्ञको अनुपात पुगेको देखिँदैन। चाप भएपछि बिरामी फर्किनुपर्ने स्थिति घटाउन अस्पतालले स्वास्थ्य मन्त्रालयबाट दरबन्दी थपका लागि आग्रह गरेको छ। चेस्ट युनिट, रिमाटोलोजी, हेमाटोलोजीमा दरबन्दी थिएन तर अहिले यसमा पनि अस्पतालले दरबन्दी राखिसकेको छ।

नयाँ भवन बन्दै
जापानी जाइकाले निर्माण गर्दै गरेको भवन ७ देखि ८ महिनाभित्र हस्तान्तरण हुने भएको छ, जहाँ एक सय बेड थपिनेछन्। त्यसैगरी डायलायसिस मेसिन ६ वटाबाट अहिले १४ वटा बनाइएको छ भने नयाँ भवन थप गरेपछि २५ वटा हुनेछन्। जसले गर्दा डायलाइसिस सेवा अझ सहज बन्नेछ।

अस्पतालमा अहिले कार्डियोलोजी विभाग त छ तर इन्टर्भेन्सन कार्डियोलोजी छैन। त्यसैगरी एनजिओप्लास्टी, एनजिओग्राफीको सुविधा छैन। नयाँ भवन बन्नेबित्तिकै क्याथ ल्याबको सेवा सुरु हुने निर्देशक डा बस्नेतले बताए।

ओटीको अभाव खेप्दै आएको अस्पतालले बन्दै गरेको सर्जिकल भवनमा सर्जिकल विशेषज्ञतासहित १६ वटा ओटी थप्न लागेको छ। अहिले वीरमा १० वटा ओटी छन् तर त्यो छुट्टाछुट्टै ठाउँमा।

नयाँ भवनमा सिटी स्क्यान, पेट स्क्यान, बंकर सबै सेवा सुविधाहरू पाइनेछ। त्यसैगरी अहिले पुरानो भवनमा भिआइपी क्याबिनहरू छैनन्। नयाँ भवनमा पैसा खर्चिन सक्ने भिआइपीले राम्रो कक्षको सेवा उपभोग गर्न सक्नेछन्।

‘भौतिक सुधार सोचे अनुसार भएको छ’

डा भुपेन्द्र बस्नेत, निर्देशक वीर अस्पताल

दुईवर्षे कार्यकाललाई कसरी मूल्याकंन गर्नुभएको छ ?
म पेसाले डाक्टर मात्र थिएँ तर निर्देशकको जिम्मेवारी सम्हालेपछि प्रशासकीय कामकारबाहीको अनुभव मिल्यो। दुईवर्षे कार्यकालमा आफ्नो बुद्धि र विवेकले भ्याएसम्म बिरामीको सुविधा र वीर अस्पतालको स्तरोन्नतिमा महत्वपूर्ण योगदान दिएको छु भन्ने लाग्छ।

कुनै अस्पतालको गुणस्तरीयता कायम गरिराख्न के गर्नुपर्छ ?
क्वालिटी मेन्टेनको लागि डाक्टरलाई तालिम चाहिन्छ, उनीहरूको पनि स्तरोन्नति हुनुपर्छ। राम्रो अत्याधुनिक उपकरण तथा मेसिन पनि चाहिन्छ।

केके चुनौतीहरू झेल्नुभयो यो अवधिमा ?
चुनौतीहरू त थुप्रै आए। सेवाग्राहीको गुनासो सुन्ने अनि सम्बोधन गर्ने, स्वास्थ्य मन्त्रालयको निर्देशन अनुसार काम गर्नुपर्ने अनि त्यसमा आउने राजनीतिक दख्खलका कुरा। थुप्रै संघसंगठन र टे«ड युनियन आदिलाई ब्यालेन्स गरेर लग्नुपर्दा केही असुविधा र  असहजपन चाहिँ हुँदो रहेछ।

आफ्नो कार्यकालमा कति प्रतिशत सफल भएँ भन्ने लाग्छ ?
मूलांकन मैले होइन यो त तपाईंको हातमा हुने कुरा हो। आम सेवाग्राहीले गर्नुपर्ने हो। मैले सोचे अनुसारको भौतिक सुधारको पक्षमा त झन्डै ९० प्रतिशत उपलब्धि पाएको छु। केही व्यवस्थापकीय पक्षमा चाहिँ अझै सुधार गर्न सकेको छैन। प्रशासनिक पक्षलाई चाहिँ म ७० प्रतिशतको हारहारीमा नम्बरिङ गर्छु। त्यो सुधार गर्नका लागि वीर अस्पतालको डाइरेक्टर होइन एकदम पावरफुल डाइरेक्टर हुुनपर्दो रहेछ। कति कुराहरू मेरो लेबलले हुँदैन। मेले चाहेको गर्न सकिनँ।

भूकम्प जाँदा अस्पतालमा क्षति पुगेको थियो। संरचनागत कस्तो असर पुग्यो ?
४६० बेड चलाइराखेको थियौं। भूकम्पछि हामी ३८० बेडमा सीमित हुनुपर्‍यो।

बिरामीको चाप बढ्ने तर बेडको अनुपात किन घट्ने, किन यस्तो ?
त्यो कुरा हामी स्विकार्छौं। तर त्यसलाई सम्बोधन नगरेको होइन। हामीले चलाइराखेका केही बेडहरू ट्रमामा सारेका छौं। हामी प्लास्टिक सर्जरी चलाउँथ्यौं, त्यो ट्रमामा गएको छ। संरचनामा असर परे पनि बिरामीको सेवासुविधा कम हुन दिएका छैनौं। यदि म अर्को कार्यकालमा रहेँ भने केही थप योजनाहरू सोचेको छु।
सेवाग्राही, प्रशासन र पत्रकारबीच महिनामा एकचोटि अन्तरक्रियात्मक कार्यक्रम राख्ने योजना छ। जस्तैः हरेक ओपिडीबाट २ जना सेवाग्राही ल्याउने अनि उनीहरूको गुनासो सुन्ने। ताकि यसबाट सेवाग्राहीकोे गुनासो र सुधारका सुझाव लिन सकिन्छ।

इमर्जेन्सी साँघुरो छ भन्ने गुनासो छ नि ?
इमर्जेन्सी साँघुरो छ, यसलाई हामी विस्तार गर्दैछौं। पहिला जहाँ ज्येष्ठ नागरिक वार्ड थियो त्यहाँ अहिले सबै तयार भइसक्यो। बेड राख्न बाँकी छ। २२ बेड भएको ठाउँमा ४० बेडको क्षमता बढाउन लागिपरेका छौं। हामीले ठेक्का दिएको हिसाबले त अहिलेसम्म सिद्धिसक्नुपर्ने। अबको २–३ महिनामा यो काम पनि पूरा हुन्छ।

ज्येष्ठ नागरिक सेवा र रिफरल ओपिडीमा अस्पतालको प्रगति कस्तो छ ?
वीर अस्पतालमा ज्येष्ठ नागरिकहरूका लागि छुट्टै एउटा ओपिडी त रहेको छ। अर्कोचाहिँ रिफरल ओपिडी सुरु गरेका छौं, जसमा टिकट काउन्टर छुट्टै, टिकटको रङ छुट्टै, ओपिडीमा आएपछि सिधै विशेषज्ञले हेर्नुपर्ने सेवा सुरु गरेका छौं।
हामीले अपेक्षा गरेअनुसार बिरामी चाहिँ धेरै रिफर भएर आएका छैनन्। हामीले गरेर मात्र हुँदो रहनेछ। रिफर गर्ने अस्पतालबाट सिस्टममा आउनुपर्छ। यो चाहिँ सरकराले नै केन्द्रीय अस्पताल, क्षेत्रीय/उपक्षेत्रीय/अञ्चल/जिल्लासम्मका अस्पतालमा यस्तो पनि सिस्टम छ है नभनेसम्म धेरै प्रभावकारी नहुने रहेछ। तर जति बिरामी आउनुभएको छ, उहाँहरूले सहजै सेवा पाउनुभएको छ।

ad

प्रतिकृया दिनुहोस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार


Naya Media

सञ्चालक
एक्टिभ प्रेस प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

nayamedia.com@gmail.com

© 2016 - 2024 Active Press Pvt.Ltd. All Rights Reserved.

Discover more from NayaMedia

Subscribe now to keep reading and get access to the full archive.

Continue reading