Naya Media
शुक्रबार, बैशाख ११, २०८३
| | April 23, 2026
शुक्रबार, बैशाख ११, २०८३

सामाजिक शिक्षा नेपाली भाषामा पढाउन माग

User Photo सोमवार, अशोज २२, २०७५

सामाजिक शिक्षा नेपाली भाषामै पठनपाठन गराउन शिक्षाविद्ले माग गरेका छन्। पोखरामा शनिबार आयोजित ‘सामाजिक शिक्षा नेपालीमै किन विषयक अन्तर्क्रिया’ कार्यक्रममा शिक्षाविद्ले परिवार, समाज, देशको संस्कृति, परम्परा, सभ्यता बुझाउने सामाजिक शिक्षाजस्तो महत्वपूर्ण विषय अंग्रेजी भाषामा पठनपाठन हुँदा नेपाली संस्कृति सभ्यता नै जोखिममा परेको बताएका हुन्।

अन्तर्क्रियामा सहभागीले भोलिको नागरिक कस्तो खालको उत्पादन गर्ने भन्ने विषय देशको शिक्षा नीतिले निधारण गर्ने भएकोले नेपालको शिक्षा प्रणाली नै अव्यवहारिक भएकोे सुनाए। सामाजिक शिक्षा नेपालीमा अभियान पोखराको आयोजनामा भएको कार्यक्रममा बोल्दै शिक्षाविद् प्राडा. केदारभक्त माथेमाले संस्कृति, भाषा, परिवार, समाजको अध्ययन पनि अंग्रेजी भाषामा हुनु न्यायोचित नभएको तर्क राखे।

‘समाज, संस्कृति जस्ता महत्वपूर्ण विषयको अध्ययन कुनै पनि देशमा मातृभाषाबाहेक अन्य भाषामा पढाइ हुन सक्दैन’, माथेमाले भने, ‘यस्तो शिक्षा प्रणाली सच्याउनुपर्ने देखिन्छ।’ आफ्नो समाज, संस्कृति पनि अर्को भाषामा पठनपाठन गराउनु भनेको विद्यार्थीलाई घोकाउने र घोक्ने शिक्षातर्फ हाम्रो शिक्षा अघि बढेको उनको तर्क थियो।

कुनै पनि विषयमा स्पेससाइज गर्नुअघि सामाजिक शिक्षाको अनिवार्य अध्ययन गर्ने व्यवस्था मिलाउनुपर्नेमा पनि प्राडा. माथेमाले जोड दिए। ‘मेडिकल साइन्स, इन्जिनियरिङ जे सुकै विषयमा स्पेसल अध्ययन गर्नुअघि विद्यार्थीले सामाजिक शिक्षा अनिवार्य अध्ययन गरेको हुनुपर्ने व्यवस्था गर्न सके मात्र नेपाली परम्परागत संस्कृति, भाषा युवा पुस्तामा पनि रहिरहने छ’, उनले भने। नेपाली भाषा अध्ययन नै नगरी युवा उच्च शिक्षाका लागि विदेश जाँदा ऊसँग नेपाल चिनाउने पहिचान नै बाँकी नहुने उनले बताए।

संस्कृतिकर्मी साहित्यकार तीर्थ श्रेष्ठले सामाजिक शिक्षाजस्तो राष्ट्रियतासँग जोडिएको विषय पनि अंग्रेजी विषयमा पठनपान हुनुले नेपाली संस्कृति, समाज, भाषा र सभ्यता नै संकटमा पर्ने बताए। ‘नेपाली संस्कृति, मौलिकता, भाषा आदि अंग्रेजीमा ट्रान्सलेट गरेर त्यसको जीवन्तता र मर्म नै रहँदैन’, उनले भने, ‘यसका लागि कम्तीमा सामाजिक शिक्षा नेपालीमा हुनपर्छ।’

एनप्याब्सन कास्कीका अध्यक्ष रामबहादुर मोचीले सामाजिक शिक्षा नेपालीमै पढाउने गरी सरकारले राष्ट्रिय शिक्षा नीति ल्याउनुपर्नेमा जोड दिए। यसअघि कास्कीमा एनप्याब्सनले सामाजिक शिक्षा नेपालीमा पठनपाठन गराउन प्रयास गरे पनि देशभरका अन्य विद्यालयमा त्यो व्यवस्था नहुँदा सफल नभएको उनले सुनाए। ‘सरकारले सिंगो शिक्षा पद्धतिमै सुधार ल्याएर व्यवहारिक शिक्षा मिल्ने गरी पाठ्यपुस्तक तयार गर्नुपर्ने देखिन्छ’, उनले भने।

अन्तर्क्रिया कार्यक्रमका संयोजक डा. वसन्त गौतमले विद्यालयमा पठनपाठन हुने समाजिक शिक्षामा नेपाली संस्कृति, चाडपर्व ‘सोसल स्टडिज’को रूपमा अंग्रेजी भाषामा पढाइँदा नेपाली समाज र विशेषताहरूको वर्णन अंग्रेजीमा सम्भव नहुने र नेपाली भाषामै फर्किनुपर्नेमा जोड दिए। उनले भने, ‘पेसाका हिसाबले विद्यार्थीले भोलि गएर शिक्षक, प्रशासक, डाक्टर, इन्जिनियर, राजनीतिकर्मी जे बने पनि समाजलाई चिन्न सक्नु पहिलो विषय हो।’


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.