Kanoon Post
बुधबार, बैशाख १९, २०८१/ May 1, 2024,
बुधबार, बैशाख १९, २०८१

बुद्धशान्ति अस्पतालको फार्मेसी, २ वर्षे कार्यकाल ४ वर्षे सम्झौता

बुद्धशान्ति, झापा ।

गत बैशाख २५ गते बुद्धशान्ति गाउँपालिकाको १ सय २ औं कार्यपालिका बैठकले आरएमसी मेडिकल सेन्टर अर्जुनधारालाई स्वास्थ्य विमा सहितको फार्मेसी सञ्चालनको अनुमति दिने निर्णय गर्यो।

वार्षिक ५ लाख रुपैँया (प्रत्येक वर्ष ५ लाखको दश प्रतिशत बढ्ने गरी) गाउँपालिकालाई आरएमसी मेडिकल सेन्टरले दिने गरी चारवर्षे सम्झौताको निर्णय भयो । गाउँपालिकाको यो निर्णयसँगै यस क्षेत्रका औषधी व्यवसायीहरु आक्रोसित भएका छन् ।

यता गाउँपालिकाले स्वास्थ्य विमाको कार्यक्रम सञ्चालन गर्न आरएमसी मेडिकल सेन्टर सञ्चालकले सहयोग गरेको भन्दै उसलाई नै फार्मेसी सञ्चालन गर्न अनुमति दिएको गाउँपालिका स्रोतले बतायो ।

बुद्धशान्ति गाउँपालिकाले जेठ पहिलो सातादेखि सञ्चालनमा ल्याउने गरी ५ शैयाको ‘बुद्धशान्ति अस्पताल’ सञ्चालनको तयारी गरिरहेको छ ।
स्थानीय क्षेत्रमै स्वास्थ्य विमा सहित अस्पताल बन्ने कुरा चर्चामा आएसँगै यहाँका औषधी व्यवसायीले फार्मेसी सञ्चालनका लागि चासो र सकृयता देखाएका थिए । उनीहरुले आवश्यक तयारीका साथ आवेदन दिन फाइल समेत तयारी अवस्थामा राखेको बताएका छन् ।

‘हामी स्तरीय ढंगले फार्मेसी सञ्चालन गर्न सक्छौं’ एक फार्मेसी सञ्चालकले भने ‘वार्षिक ५ लाख दिने गरी ४ वर्षे सम्झौता भएको रहेछ हामी त्यो भन्दा बढी तिर्न तयार छौं ।’ जनप्रतिनिधिको कार्यकाल ४ बर्ष भन्दा कम समय रहेको अवस्थामा ४ वर्षे सम्झौता हुनु आपत्ति जनक र आशंका गरिने विषय भएको उनको दावी छ ।

नाम नबताउने शर्तमा अर्का फार्मेसी सञ्चालक भन्छन् ‘बुद्धशान्ति अस्पताल सञ्चालनमा आउने कुराले हामीलाई खुसी लागेको छ तर गाउँपालिकाले खुल्ला प्रतिष्पर्धाबाट फार्मेसी सञ्चालन गरेको भए सुनमा सुगन्ध हुन्थ्यो, गाउँपालिकाले नै यसरी आफूखुसी ढंगले काम गर्दा राम्रो सन्देश जाँदैन ।’ गाउँपालिकाले यहाँका फार्मेसी सञ्चालकलाई वेवास्ता गरेको उनले आरोप लगाए ।

कसले गर्याे सम्झौता ?

कार्यपालिका बैठकबाट यस सम्बन्धि निर्णय गरिएको र आवश्यक कुरा मिलाउने जिम्मेवारी प्रमुख प्रशासकीय अधिकृतलाई दिइएको बुद्धशान्ति गाउँपालिका अध्यक्ष रमेश कुमार भुजेलले बताएका छन् ।

यता यस विषयमा प्रमुख प्रशासकीय अधिकृत इन्द्रप्रसाद चापागाईसँग कुरा गर्दा कार्यपालिका बैठकले अस्पताल तथा स्वास्थ्य विमा सहितको फार्मेसी सञ्चालन गर्न बुधबारे स्वास्थ्य चौकी व्यवस्थापन समितिलाई अख्तियारी दिएको स्पष्ट पारे । आफूले कागजी प्रकृयालाई मात्रै निरन्तरता दिएको र यस सम्बन्धि काम व्यवस्थापन समितिलाई जिम्मा दिइएको दावी गरे ।

बुद्धशान्ति गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष समेत रहेका बुद्धशान्ति अस्पताल समितिका अध्यक्ष कमलप्रसाद उप्रेतीले कार्यपालिका र गाउँपालिकाको परिपत्र बमोजिम आफूले काम गरेको उल्लेख गरे । उनले भने ‘सबै तयारी पूरा भएपछि मलाई सम्झौताको जिम्मेवारी दिइयो, उहाँहरुकै निर्देशन बमोजिम मैले काम गरेको हुँ ।’

किन गरियो ४ वर्षे सम्झौता?

आफूहरुसँग ४ वर्षे सम्झौता नगर्ने हो भने यहाँ अस्पताल आउने कुरा रोकिने आरएमसी मेडिकल सेन्टरका सञ्चालकले आफूलाई जानकारी गराएको गाउँपालिका अध्यक्षले कार्यपालिका बैठकमै बताए पछि सो बमोजिम निर्णय भएको बताइएको छ ।

अस्पताल नै आउने नआउने अन्योल बढेपछि आरएससीलाई नै दिने भनि कार्यपालिकाले निर्णय गरेको अस्पताल व्यवस्थापन समिति अध्यक्ष कमल उप्रेतीले जानकारी दिए । आरएमसी मेडिकल सेन्टरले यहाँ अस्पताल ल्याउन महत्वपूर्ण भूमिका खेलेपछि उसैलाई दिइएको उनको बुझाई छ ।

कस्तो कानुनी आधारले दिइयो ?

स्वास्थ्य विमा ऐन २०७४ तथा स्वास्थ्य विमा नियमावली २०७५ अनुसार टेन्डर खोल्ने प्रकृया स्पष्ट नभएकोे र विमा बोर्डले पनि स्थानीय सरकारले निर्णय गरेर व्यवस्थापन समिति मार्फत काम अगाडी बढाउन सकिने जानकारी गराएपछि त्यसो गरिएको गाउँपालिकाले जनाएको छ ।

दुई वर्षे कार्यकाल ४ वर्षे सम्झौता

स्थानीय निकायका जनप्रतिनिधिको कार्यकाल सकिन दुई वर्षमात्र बाँकी रहँदा फार्मेसी सञ्चालनका लागि भने जनप्रतिनिधिले ४ वर्षे सम्झौता गरेका छन् । बुद्धशान्ति गाउँपालिकाको कार्यशैली प्रति यो घटनाले प्रश्न चिन्ह खडा गरेको छ । अन्य स्थानीय निकायमा पहिलो पटकको स्वास्थ्य विमाको कार्यक्रम ल्याउँदै गर्दा एक वर्षे सम्झौता गरेको देखिन्छ ।

यता औषधी व्यवसायीहरुले ४÷४ वर्षे सम्झौता हुनु र आम्दानीको स्रोत अझ बढी हुने जान्दाजान्दै एकतर्फी कार्यपालिकाले गरेको निर्णय प्रति आंशका व्यक्त गरेका छन् । टेन्डर प्रकृयाबाट फार्मेसी सञ्चालनको अनुमति दिने हो भने इच्छुकले बढी मुल्य तिर्न तयार हुने औषधी व्यवसायीको दावी गरे । औषधी व्यवसायीले टेन्डर खुलाएर फार्मेसी सञ्चालन हुनुपर्ने माग राख्दै आएका छन् ।

वार्षिक आम्दानी ३६ लाख

छिमेकी अर्जुनधारा नगरपालिकामा विमाको काम गर्ने फार्मेसीलाई टेन्डर प्रकृयाबाटै ल्याइने गरिएको छ । चालू आर्थिक वर्षमा रमेश फार्मेसीले ठेक्का पाएको छ । उसले वार्षिक ३६ लाख रुपैँया नगरपालिकालाई राजश्व बुझाएको सञ्चालक खेमराज वस्नेतले जानकारी दिए ।

नगरपालिकाले वार्षिक रुपमा फार्मेसी सञ्चालनका लागि टेन्डर आव्हान गर्ने गरेको छ । पहिलो वर्ष उसले वार्षिक ६ लाख रुपैँयामा १ वर्षे सम्झौता गरेको थियो । कतिपय स्थानीय निकायले पहिलो वर्ष आफैँ स्वास्थ्य विमा सहितको फार्मेसी सञ्चालन गरेको पाइएको छ भने अधिकाशंले टेन्डर नै आव्हान गरी १ वर्षे सम्झौता गर्ने गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

ताजा अपडेट


Naya Media

सञ्चालक
एक्टिभ प्रेस प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

nayamedia.com@gmail.com

© 2016 - 2024 Active Press Pvt.Ltd. All Rights Reserved.

Discover more from NayaMedia

Subscribe now to keep reading and get access to the full archive.

Continue reading