लुइस सुवारेज र लियोनेल मेस्सीले दुई–दुई गोल गरेपछि बार्सिलोनाले नवप्रवेशी हुएस्कामाथि ८–२ को विशाल जीत हासिल गरेको छ ।
तर, खेलमा अग्रता भने पाहुना टोलीले लिएको थियो । कुचो हर्नान्डेजले खेलको तेस्रो मिनेटमा नै हुएस्कालाई अग्रता दिलाए ।
लगत्तै मेस्सीले खेल बराबरी गरे । खेलको २४ औँ मिनेटमा जर्ज पुलिडोले आत्मघाती गोल गरेपछि बार्साले अग्रता लियो ।
पहिलो हाफ सकिन लाग्दा सुवारेजले बार्साको अग्रता फराकिलो बनाए ।
दोस्रो हाफमा गालार फाल्गुएराले हुएस्काका लागि एक गोल फर्काए । तर, त्यसपछि बार्साले पुनः गोलको वर्षा गर्यो ।
ओसमान डेम्बेले, इभान र्याकिटिच, मेस्सी, जोर्डी आल्बाले गोल गरे । खेलको अन्त्यतिर पेनाल्टीबाट मेस्सीले आफ्नो ह्याट्रिक पुरा गर्ने अवसर पाए पनि उनले सो अवसर सुवारेजलाई दिए ।
खेलमा मेस्सीले दुई गोल गर्नुका साथै दुई गोलको अवसर सृजना पनि गरे ।
जीतसँगै गोलअन्तरको आधारमा बार्साले रियललाई लिगको शीर्ष स्थानमा उछिनेको छ ।
आइतबार भएको अन्य खेलमा आलाभेसले एस्पानियोलाई २–१ ले पराजित गर्यो भने सेभिया रियल बेटिससँग १–० ले स्तब्ध बन्यो ।
भ्यालेन्सिया भने लेभान्तेसँग २–२ को बराबरीमा रोकियो ।