बिहिबार सार्वजनिक भएको चलचित्र ‘म यस्तो गीत गाउँछु २’को ‘तिम्रो घरको वरिपरी’ बोलको गीत युटुब ट्रेन्डिङको पहिलो स्थानमा रहेकाे छ । यो गीत सार्वजनिक भएको वुढासुब्बा डिजिटलको युटुब च्यानल ह्याक भएको छ । च्यानल ह्याक भएपनि गीतले भने १ नम्बरमा स्थान जमाएको छ ।
सार्वजनिक भएको ४ दिनमा १४ लाख भन्दा बढी भ्यूज पाएको यो गीतलाई दर्शकले रुचाएका छन् । अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको यो गीतमा सोनम तोप्देन र अस्मिता अधिकारीको स्वर छ ।
सुदर्शन थापा प्रोडक्शनको ब्यानरमा निर्माण भएको यो चलचित्रलाई सुदर्शन थापाले निर्देशन गरेका हुन् । चलचित्रमा नायिका पूजा शर्मा र नायक पल शाहको मुख्य भूमिका छ । सांगीतिक प्रेमकथामा यो चलचित्र निर्माण भएको हो ।